Friday, December 26, 2014

भोटेकोसीमा टावर निर्माणको अवरोध खुल्यो

कम्पनीले सिन्धुपाल्चोकबासीलाई ६ प्रतिशत शेयर दिने 
काठमाडौं/सिन्धुपाल्चोक, १० पुस– भोटेकोसी जलविद्युत् आयोजनाले सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरामा परी ध्वस्त प्रसारण लाइनका सातवटा टावरको पुनर्निर्माण कार्य बिहीबार सुरु गरेको छ । जिल्लाका पा“च दल तथा स्थानीय संघर्ष समितिका प्रतिनिधि र भोटेकोसी पावर कम्पनीका अधिकारीबीच भएको वार्ताका क्रममा बुधबार राति जिल्लाबासीलाई आयोजनामा ६ प्रतिशत शेयर दिनेलगायतका सहमति भएपछि बिहीबारदेखि टावर निर्माण कार्य सुचारु भएको हो ।
सहमति भएकै भोलिपल्ट बिहीबार बिहान कम्पनीका अध्यक्ष सिद्धार्थसमसेर राणाले सिन्धुपाल्चोकको टेकानपुरमा आएर टावर निर्माण कार्य सुरु गराएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिका अनुसार टावर पुननिर्माण कार्य २० देखि २५ दिनभित्रै सम्पन्न हुनेछ । ढिलोमा २५ दिनमै ४५ मेगावाटको भोटेकोसी आयोजनाबाट उत्पादित बिजुली प्रसारण लाइनमार्फत वितरण हुन थाल्नेछ । भोटेकोसीको बिजुली जोडिएपछि मुलुकको लोडसेडिङ करिब एक घन्टा घटाउन मद्दत पुग्नेछ ।

टावरको अभावमा बिजुली वितरण गर्न नपाएका कारण भोटेकोसी आयोजना जुरेमा पहिरो गएदेखि विद्युत् उत्पादन गर्न बाध्य छ । स्थानीय संघर्ष समिति र पा“च दलको अवरोधका कारण ९७ दिनसम्म टावर पुननिर्माण गर्न नपाएपछि बिजुली उत्पादन बन्द गर्नुपर्दा आयोजनालाई दैनिक करिब ८६ लाखका दरले १ अर्ब ५० करोड रुपैया“ घाटा लागेको जानकारी कम्पनीका अधिकारीले दिए ।
आयोजनाले पहिरोबाट ध्वस्त सातवटा टावर असोज ३ मा पुननिर्माण सुरु गरेकै दिन पा“च दल र स्थानीय संघर्ष समितिले भोटेकोसीले जिल्लाबासीलाई शेयर नदिएसम्म बनाउन नदिने भन्दै निर्माण अवरुद्ध पारेका थिए । कांग्रेसले जिल्लाबासीलाई १० र अरू चार दलले ३५ प्रतिशत शेयर दिनुपर्ने माग भोटेकोसी कम्पनीसमक्ष राखेका थिए । ९७ दिनसम्म भएको वार्तापछि भोटेकासी कम्पनी र पा“च दलबीच जिल्लाबासीलाई ६ प्रतिशत शेयर दिनेलगायतका सहमति भएको हो ।  
भोटेकोसी पावर कम्पनीका अधिकारी र कांग्रेस, एमाले, एमाओवादी, राप्रपा र नेकपा–माओवादीका सिन्धुपाल्चोकका नेताले राजधानीमा बिहीबार अपराह्न संयुक्त पत्रकार सम्मेलन गरी आयोजनामा स्थानीयबासीलाई शेयर दिने र टावर पुनर्निर्माण कार्य सुचारु गर्ने÷गराउने सहमति भएको घोषणा गरेका थिए
सहमतिबमोजिम भोटेकोसी पावर कम्पनी प्रा.लि.ले ६ प्रतिशत साधारण शेयर १ सय रुपैया“को दरमा सिन्धुपाल्चोक जिल्लाबासीलाई दिनेछ । कानुनबमोजिम भोटेकोसीले आयोजनाबाट प्रत्यक्ष प्रभावित र जिल्लाबासीलाई समेटी खडा भएको कम्पनीमार्फत् सिन्धुपाल्चोकका जनतालाई शेयर दिनेछ । शेयर लिएपछि सिन्धुपाल्चोकबासी कम्पनीको लाभांशको हकदार हुनेछन् ।
सिन्धुपाल्चोकबासीले करिब १२ लाख कित्ता शेयर (करिब १२ करोड रुपैया“ बराबरको) शेयर पाउनेछन् । भोटेकोसी पावर कम्पनी प्रा.लि.को चुक्ता पू“जी १ अर्ब ९४ करोडको ६ प्रतिशतले हिसाब गरी करिब १२ करोड रुपैया“ बराबरको शेयर जिल्लाबासीलाई दिइनेछ । 
प्रजापतिका अनुसार भोटेकोसी पावर कम्पनीले जिल्लाबासीलाई शेयर दिए पनि आफू नेपाल स्टक एक्सचेन्जमा गएर आफ्नो सूचीकृत हुने छैन । तर, जिल्लाबासीले शेयर लिन खडा गरेको कम्पनी भने सूचीकृत हुन सक्नेछ । जिल्लाबासीले १ सय रुपैया“मा किनेको शेयरको बजार मूल्य ८ सयदेखि १२ सय रुपैया“सम्म पुग्ने विश्वास भोटेकोसीको छ ।
भोटेकोसीले जिल्लाका प्रत्यक्ष प्रभावित र प्रभावित गाविसहरूको विकासनिर्माणका लागि वर्षेनि एकमुष्ठ रकम सहयोग गर्ने सहमतिसमेत भएको छ । सहमतिअनुसार भोटेकोसी पावर कम्पनीले आयोजनाको जडित क्षमता ४५ मेगावाटको हिसाबले प्रतिमेगावाट १ लाखका दरले प्रत्यक्ष प्रभावित दुई गाविस तातोपानी र फुल्पिङकट्टीको विकासनिर्माणका लागि वर्षेनि साढे २२ लाख रुपैया“का दरले सहयोग गर्नेछ । भोटेकासीको प्रसारण टावर परेका अरू प्रभावित सात गाविस मार्मिङ, गाती, मानेश्वारा, राम्चे, धुस्कुन, टेकानपुर र पांग्रेटारको विकासनिर्माणका लागि वर्षेनि एकमुष्ठ साढे २२ लाख रुपैया“ सहयोग गर्नेछ । उक्त रकम ती गाविसले बराबर भाग लगाएर लिनेछन् ।
पा“च दलले भोटेकोसी आयोजनामा जिल्लाबासीलाई शेयर दिन बाध्य पारेपछि त्यसबाट गलत नजिर बस्नुका साथै मुलुकको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित हुने खतरा बढेको ऊर्जाका प्रवद्र्धकहरू बताउ“छन् । ती प्रवद्र्धकका अनुसार स्थानीयबासीलाई शेयर दिनुनपर्ने सम्झौता गरी लगानी गर्न आएका भोटेकोसीका प्रवद्र्धकहरूलाई राजनीतिक दलले बल प्रयोग गरी जिल्लाबासीलाई शेयर दिन बाध्य पारिएपछि गलत नजिर बसेको हो । यो नजिरका कारण निकट भविष्यमा नै ६० मेगावाटको खिम्तीसहितका विदेशी तथा स्वदेशी र सरकारी लगानी भएका जलविद्युत् आयोजनाहरूमा समेत प्रभावित र स्थानीयबासीका नाममा शेयर माग्ने र लगानीकर्ताहरू दिन बाध्य हुने परिस्थिति निर्माण हुने खतरा बढाएको छ ।
तर, पत्रकार सम्मेलनमा बोल्ने सिन्धुपाल्चोकका पा“च दलका नेता एमालेका अमृतकुमार बोहरा, कांग्रेसका मोहन बस्नेत, राप्रपाका सभासद रमेश लामा, माओवादीका पूर्वसभासद दावा तमाङ, एमाओवादीका जिल्ला अध्यक्ष माधव सापकोटालगायतले भने भोटेकोसीबाट जिल्लाबासीले शेयर पाएपछि स्थानीयको अधिकार स्थापित भएको उल्लेख गर्दै त्यसबाट आफ्नो जिल्लामा विद्युत् परियोजनाहरूमा लगानी गर्ने वातावरण बनेको दाबी गरेका थिए ।




No comments:

Post a Comment