Monday, April 13, 2020

अत्यावश्यक उद्योगहरू ५० प्रतिशतबढी क्षमतामा सञ्चालन हुँदै

मापदण्ड पूरा गर्न नसक्ता चिया प्रशोधन र चिनी उद्योग सञ्चालनमा आउन सकेनन्
काठमाडौं, १ वैशाख– लकडाउनमा समेत सञ्चालन गर्न सरकारबाट अनुमति पाएका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरूले कुल क्षमताको ५० प्रतिशतभन्दा बढी उत्पादन गरिरहेको पाइएको छ ।
मुलुकमा रहेका चारवटा औद्योगिक कोरिडोर र १० वटा औद्योगिक क्षेत्रलगायतको स्थलगत अध्ययन प्रतिवेदनमा औषधि, खाद्यान्न, खानेपानी, खाना पकाउने ग्यास तथा पशुपंक्षीको दाना उत्पादन गर्ने उद्योगहरू समग्रमा ५० प्रतिशतभन्दा बढी क्षमतामा चलिरहेको पाइएको जानकारी उद्योग मन्त्रालयका अधिकारीले दिएका छन् ।

ती अधिकारीका अनुसार कुल उत्पादन क्षमताको औषधि उद्योग ७३ प्रतिशत, चामल, दाल, आँटा उद्योग ५१ प्रतिशत र खाने तेल उद्योग ४१ प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् । मुलुकको औषधिको कुल मागको ४५ देखि ५० प्रतिशत अंश स्वदेशी उत्पादनले धान्दै आएका छन् ।

दुग्ध उद्योग भने ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् । लकडाउनका कारण गाउँगाउँबाट दुध संकलन र ढुवानीमा समस्या भइरहेकाले दुग्ध उद्योग अपेक्षा गरिएभन्दा कम क्षमतामा चलेको उद्योग मन्त्रालयका अधिकारी बताउँछन् ।
खानेपानी जार, प्लास्टिकका बोत्तल र ट्यांकरमा ढुवानी गर्ने उद्योग भने ९० प्रतिशत क्षमतामा चलिरहेका छन् । जार र बोत्तलको खानेपानीमा मुलुक झन्डै आत्मनिर्भर छ । 
पशुपंक्षीका लागि दाना उत्पादन गर्ने उद्योग भने अपेक्षा गरिएभन्दा कम क्षमतामा चलेका छन् । दाना उद्योगले कुल क्षमताको ३३ प्रतिशतमात्र उत्पादन गरिरहेका छन् । 
काम गर्ने जनशक्ति अभाव  र ढुवानीको समस्याले दाना उद्योग कम क्षमतामा चलेका हुन् । लकडाउनका कारण पशुपंक्षी पालन उद्योगमा काम गर्ने जनशक्ति कम भएकाले उत्पादनमा समेत कमी आएको छ । त्यसको असरसमेत दाना उद्योगहरूको उत्पादनमा परेको छ । 
सरकारले अत्यावश्यक उद्योगमा राखी इँटाभट्टासमेत सञ्चालन गर्न अनुमति दिएको छ । इँटाभट्टा उद्योगहरूले ४९ प्रतिशत क्षमतामा उत्पादन गरिरहेका छन् । मुलुकभर १२ सयवटा इँटा उद्योग छन् । वर्षायाम सुरु भएपछि इँटा उत्पादन गर्न नसकिने भएकाले लकडाउनमा समेत इँटाभट्टा उद्योग सञ्चालन गर्न दिइएको हो ।
सरकारले अत्यावश्यक उद्योगको सूचीमा राखी सञ्चालन अनुमति दिए पनि चिया प्रशोधन तथा चिनी उद्योग भने एउटा पनि सञ्चालनमा आउन नसकेको जानकारी सरकारी अधिकारीले दिएका छन् । 
इलाम, झापा, पाँचथर र धनकुटामा गरी ३६ वटा चिया प्रशोधन उद्योग छन् । तराई–मधेसका जिल्लामा चिनी उद्योग ११ वटा छन् । लकडाउनको समयमा उद्योग सञ्चालन गर्न सरकारले बनाएको मापदण्ड पूरा गर्न नसकेकाले ती चिया प्रशोधन र चिनी उद्योग चलाउन नसकेको भनाइ सञ्चालकको रहेको स्थलगत अध्ययनमा संलग्न अधिकारीहरूले उल्लेख गरेका छन् ।
सामाजिक दुरी कायम गर्नु पर्ने, भीडभाड गराउन नहुने, कामदार र कर्मचारीलाई उद्योग परिसरमै खाने र बस्ने व्यवस्था मिलाउनु पर्ने, बाहिर निस्किन दिन नहुने, हेल्थ प्रोटोकलअनुसार मास्क र स्यानिटाइजर प्रयोग गर्न लगाउनु पर्ने, नियमित स्वास्थ्य जाँच गराउनु पर्ने र एम्बुलेन्स तयारी हालतमा राख्नु पर्नेलगायतका मापदण्डका कारण चिया प्रशोधन र चिनी उद्योग सञ्चालनमा आउन नसकेको निष्कर्ष मन्त्रालयको छ ।
मुलुकमा मोरङ–सुनसरी, वीरगन्ज–सिमरा, भैरहवा र नेपालगन्जमा गरी चारवटा औद्योगिक करिडोर छन् भने धरान, राजविराज, हेटौंडा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, पोखरा, पाटन, बालाजु र भक्तपुरमा गरी १० वटा औद्योगिक क्षेत्र छन् । अध्ययन प्रतिवेदनअनुसार औद्योगिक क्षेत्रमध्ये नेपालगन्जमा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण अर्थात् १०० प्रतिशत क्षमतामा चलेका छन् भने सबभन्दा कम पोखरामा उद्योगहरू ३४ प्रतिशत क्षमतामा चलेका छन् ।

No comments:

Post a Comment