Wednesday, February 26, 2014

कोइरालाद्वारा १७ दिनपछि मन्त्रिपरिषद विस्तार


  • दुई उपप्रधानमन्त्री, १७ मन्त्री, एक राज्यमन्त्री, नया“ अनुहार ११ जना
  • मन्त्रिपरिषदमा बाहुन–क्षेत्रीको बाहुल्य, महिला २, मधेसी तीन, जनजाति ३ जनामात्र
  • जातीय, भौगोलिक र लिंगीय हिसाबले मन्त्रिपरिषद असन्तुलित

काठमाडौं, १४ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार कांग्रेस र एमालेका १०÷१० जना मन्त्री राखी मन्त्रिपरिषद विस्तार गरेका छन् । कोइरालाले आफू प्रधानमन्त्री भएको १७ दिनपछि मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
प्रधानमन्त्रीले राष्ट्रपति रामवरण यादवको उपस्थितिमा मंगलबार अपराह्न शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त १८ मन्त्री र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पद तथा गोपनीयताको सपथग्रहण गराए । सबै नवनियुक्त मन्त्रीले मंगलबार अपराह्न नै आ–आफ्नो मन्त्रालयमा गएर पद बहाली गरे । यसअघि बिनाविभागीय मन्त्री नियुक्त कांग्रेस नेता रामशरण महतले पनि मंगलबार नै अर्थमन्त्रीका रूपमा पद बहाली गरे ।
विस्तारित मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री, १७ मन्त्री र एक राज्यमन्त्री छन् । कोइरालाले मन्त्रिपरिषद विस्तारमा जातीय, भौगोलिक र लिंगीय सन्तुलन मिलाएका छैनन् । २१ सदस्यीय मन्त्रिपरिषदमा दुई महिला, तीन मधेसी र तीन आदिवासी जनजातिमात्र मन्त्री छन् । मन्त्रिपरिषदमा बाह्रमण र क्षेत्रीको बाहुल्य छ । मन्त्रिपरिषदमा ११ बाहुन र ४ जना क्षेत्री मन्त्री छन् । 
मन्त्रिपरिषदमा सबभन्दा बढी मन्त्री पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रबाट परेका छन् । मन्त्रिपरिषदमा पूर्वाञ्चलबाट ७, मध्यमाञ्चलबाट ६,  पश्चिमाञ्चलबाट ३, मध्यपश्चिमबाट प्रधानमन्त्री कोइरालासहित ३ र सुदर पश्चिमबाट २ जना मन्त्री छन् । 

कोइरालाले सरकारमा एमालेको नेतृत्व गरेका नेता वामदेव गौतम र कांग्रेस महामन्त्री प्रकाशमान सिंह दुई जनालाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । गौतमलाई गृह र सिंहलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । गौतम मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि तीनपटक उपप्रधान तथा गृहमन्त्री हुने पहिलो नेता हुने सौभाग्य पाएका छन् । 
उनी ०५१ सालमा राप्रपाका तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र २०६४ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा उपप्रधान तथा गृह मन्त्री थिए । अर्का उपप्रधानमन्त्री सिंह भने २०५७ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा  भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका थिए ।
कांंग्रेसबाट सभासदलाई मात्र मन्त्री बनाइएको छ भने एमालेबाट ६ जना सभासदै नभएका व्यक्तिलाई मन्त्री नियुक्ति गरिएको छ । एमालेका मन्त्री हुनेमा चार जनामात्र प्रत्यक्ष सिटबाट चुनाव जितेका सभासद छन् । कांग्रेसबाट मन्त्री हुनेमा कोषाध्यक्ष चित्रलेखा यादवमात्र समानुतिक सिटबाट सभासद हुन् भने बा“की सबै प्रत्यक्षबाट चुनाव जितेका सभासद् हुन् ।
कांग्रेसले मन्त्रीमा अनुभवी र पार्टीमा प्रभाव भएका  नेतालाई प्राथमिकता दिएको छ भने एमालेले नया“ अनुहारलाई प्राथमिकता दिएको छ । कांग्रेसमा गुरुङबाहेक ९ जना नै मन्त्री पार्टीमा प्रभावशाली नेता हुन् । गुरुङ कनिष्ठ भएकै कारण उनलाई सिंगै मन्त्रालयको जिम्मेवारी दिए पनि राज्यमन्त्री बनाइएको छ । उनी मनाङ कांग्रेसका सभापति छन् ।
नवनियुक्त मन्त्रीमा ११ जना नया“ अनुहार छन्, बा“की ९ जना भने पटकपटक मन्त्री भएका व्यक्ति हुन् । नया“ अनुहारमा कांग्रेसबाट तीन र एमालेबाट ८ जना छन् । कांग्रेसका मन्त्रीद्वय नारायण खड्का, चित्रलेखा यादव र राज्यमन्त्री टेकबहादुर गुरुङमात्र नया“ अनुहार हुन् । खड्कालाई सहरी विकास, यादवलाई शिक्षा र गुरुङलाई श्रम तथा रोजगार मन्त्रालय दिइएको छ । 
एमालेका उपप्रधान तथा गृहमन्त्री गौतम र ऊर्जामन्त्री राधा ज्ञवालीमात्र पहिला मन्त्री भइसकेका नेता हुन् । ज्ञवाली तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा दुई साताभन्दा पनि कम दिनमात्र ऊर्जामन्त्री नै भएकी थिइन् । ज्ञवाली एमाले केन्द्रीय सदस्य हुन् ।
कोइरालाले आफू प्रधानमन्त्री भएकै दिन बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका नेता रामशरण महतलाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी छैटौंपटक अर्थमन्त्री भएका हुन् । कांग्रेसबाट पूर्वमहामन्त्री बिमलेन्द्र निधिलाई भौतिक पूर्वाधार तथा यातायात, महेश आचार्यलाई वन तथा भूसंरक्षण, नरहरि आचार्यलाई कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था, मिनेन्द्र रिजाललाई सूचना तथा सञ्चार र एनपी सावदलाई सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । निधि, आचार्यद्वय र रिजाल यसअघि मन्त्री र सावद राज्यमन्त्री भइसकेका मन्त्री हुन् ।
एमालेबाट मन्त्री भएकाहरू महेन्द्र पाण्डे, कर्णबहादुर थापा, हरि पराजुली, दलबहादुर राना, पुरुषोत्तम पौडेल, भीम आचार्य, लालबाबु पण्डित र खगराज अधिकारी नया“ अनुहार हुन् । पाण्डेलाई परराष्ट्र, थापालाई उद्योग, पराजुलीलाई कृषि विकास, रानालाई भूमिसुधार, पौडेललाई युवा तथा खेलकुद, आचार्यलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, पण्डितलाई सामान्य प्रशासन र अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पाण्डे एमालेको पोलिटब्युरो सदस्य, थापा केन्द्रीय सदस्य, पराजुली किसान महासंघका सचिव, राना पार्टीको केन्द्रीय सदस्य एवं किसान महासंघका उपाध्यक्ष, पौडेल एमालेको खेलकुद महासंघका अध्यक्ष, आचार्य अघिल्लो संविधानसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक, पण्डित पूर्व सांसद, अधिकारी वैकल्पिक पोलिटब्युरो सदस्य हुन् ।
मन्त्रिपरिषद विस्तारपछि पनि ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बा“की छ । कांग्रेस र एमालेबीच दुई मन्त्रालय वाणिज्य तथा आपूर्ति र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय क्रमशः राप्रपा र नेकपा मालेलाई दिने सहमति भइसकेको छ । तर, रक्षा, महिला, बालबालिका तथा समाज कल्याण, शान्ति तथा पुनर्निर्माण र गरिवी निवारण तथा सहकारी मन्त्रालय कांग्रेस र एमालेले भागबण्डा गरेर लिने या अरू दललाई दिने भन्ने निर्णय भइसकेको छैन । त्यही कारण ती मन्त्रालय प्रधानमन्त्री कोइरालाको मातहतमा राखिएको छ ।




No comments:

Post a Comment