Monday, February 10, 2014

कोइरालाले प्रधानमन्त्रीमा आफूलाई मतदान गर्न सभासदहरूलाई गरेको अपिल

प्रधानमन्त्री पदका उम्मेदवार एवं नेपाली कांग्रेस संसदीय दलका नेता तथा नेपाली कांग्रेसका सभापति माननीय सुशील कोइरालाले आफ्नो पक्षमा मतदान गर्न व्यवस्थापिका संसदमा दिनुभएको मन्तब्य
सम्माननीय सभामुख महोदय,
संघीय लोकतान्त्रिक  गणतन्त्रात्मक संविधान निर्माणको यस घडीमा सम्मानित सदनलाई सम्बोधन गर्न पाउँदा आफूलाई गौरवान्वित महशुस गरिरहेको छु । यस अवसरमा नेपालमा लोकतन्त्रको स्थापना, पुनःस्थापना र स्थायित्वको निम्ति प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
लोकतान्त्रिक शासन पद्धतिमार्फत नेपाल र नेपाली जनतालाई सार्वभौम ,सुखी र समृद्ध बनाउने लक्ष्य लिएर जीवनभर संघर्षरत र समर्पित नेपाली कांग्रेसका संस्थापक जननेता वी पी कोइराला, सुवर्ण समशेर, सर्वमान्य नेता गणेशमान सिंह,  सन्त नेता कृष्णप्रसाद भट्टराई, युगपुरुष गिरिजाप्रसाद कोइराला साथै लोकतान्त्रिक आन्दोलनमा  समर्पित सम्पूर्ण योद्धाहरुलाई सम्मान व्यक्त गर्न चाहन्छु । यसका साथै लोकतान्त्रिक अधिकार प्राप्तिका सन्दर्भमा बामपन्थी दलहरुले निर्वाह गरेको भूमिका र पुष्पलाल,मनमोहन अधिकारी र मदन भण्डारीजस्ता राष्ट्रिय नेताहरुले दिनु भएको योगदानको स्मरण गर्दै सम्मान गर्दछु । मुलुकलाई सशस्त्र द्धन्द्धबाट शान्तिपूर्ण अवस्थामा ल्याउन नेकपा माओवादी र अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले निर्वाह गर्नु भएको भूमिकाको म कदर गर्दछु ।
सम्माननीय सभामुख महोदय,
अहिले हामी अत्यन्त संवेदनशील र गम्भीर दायित्वका साथ यस सम्मानित सदनमा उपस्थित भएका छौ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रा अग्रज नेताहरुले गर्नु भएको त्याग र समर्पणको मार्गलाई अनुशरण गर्नु मैले आफ्नो कर्तव्य ठानेको छु ।यो संविधानसभाले अघिल्लो संविधानसभाबाट संविधान निर्माणका सम्बन्धमा विधिसम्मत भएका सहमतिहरुको निक्र्यौल गरी स्वामित्व लिदै एक वर्षभित्र संविधान निर्माणको काम सम्पन्न गर्नु पर्नेछ । २०७० मंसिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनमा नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लोकतान्त्रिक संविधान निर्माण गर्ने जनादेश दिएका हुन । आफ्नो सहभागितामा संविधान बनाउने नेपाली जनताको सो आकांक्षालाई संविधानसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण दल एवं माननीय सभासद्हरुले आत्मसात गरिसकेको मैले महशुस गरेको छु । देशको संविधान निर्वाचित जनप्रतिनिधिले नै बनाउनु पर्दछ भन्ने विचार २००६ सालमा जनक्रान्तिका लागि आह्वान गर्दादेखि नै  कांग्रेसले अंगीकार गरेको स्मरणीय छ ।  त्यो दूरदर्शी, जनमुखी र प्रजातान्त्रिक कदमलाई अप्रजातान्त्रिक शक्तिहरुले सफल हुन दिएनन् । यसकारण मुलुकका सम्पूर्ण प्रजातन्त्रवादी शक्तिहरुले गुमेको राजनीतिक अधिकार लिन निरन्तर संघर्ष गर्नु परेको इतिहास सर्वविदितै छ । लोकतान्त्रिक आन्दोलनको निरन्तरताको क्रममा १२ बूँदे समझदारीदेखि २०६२।६३ को जनआन्दोलनको उपलब्धि स्वरुप आज हामी यस स्थानमा उभिएका छौ । जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्ने जुन अवसर हामीले पाएका छौ,त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न हामी सबै दलहरुबीच सहमति, सहकार्य , एकता र मेलमिलापबाट संभव छ भन्ने मेरो मान्यता छ ।
जननेता वी.पी.कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर प्रवासबाट स्वदेश फर्कनु भएपछि नेपालको राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनमा नयाँ अध्याय शुरु भएको यथार्थ स्मरणीय छ । यसपछि २०३७ सालको जनमतसंग्रह र   २०४२  सालमा सत्याग्रहले तयार पारेको आधारभूमिमा भएको २०४६ सालको जनआन्दोलनलाई स्मरण गर्न चाहान्छु ।
सम्माननीय सभामुख महोदय,
नेकपा माओवादीसंग सम्पन्न १२ बूँदे समझदारी र विस्तृत शान्ति संझौता अनुसार भएको २०६२।०६३ को जनआन्दोलनको उपलब्धी स्वरुप निर्माण गरिएको नेपालको अन्तरिम संविधान २०६३ले संविधानसभाको व्यवस्था गरेको सर्वविदितै छ । यस सन्दर्भमा शान्ति प्रकृयाको सफलताको लागि नेता गिरिजाप्रसाद कोइराला र सम्बद्ध सबै पक्षले निर्वाह गर्नु भएको भूमिका अविश्मरणीय छ ।
सम्माननीय सभामुख महोदय,
नेपाली कांग्रेसले सहमतिको सरकार बनाउन गरेको भगीरथ प्रयासबारे यस सम्मानित सदनमा उपस्थित सबै माननीय सभासद्हरु अवगत हुनुहुन्छ । संविधानतः सहमतिको सरकार गठन गर्ने चरण गुज्रेपछि हामी बहुमतीय सरकार गठनको चरणमा प्रवेश गरेका छौ । बहुमतीय भएपनि हामी संविधानसभामा प्रतिनिधित्व भएका दलहरुको अधिकतम सहमतिको सरकार निर्माण गर्न चाहान्छौ । हाम्रो प्रतिबद्धता अनुसार एक बर्षभित्रै संविधानसभाबाट संविधान जारी गर्ने सुनिश्चितता सहित विकास सम्बृद्धि  र सबल राष्ट्र निर्माणका लागि स्थिर सरकार आवश्यक छ ।
आर्थिक प्रगति एवं सम्बृद्धि हासिल गरी देशको गरिबी र पछौटेपनको समस्या हल गर्नु हाम्रो सबैभन्दा ठूलो चुनौति हो । यसको लागि देशको मावनशक्ति र प्राकृतिक संपदालाई उपयोग गरी उच्च आर्थिक बृद्धिदर हासिल गर्न जरुरी छ । मेरो नेतृत्वको सरकारले यसकोलागि देशभित्रको आन्तरिक पूँजी एवं बाह्य लगानी समेतलाई प्रोत्साहित गर्नेछ ।कृषिको विविधिकरण र व्यवसायीकरण, अपार जलसम्पदाको उपयोग, पर्यटन र औद्योगिक विकासबाट देशभित्र आर्थिक अवसरहरुको सिर्जना गरी बेरोजगारी र गरिबीको समस्यालाई निराकरण गर्नेतर्फ सरकार प्रयत्नशील रहनेछ ।यसकोलागि म भारत  तथा चीन जस्ता महान छिमेकी मुलुकहरु र अन्तरराष्ट्रिय समुदाय जसको उदारतापूर्ण आर्थिक सहयोग हामीले प्राप्त गर्दै आएका छौ , को निरन्तर सहयोग बृद्धिकोसमेत अपेक्षा राख्दछु ।
सुशासन आज सबैको चाहाना हो । यसकालागि विधिको शासनको सुनिश्चितताको साथै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिको अबलम्बन गरिनेछ । र  प्रशासन यन्त्रमा जवाफदेहिता र पारदर्शिता विकसित गरिनेछ ।
प्रधानमन्त्री पदमा निर्वाचित भएमा मेरो नेतृत्वमा बन्ने सरकारको मुख्य प्राथमिकता निम्नानुसार रहने छन ः
ड्ड    शान्ति प्रकृयाका सन्दर्भमा विगतमा भएका समझदारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउदै बाँकी रहेका कामहरु सम्पन्न गर्ने,
ड्ड    एकबर्षभित्रै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न सहयोग पुर्याउने ,
ड्ड    ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने,
ड्ड    आर्थिक समृद्धि र सामाजिक न्यायका पक्षमा साझा सहमतिका कार्यक्रम निर्माण गर्ने,
ड्ड    महंगी नियन्त्रण गर्ने
ड्ड    बन्द, चक्काजाम र हड्ताललाई निरुत्साहित गर्ने ,
ड्ड    द्वन्द्व पीडितलाई राहत पु¥याउने,
ड्ड    शान्ति सुरक्षा कायम गर्दै  विधिको शासनको सुनिश्चितता कायम गर्ने ,
ड्ड    स्वदेशी तथा वैदेशिक लगानीको वातावरण निर्माणमा सुधार ल्याउने,
ड्ड    भौतिक पूर्वाधार र सामाजिक सेवाका संरचनाहरुको निर्माणलाई गति दिने,
ड्ड    छिमेकी मुलुकहरु भारत, चीन तथा अन्य मित्र राष्ट्रहरुसंगको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउदै  बैदेशिक सम्बन्ध सञ्चालन र विस्तारका निम्ति राजनीतिक सहमतिको वातावरण निर्माण गर्ने ।
ड्ड    राजनीतिक दलहरुबीच निरन्तर संवाद तथा एकता सहमति र सहकार्यको भावनाका साथ अघि बढाउने ।
अतः उक्त उद्देश्य अनुरुप बन्ने सरकारलाई अधिकतम सहमतिको सरकारका रुपमा निर्माण र सञ्चालन गर्नका लागि नेकपा एमाले पार्टी र पार्टी नेतृत्वले देखाएको समर्थन र सहयोगका निमित्त म आभार व्यक्त गर्दछु । यसका साथै अन्य राजनीतिक दल र दलका माननीय सभासद् मित्रहरुलाई पनि  नेपाल र नेपालीको भाग्य निर्धारण गर्ने संविधान निर्माणको यो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्ने काममा सहयोग पुर्याउन मेरो उमेद्वारीका पक्षमा समर्थनका निमित्त हार्दिक आग्रह गर्दछु ।
जय नेपाल १

No comments:

Post a Comment