Monday, December 8, 2014

१५ सचिव पदोन्नति गर्न प्रक्रिया सुरु

काठमाडौं, २१ मंसिर– सरकारले विभिन्न मन्त्रालय र निकायमा रिक्त १५ सचिव पदोन्नतिको प्रक्रिया सुरु गर्न सोमबार बढुवा समितिको बैठक बोलाएको छ । प्रशासनिक नेतृत्वविहीन भएका कारण विभिन्न मन्त्रालय र निकायको कामकारबाही प्रभावित भइरहेकाले यसपटक सरकारले मंसिरमा नै सचिव बढुवा गर्न लागेको हो ।
यसअघि प्रायः पुसमा बढुवा समितिको बैठक बोलाएर रिक्त सचिव पदमा पदोन्नति गर्ने प्रचलन थियो । यसपटक मंसिरमै रिक्त सचिव पदमा पदोन्नतिको प्रक्रिया सुरु गर्न सोमबार बढुवा समितिको बैठक बोलाइएको जानकारी सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख बाबुराम अधिकारीले दिए ।
लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमीको अध्यक्षतामा बस्ने बढुवा समितिको पहिलो बैठकले सामान्य प्रशासन मन्त्रालयलाई पा“च वर्ष सेवा अवधि पूरा गरी बढुवाका लागि सम्भाव्य भएका सहसचिवहरूको सूची तयार गर्न निर्देशन दिनेछ । त्यसपछि बस्ने बैठकले कार्यसम्पादन मूल्यांकनका आधारमा सचिव बढुवाका लागि सरकारलाई नाम सिफारिस गर्नेछ ।

समितिले निजामती ऐनअनुसार रिक्त १५ सचिवमा वरिष्ठबाट पदोन्नति हुने २० प्रतिशत अर्थात् तीन पदका लागि सबभन्दा सिनियर तीन जना सहसचिवलाई पदोन्नति गर्न सिफारिस गर्नेछ । वरिष्ठबाट सहरी विकास मन्त्रालयका सुरेशप्रकाश आचार्य, गजेन्द्रकुमार ठाकुर र लक्ष्मण मण्डल सचिव बढुवा हुने सम्भावना रहेको जानकारी सामान्य प्रशासन मन्त्रालय स्रोतले दिएको छ । वरिष्ठबाट बढुवा हुन कार्यसम्पादन मूल्यांकनमा ९० प्रतिशत अंक अनिवार्य रूपमा पाएको हुनुपर्छ ।
बढुवा समितिले निजामती ऐनअनुसार बा“की रिक्त १२ सचिवमा पदोन्नतिका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा तेब्बर संख्यामा अर्थात् ३६ जना सहसचिवको नाम सिफारिस गर्नेछ । सरकारले ३६ जनाबाट जोसुकैलाई सचिवमा बढुवा गर्न सक्छ ।
सचिव रिक्त विभिन्न मन्त्रालय र निकायमध्ये ११ वटामा कामु सचिव छन् भने चारवटामा निमित्त सचिव । रक्षा, परराष्ट्र, सूचना तथा सञ्चार, शान्ति तथा पुनर्निर्माण मन्त्रालय सचिवविहीन छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा समेत २ सचिव पद रिक्त छ ।
अरू सचिवविहीन निकायमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सूचना आयोग, जल तथा ऊर्जा आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय तथा पा“चवटा क्षेत्रीय प्रशासन कार्यालय छन् ।

No comments:

Post a Comment