Tuesday, April 21, 2020

जिल्ला प्रशासन परिसरमै ‘लकडाउन’ को उल्लंघन

३ सय जनाभन्दा बढीको खचाखच भीड
काठमाडौं, ८ वैशाख– काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरभित्र र बाहर लकडाउनको खिल्ली उडाइएको  छ । सोमबार दिनभर आफ्नै कार्यालय परिसरभित्र र बाहिर लकडाउनको उल्लंघन हुँदा पनि प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू रमिते बनेर बसिरहे ।
बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय परिसरको भित्र र बाहिर सोमबार सवारी पास माग गर्नेहरूको लामो लाइन लागेको थियो । लाइनमा ३ सय जनाभन्दा बढीको खचाखच भीड थियो । भीडमा रहेका कतिपयले मास्कसमेत लगाएका थिएनन् ।

लाइनमा बस्नेहरूले कम्तीमा एक–अर्काबाट तीन फिटको सामाजिक दुरी हुनु पर्ने नियमसमेत पालना गरेका थिएनन् । सामाजिक दुरी पालना नगरी जिल्ला प्रशासन कार्यालय परिसरमा जम्मा भएको भीडकै कारण कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ ।

देशभरका जिल्ला प्रशासन परिसरमा भीडभाड रोक्न गृह मन्त्रालयले अत्यावश्यक कामका लागि अनलाइनबाटै इ–पास लिन सकिने व्यवस्था गरेको छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नै परिवारका सदस्यको मृत्यु संस्कार प्रयोजनका लागि बाहेक अन्य कामका लागि नयाँ सवारी पास वितरण नगर्ने नीति लिई इ–पासको आवेदन लिने गरेको छैन ।
त्यही कारण मृत्यु संस्कारबाहेक अन्य जरुरी काममा जानका लागि नयाँ सवारी पास लिन जिल्ला प्रशासन कार्यालय परिसरमा सोमबार दिउँसो सर्वसाधारणको भीड जम्मा भएको हो ।
भीडमा कसैले आफूहरू विकासनिर्माण योजनाको काममा जान लागेको भन्दै पास मागिरहेका थिए भने कसैले कार्यालय आउजाउका लागि र कसैले काठमाडौंमा खानेकुरा सकिएको भन्दै घर जान सवारी पास मागिरहेको देखिन्थ्यो । कसैले औषधिलगायतका अत्यावश्यक सामान ढुवानी गर्न । कसैले अत्यावश्यक कामका लागि घर जानुपरेको उल्लेख गर्दै सवारी पास मागिरहेका थिए ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले फास्ट ट्रयाकसहित काठमाडौं उपत्यकाभित्र र वरपरका सडक निर्माण तथा विस्तारको काम अगाडि बढाउन थालिएपछि तिनका कामदार र कर्मचारीका लागि सवारी पास लिनेको संख्या केही बढेको दाबी गरे । 
कार्यालय परिसरभित्रै सोमबार दिनभर सवारी पास लिन लाममा बसेको व्यक्तिहरूको भीडले सामाजिक दुरीको पालना नगरेको र लकडाउनको उल्लंघन भइरहेको सम्बन्धमा जिज्ञासा राख्दा कटवालले आफूलाई त्यसबारेमा थाहा नभएको दाबी गरे । ‘अब जिल्ला प्रशासन परिसरमा कडाइका साथ सामाजिक दुरी पालना गर्न लगाउँछौं, भीड हुन्न दिन्नौं’ उनले भने ।


No comments:

Post a Comment