Wednesday, December 17, 2014

उखुको मूल्य १५ दिनभित्र निर्धारण गर्न निर्देशन

काठमाडौं, २ पुस– सरकारले उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्थ, वाणिज्य र उद्योग मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरी १५ दिनभित्र उखुको समर्थन मूल्य निर्धारण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उखुको क्रसिङ सिजन सुरु भइसक्दासमेत उखुको समर्थन मूल्य निर्धारण हुन नसकेको र अघिल्लो वर्ष चिनी उद्योगहरूलाई बिक्री गरेको उखुको रकमसमेत किसानहरूले हालसम्म भुक्तानी नपाएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मंगलबार त्यस्तो निर्देशन दिएको हो ।

सरकारले सरोकारवाला व्यक्ति र निकायसित छलफल गरी उत्पादन लागत, चिनीमा हुने भ्याट फिर्ता र बजार मूल्यका आधारमा चिनीको समर्थन मूल्य निर्धारण गर्नसमेत समितिलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अघिल्लो वर्र्ष चिनी उद्योगहरूलाई बिक्री गरेको उखुको भुक्तानी नपाएका किसानहरूलाई रकम दिलाउनसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषदले समितिलाई निर्देशन दिएको छ । त्यसका लागि सरकारले किसानहरूलाई उखुको रकम भुक्तानी नदिएका उद्योगहरूलाई चिनीमा भ्याट फिर्ता नगर्नसमेत अर्थ, उद्योग, कृषि र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

No comments:

Post a Comment