Tuesday, February 18, 2014

उत्तर प्रदेशका मन्त्रीद्वारा सिंचाइ सचिवसित भेटवार्ता

जलस्रोतको उपयोग, डुबान र कटान नियन्त्रणका लागि साझा संयन्त्र बनाउन प्रस्ताव
काठमाडौं, ६ फागुन– उत्तर प्रदेश सरकारले नेपालसित एउटा संयन्त्र बनाएर दुवै देशको हितमा जलस्रोतको उपयोग, कटान र डुबान नियन्त्रणका काम आपसमा मिलेर गर्न प्रस्ताव गरेको छ । उत्तर प्रदेशका सिंचाइमन्त्री शिवपाल यादव र प्रिन्सिपल सेक्रेटरी दीपक सिंगलले सोमबार सिंचाइ सचिव प्रतापकुमार पाठकसहितका अधिकारीहरूलाई भेटी त्यस्तो प्रस्ताव गरेका हुन् ।
उत्तर प्रदेशका अधिकारीहरूले नेपाल र भारतको केन्द्रीय सरकारबीच जलस्रोतको उपयोग, नदी नियन्त्रण र डुबानका समस्या समाधान गर्न बीसौं वर्षअघि समझदारी भए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै नेपाल र उत्तर प्रदेश सरकारबीच एउटा संयन्त्र नै बनाएर त्यस्ता काम द्रुत गतिमा अघि बढाउन प्रस्ताव गरेको जानकारी छलफलमा सहभागी सिंचाइ मन्त्रालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार उत्तर प्रदेशका मन्त्री यादव र प्रिन्सिपल सेक्रेटेरीले दुई देशबीच धेरै अघि समझदारी भए पनि केन्द्र सरकारले कार्यान्वयनमा चासो नदिंदा नेपाल र उत्तर प्रदेशमा भइरहेका डुबान र कटानका समस्याले दुवैतर्फका जनता पीडित भएको र जलस्रोतको समेत समुचित सदुपयोगसमेत हुन नसकेको यथार्थ राखेका थिए ।

उनीहरूले डुबान र नदीको कटानले उत्तर प्रदेशका जनता पीडित भइरहेको र जलस्रोतबाट फाइदा लिन नपाइरहेकातर्फ केन्द्र सरकारको भन्दा राज्य सरकारको बढी चासो र चिन्ता भएकाले नेपालसित संयन्त्र बनाएर आफैंले काम गर्न चाहेको धारणा राखेका थिए ।
सिंचाइमन्त्री यादवले उत्तर प्रदेश र नेपालबीच साझा संयन्त्र बनाउन भारतको केन्द्रीय सरकारमार्फत् कूटनीतिक तहबाट औपचारिक रूपमा प्रस्ताव राख्ने जानकारी गराएका छन् । केन्द्रीय सरकारले अनुमोदन गरी कूटनीतिक तहबाट प्रस्ताव आएपछि संयन्त्रलाई नेपाल र भारतबीचको जलस्रोत सचिवस्तरीय संयुक्त समितिको मातहतमा उत्तर प्रदेशका प्रिन्सिपल सेक्रेटरी र नेपालका तर्फबाट सिंचाइ विभागका महानिर्देशकको नेतृत्वमा संयन्त्र बनाइने जानकारी स्रोतले दिए ।
उत्तर प्रदेशका अधिकारीहरूले संयन्त्र बनाएर नेपालतर्फबाट आफ्नो राज्यमा बग्ने गण्डकी, राप्ती, कर्णाली र महाकाली नदीको पानीको दुवै देश मिलेर समुचित सदुपयोग गर्ने र डुबान तथा नदी कटानको समस्या समाधान गर्न चाहेको जानकारी सिंचाइका अधिकारीहरूले दिएका छन् । ती नदीको कटान र डुबानबाट दुवै देशका जनता पीडित छन् ।
उत्तर प्रदेशका अधिकारीहरूले महाकालीको शारदा ब्यारेजभन्दा केही तल नदीको कटानले नेपाली भूभाग डुबानमा पर्दै आएकामा त्यहा“ तटबन्ध निर्माण तत्काल गरिदिने आश्वासनसमेत दिएका छन् ।
गण्डक नहरका कारण नेपाली भूभाग डुबानमा पर्न नदिन नारायणी नदीमा बनाइएका स्परहरू कटानमा परेको र वर्षामा नदीको पानी बस्तीमा पस्ने खतरा रहेको छ । गण्डकबाट नेपाल र भारत दुवैतर्फ पानी लाने पश्चिम नहरमा वर्षाको पानी निकासको समस्या छ । त्यही कारण नेपाली भूभाग डुबानमा पर्ने गरेका छन् । उत्तर प्रदेशका अधिकारीहरूले नदी कटान, स्पर निर्माण र वर्षाको पानी निकासका काम गरिदिने प्रतिबद्धतासमेत व्यक्त गरेको जानकारी छलफलमा सहभागी अधिकारीले दिए ।

No comments:

Post a Comment