Sunday, December 21, 2014

प्रधानमन्त्रीद्वारा पाँच आयोजनाको अवरोध खुलाउन गृह र ऊर्जामन्त्रीलाई निर्देशन

गृह सचिव नै सिन्धुपाल्चोकका काम अवरुद्ध पाँचै आयोजनाको स्थलगत निरीक्षणमा जाने 
काठमाडौं, ६ पुस– प्रधानमन्त्री सुशील कोइरालाले सिन्धुपाल्चोकका निर्माणाधीन चारसहित पाँचवटा जलविद्युत् आयोजनामा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता तथा गुण्डाले लामो समयदेखि गरिरहेको अवरोध तत्काल खुलाउन गृह र ऊर्जा मन्त्रीलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले उपप्रधान एवं गृह मन्त्री वामदेव गौतम र ऊर्जामन्त्री राधा ज्ञवालीलाई तत्काल प्रहरी प्रशासन परिचालन गरी विद्युत् आयोजना निर्माणको काम निर्वाध रूपमा अघि बढ्ने वातावरण बनाउन निर्देशन दिएको जानकारी सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
रिजालका अनुसार लामो समयदेखि निर्माणमा भइरहेको अवरोधले जलविद्युत्को क्षेत्रमा विदेशी तथा स्वदेशी लगानीको वातावरणै बिग्रन लागेकामा प्रधानमन्त्रीले गम्भीर चिन्ता र चासो व्यक्त गर्दै गृह र ऊर्जामन्त्रीलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेका हुन् । 

उनले स्वदेशी तथा विदेशी लगानीमा निर्माण भइरहेका कुनै पनि जलविद्युत आयोजनामा अवरोध छ भनेर आफूले फेरि सुन्नुनपरोस् भन्ने चेतावनीसमेत दिएको स्रोतले उल्लेख गरेको छ । उनले ४५ मेगावाटको भोटेकोसी आयोजनाका अधिकारी र स्थानीयबासीसित तत्काल वार्ता गरी शेयर विवाद मिलाएर प्रसारण लाइनको टावर पुननिर्माणको वातावरण बनाउनसमेत ऊर्जामन्त्री ज्ञवालीलाई निर्देशन दिएका छन् । 
सत्तारूढ कांग्रेस, एमाले, राप्रपा तथा विपक्षी एमाओवादीका स्थानीय जिम्मेवार नेता तथा कार्यकर्ता, स्थानीयबासी र गुण्डाका कारण निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी, ५० मेगावाटको माथिल्लो बलेफी, २५ मेगावाटको माथिल्लो चाकु र ३.२ मेगावाटको गेलुङखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अवरुद्ध भएको छ । निर्माण भइसकेको ४५ मेगावाटको भोटेकोसी आयोजना स्थानीय अवरोधकै कारण प्रसारण लाइनको चारवटा टावर पुननिर्माण गर्न नपाएका कारण तीन महिनाभन्दा बढी समयदेखि विद्युत् उत्पादन बन्द गर्न विवश भइरहेको छ । सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरोमा परी ती टावर ध्वस्त भएका हुन् । 
टावरको अभावमा भोटेकोसीको विद्युत् वितरण हुन नपाएका कारण आमजनताले थप एक घन्टा लोडसेडिङको समस्या भोग्नुपरिरहेको छ भने आयोजनालाई दिनहु“ ८६ लाख रुपैया“ घाटा भइरहेको छ । निर्माण भइसकेको भोटेकोसीमा अमेरिकी लगानी छ भने निर्माण रोक्न बाध्य ५० मेगावाटको माथिल्लो बलेफी आयोजनामा भारतीय कम्पनी भिलबार्डाको लगानी छ ।
‘स्थानीय अवरोधले भोटेकोसीले टावर पुननिर्माण गर्न पाएको छैन । मध्य भोटेकोसीको ठेकेदारले काम गर्न सक्तिन भनेर चिनिया“ दुतावास र मलाई गुहारिरहेको छ । अरू तीन आयोजनाका प्रवद्र्धकसमेत स्थानीयको अवरोधका कारण लगानी गर्न सक्तिन भन्न थालेका छन्’ प्रधानमन्त्री कोइरालाको भनाइ थियो ।
‘यस्तो प्रवृत्ति रहिरहेमा मुलुकको जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीको वातावरण नै बिग्रन्छ, विदेशी ठेकेदार पनि यहा“ काम गर्न आउ“दैनन् । त्यसैले सिन्धुपाल्चोकका सबै आयोजनाले निर्वाध काम गर्न सक्ने गरी गृहमन्त्रीले तत्काल पर्याप्त सुरक्षा दिनुहोला । ऊर्जा मन्त्रीले पनि अवरोध खुलाउन स्थानीय दलका नेता तथा जनतासित वार्ता गर्नुपर्छ भने पनि तत्काल गर्नुहोस्’ प्रधानमन्त्रीको भनाइ उद्धृत् गर्दै रिजालले कान्तिपुरसित भने ।
प्रधानमन्त्रीले कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेतृत्वको बैठक तत्काल डाकेर भए पनि स्थानीयस्तरमा अवरोधको नेतृत्व गरिरहेका ती दलका जिम्मेवार नेता तथा कार्यकर्तालाई सम्झाएर र निर्देशन दिएर भए पनि आयोजनालाई निर्वाध काम गर्न सक्ने वातावरण बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको आग्रहको लगत्तै गृह मन्त्रालयले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई पर्याप्त प्रहरी प्रशासन परिचालन गरी पा“चवटै आयोजनामा सुरक्षा दिन र निर्वाध काम गर्न सक्ने वातावरण बनाउन निर्देशन जारी गरिसकेको छ । ‘गृह मन्त्रालयले कुनै पनि आयोजनामा अवरोध हुन नदिन पर्याप्त सुरक्षा दिन प्रजिअलाई निर्देशन दिइसकेको छ । आयोजनाका ठेकेदार, कामदार र प्रवद्र्धक सबैलाई सुरक्षा दिएर काम गर्ने वातावरण बनाउन सर्कुलर गरिसकेको छ’ गृहका प्रवक्ता लक्ष्मी ढकालले भने ।
ढकालका अनुसार गृह सचिव सूर्य सिलवालको नेतृत्वमा गृहका अधिकारीहरू दुई÷तीन दिनभित्रै स्थानीय अवरोधका कारण काम अवरुद्ध भएका सबै आयोजनाको स्थलगत निरीक्षणमा जाने भएका छन् । सबभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको जिल्ला सिन्धुपाल्चोकमा काम गर्ने वातावरण नभएको अवस्थालाई गम्भीरतापूर्वक लिएर गृहमन्त्रालयका अधिकारीहरू समस्याग्रस्त आयोजनामा जान लागेका हुन् । 
स्थानीय अवरोधका कारण ५० मेगावाटको माथिल्लो बलेफी आयोजनामा आउन लागेको करिब १० अर्ब रुपैया“ भारतीय लगानी फिर्ता हुने स्थिति उत्पन्न भएको छ । करिब ३२ करोड रुपैया“ खर्च गरिसकेको माथिल्लो बलेफीको भारतीय कम्पनी भिलबार्डा स्थानीय अवरोधका कारण आयोजना नबनाउने मनस्थितिमा पुगिसकेको छ । ०६५ देखि प्रवेशमार्ग निर्माणमा जुटेको आयोजनाले स्थानीयबाट बारम्बार झमेला खेप्नुपरेपछि भारतीय कम्पनी लगानी नै नगर्ने मनस्थितिमा पुगेको हो ।
स्थानीय दलका जिम्मेवार नेता तथा कार्यकर्ताले १ सय २ मेगावाटको मध्य भोटेकोसी आयोजनाको चिनिया“ ठेकेदार कम्पनीलो आफूले भनेको व्यक्तिलाई इन्धन आपूर्ति गर्नेलगायतको काम नदिएको भन्दै निर्माणमा अवरोध गरिरहेका छन् । गत साता अवरोधकै क्रममा स्थानीयले मध्य भोटेकोसी आयोजनाको ठेकेदारको इन्धन बोकेको ट्यांकर तोडफोड गरे । तोडफोडका क्रममा गाडी चालक र खलासी घाइते भएपछि आयोजनामा काम गर्ने वातावरण नै बिथोलिएको छ । ठेकेदार कम्पनीले यस्तै अवस्था रहिरहेमा आफूले ठेक्का तोड्ने जनाउ दिंदै काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री कोइराला र चिनिया“ दुतावासलाई गुहारिरहेको छ ।
निर्माणाधीन २५ मेगावाटको माथिल्लो चाकु आयोजनाका प्रवद्र्धकहरू लामो समयदेखि अदालत धाउन बाध्य भइरहेका छन् । जिल्ला विकास समिति, गाविस र स्थानीयको लगानीमा खनिएको सडकले ओगटेको भूभागको एकमुष्ठ २५ करोड रुपैया“ मुआब्जा माग्दै स्थानीयबासीले मुद्दा दायर गरेपछि प्रवद्र्धकहरू अदालत धाउन विवश भएका हुन् ।
स्थानीय ‘गुण्डा’ ले गत साता ३ दशमलव २ मेगावाटको गेलुङखोला जलविद्युत् आयोजनाका लगानीकर्तालाई ढुंगामुढा गरेर आयोजनास्थल जलवीरेबाट लखेटेका छन् । ‘गुण्डा’ को समूहले बञ्चरो प्रहार गर्न खोजेपछि आयोजना निरीक्षणमा गएका बैंकका कर्मचारी र लगानीकर्ताको भागाभाग भएपछि काम अवरुद्ध भएको छ ।

  






No comments:

Post a Comment