Tuesday, April 21, 2020

उत्तरी १४ जिल्लालाई यस वर्षको चिनियाँ सहयोग स्थगित

सहयोग रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणमा केन्द्रित 
काठमाडौं, ८ वैशाख– चीन सरकारले आफ्नो देशसँग सिमाना जोडिएका नेपालका १४ जिल्लाका १४ स्थानीय तहलाई प्रदान गर्न लागेको सडक निर्माण सामग्रीको सहयोग स्थगित गरेको छ ।
चीनले कोभिड–१९ को महामारीका कारण आफ्नो वैदेशिक अनुदान सहायताको प्राथमिकता परिवर्तन भएकाले १४ स्थानीय तहलाई यस वर्ष गर्न लागिएको सहयोग स्थगित गरिएको जानकारी नेपाललाई गराएको छ । 

चीनले परराष्ट्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सहयोग रकम अरू आयोजनाबाट कटाएर कोभिड–१९ को रोकथाम र नियन्त्रणका क्षेत्रमा केन्द्रित गर्नु परेको जानकारी गराएको छ ।

संघीय मामिला मन्त्रालयले ती १४ स्थानीय तहलाई पत्र लेखी चिनियाँ सहयोग यस वर्षका लागि स्थगित भएको जानकारी गराएको छ । चीन सरकारले ती १४ स्थानीय तहलाई सडक निर्माणका लागि एक÷एकवटा इस्काभेटरसहितका सामग्री प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो ।
चीनबाट निर्माण सामग्री सहयोग पाउने सूचीमा ताप्लेजुङको फत्तालुङ, संखुवासभाको सभापोखरी, दोलखाको बिगु, सिन्धुपाल्चोकको जुगल, रसुवाको गोसाइँकुण्ड, धादिङको रुविभ्याली, गोरखाको चुमनुव्री, मनाङको चार्पाभूमि, मुस्ताङको लोमान्थाङ, बझाङको तालकोट, डोल्पाको शे फोक्सुण्डो, मुगुको मुगुम कार्मारोड, हुम्लाको नाम्खा र दार्चुलाको मार्मा गाउँपालिका थिए । चीनले यी गाउँपालिकालाई अर्को वर्ष सडक निर्माण सामग्री प्रदान गर्ने जानकारी संघीय मामिला मन्त्रालयका अधिकारीले दिए ।

No comments:

Post a Comment