Friday, December 19, 2014

प्रधानमन्त्रीद्वारा पाकिस्तानी प्रधानमन्त्रीलाई फोन गरी दुःख प्रकट

काठमाडौं, ३ पुस– प्रधानमन्त्री सुशील कोइरालाले बुधबार राति पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफस“ग फोन वार्ता गरी १ सय ४१ जनाको जीवन लिने गरी पेशावरको सैनिक विद्यालयमा गरिएको आतंककारी हमलाले आफू स्तब्ध भएको उल्लेख गर्दै उक्त कायरतापूर्ण आक्रमणको निन्दा गरेका छन् ।
कोइरालाले बालबालिकामाथिको आक्रमणलाई पाकिस्तानको भविष्य र समग्रमा मानवतामाथिको हमलाको संज्ञा दिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । कोइरालाले जस्तोसुकै रूप र आवरणमा आएको भए पनि सबै खाले आतंकवाद हाम्रो शत्रु भएको उल्लेख गरेका छन् ।
उनले संसारलाई नै स्तब्ध बनाउने यस दुःखद घटनाप्रति नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट पाकिस्तान सरकार, पाकिस्तानी नागरिक र पीडित परिवारप्रति गहिरो समवेदनासमेत प्रकट गरेका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका अध्यक्षसमेत रहेका प्रधानमन्त्री कोइरालाले सार्क शिखर सम्मेलनमा जुनसुकै रूपमा गरिने आतंककारी गतिविधि र कार्यको निन्र्दा गर्दै यस्ता गतिविधिविरुद्ध संयुक्त कदम चाल्नु पर्ने निचोड निकालेको कुराको पनि स्मरण गरेका छन् । यस दुःखद् घडीमा नेपाल पाकिस्तानी सरकार, जनता र पीडित परिवारको साथमा रहेको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
फोन वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री सरिफले कोइरालासित यस घटनामा परेकामध्ये १६ वर्षमुनिका बालबालिका अधिक रहेको उल्लेख गर्दै यस्तो घटना संसारमा कतै पनि नदोहोरियोस् भन्ने कामना गरेका छन् । मंगलबार भएको उक्त आक्रमणमा १३२ जना विद्यार्थी र ९ जना विद्यालयका कर्मचारीको हत्या भएको थियो । 

No comments:

Post a Comment