Saturday, December 27, 2014

माथिल्लो सेतीको काम दुई दिनभित्र अघि बढाउन ऊर्जामन्त्रीलाई निर्देशन

काठमाडौं, ११ पुस– प्रधानमन्त्री सुशील कोइरालाले १ सय ४० मेगावाटको जलाशययुक्त माथिल्लो सेती (तनहु“ हाइड्रो पावर) आयोजनामा परामर्शदाताको नियुक्तिको निर्णय दुई दिनभित्र सम्पन्न गरी काम अघि बढाउन ऊर्जामन्त्री राधा ज्ञवालीलाई निर्देशन दिएका छन् ।
कोइरालाले ऊर्जामन्त्री ज्ञवालीलाई प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बोलाई एसियाली विकास बैंक (एडीबी) ले छानेकै परामर्शदाता कम्पनी ल्यामेयरलाई नै नियुक्त गरी माथिल्लो सेती आयोजनाको काम अघि बढाउन निर्देशन दिएका हुन् ।
छलफलमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, अर्थमन्त्री डा. रामशरण महत र ऊर्जामन्त्री ज्ञवाली सहभागी थिए । कोइरालाले ऋण सम्झोताको शर्तबमोजिम एडीबीले छनौट गरेको ल्यामेयरलाई नै परामर्शदाता नियुक्त गरेर आयोजनाको काम अघि बढाउन ऊर्जामन्त्री आग्रह गरेका हुन् ।

यसअघि कोइरालाले कांग्रेस र एमालेका शीर्ष नेता तथा ऊर्जा मन्त्रालयका अधिकारीसितको छलफलमा एडीबीले छनौट गरेकै परामर्शदातालाई नियुक्त गरी आयोजनालाई अघि बढाउन निर्देशन दिएका थिए । तर, उक्त दिन अनुपस्थित रहेकी ऊर्जामन्त्री ज्ञवालीलाई कोइरालाले शुक्रबार प्रधानमन्त्री निवासमा बोलाई आयोजना अघि बढाउन निर्देशन दिएका हुन् ।
ऊर्जामन्त्रीले परामर्शदाता छनौटको प्रक्रियालाई रद्द गरी पुनः नया“ प्रक्रिया सुरु गर्ने निर्णय गरेपछि माथिल्लो सेतीका प्रमुख दाता एडीबी र जाइकाले आयोजनामा लगानी नै नगर्ने चेतावनीसमेत दिइसकेका छन् । एडीबी र जाइकाले हात झिके आयोजनाको भविष्य नै अन्धकारमा पर्ने स्थिति उत्पन्न भएपछि प्रधानमन्त्री कोइराला गम्भीर भएर आयोजनालाई बचाउन लागेका हुन् । 
एडीबी र जाइकाको चेतावनीपछि कोइरालाले पुरानै प्रक्रियाबाट छनौट भएको परामर्शदातालाई नियुक्त गरी आयोजनालाई अघि बढाउन ऊर्जामन्त्रीलाई आग्रह गरेका हुन् । तर, ऊर्जामन्त्री ज्ञवालीले भने आफूले परामर्शदाता छनौटको विषयमा गरेको निर्णय उचित र कानुनसम्मत रहेको जिकिर गर्दै त्यसलाई उल्ट्याउने सवालमा आफ्नो पार्टी एमालेका अध्यक्ष केपी ओलीसित  परामर्श गरेपछिमात्र अन्तिम निर्णयमा पुग्ने आश्वासन प्रधानमन्त्रीलाई दिएकी छिन् ।


  

No comments:

Post a Comment