Monday, December 29, 2014

पश्चिमाञ्चलका सभासदहरूले माथिल्लो सेती बचाउन दबाब दिने

एडीबीका कन्ट्री डाइरेक्टरसित समेत भेटवार्ता
काठमाडौं, १४ पुस– पश्चिमाञ्चलका सभासदहरूले परामर्शदाता छनौटको विवादका कारण  १ सय ४० मेगावाटको माथिल्लो सेती (तनहु“ हाइड्रोपावर) आयोजनाको भविष्य अन्यौलमा पर्न नदिन प्रधानमन्त्री सुशील कोइराला र एमालेको नेतृत्वलाई दबाब दिने भएका छन् ।
संसद सचिवालय परिसरमा आइतबार बसेको पश्चिमाञ्चलका सभासदहरूको बैठकले एमालेका अध्यक्ष केपी ओलीसहित शीर्ष नेतृत्वलाई भेटी उनको पार्टीकी ऊर्जामन्त्री राधा ज्ञवालीको विवादास्पद निर्णयले आयोजना अन्यौलमा परेकाले त्यसलाई सच्याउन आग्रह गर्ने निर्णय गरेको जानकारी सभासद शंकर भण्डारीले दिए । 
बैठकमा पश्चिमाञ्चलका एमालेबाहेक सबैजसो पार्टीका सभासद सहभागी थिए । भण्डारीका अनुसार उनीहरूले एक÷दुई दिनभित्रै प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीलाई भेटी माथिल्लो सेती आयोजना अघि बढाउने वातावरण बनाउन दिनेछन् ।

उनका अनुसार माथिल्लो सेती आयोजना बचाउनका लागि हस्तक्षेप गरी ऊर्जामन्त्रीको निर्णय उल्ट्याएर भने पनि काम अघि बढाउन पश्चिमाञ्चलका सभासदहरूले संयुक्त रूपमा प्रधानमन्त्री सुशील कोइरालालाई दबाबसमेत दिने भएका छन् ।
एसियाली विकास बैंक (एडीबी) ले ऋण सम्झौतामा भएको शर्तअनुसार नै माथिल्लो सेती आयोजनाको परामर्शदाता कम्पनीमा जर्मनीको ल्यामेयरलाई छानेको थियो । तर, ऊर्जामन्त्री ज्ञवालीले एडीबीको परामर्शदाता छनौट प्रक्रिया नै रद्द गरी नया“ प्रक्रिया सुरु गर्ने निर्णय गरेपछि आयोजनाको भविष्य ने अन्यौलमा परेको छ ।
माथिल्लो सेतीका प्रमुख दाता एडीबी र जाइकाले परामर्शदाता छनौट प्रक्रिया रद्द गरिएको जानकारी औपचारिक जानकारी आउनासाथ आयोजनामा सहयोग नगर्ने चेतावनी सरकारलाई दिइसकेका छन् । एडीबी र जाइकाले हात झिकेमा माथिल्लो सेती नबन्ने खतरा रहेकाले त्यसलाई बताउन पश्चिमाञ्चलका सभासदहरू सक्रिय भएका हुन् ।
यसैबीच पश्चिमाञ्चलका सभासदहरूले एडीबीका कन्ट्री डाइरेक्टर केनिची योकोयामालाई आइतबार सा“झ भेटी माथिल्लो सेतीको भविष्य अन्यौलमा पर्न नदिन आग्रह गरेका छन् । उनीहरूले लोडसेडिङको समस्या समाधान गर्न महत्वपूर्ण मानिएको आयोजनाको भविष्य अन्यौलमा परे मुलुक र आफ्नो विकास क्षेत्रको विकास नै पछाडि पर्ने चिन्ता व्यक्त गरेका थिए । 
उनीहरूले आयोजनालाई बचाउन आफूहरू र प्रधानमन्त्री कोइरालाले गरिरहेको प्रयासका बारेमा समेत जानकारी गराउनुका साथै माथिल्लो सेती अघि बढाउनका लागि सहयोग गर्न एडीबीका अधिकारीहरूलाई आग्रह गरेका थिए ।
एडीबीका कन्ट्री डाइरेक्टर योकोयामाले प्रत्युत्तरमा माथिल्लो सेती आयोजना निर्माण अघि बढोस् भन्नेमा सबै पार्टी सकारात्मक रहेकाले आफूहरू अझै उत्साहित रहेको बताएका थिए । योकोयामाले प्रधानमन्त्री कोइरालाले माथिल्लो सेतीको परामर्शदाता विवाद मिलाउन अर्थ र ऊर्जाका अधिकारीहरूलाई स्पष्ट निर्देशन दिइसकेको हुनाले परिणाम सकारात्मक आउने र आयोजना अघि बढ्ने विश्वासमा आफूहरू रहेको बताएका थिए ।




No comments:

Post a Comment