Thursday, October 13, 2011

अहमद हत्याको छानबिन गर्न जाँचबुझ आयोग गठन

पीडित परिवारलाई १० लाख राहत
काठमाडौं, २६ असोज- सरकारले इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको राजधानीमा दिनदहाडै गोली हानी हत्या भएको घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यसअघि गठित छानबिन समिति विघटन गरी इस्लामी संघ र मुस्लिम अगुवाहरुको मागबमोजिम हत्याको घटनाको सत्यतथ्य पत्ता लगाई कारबाहीको सिफारिस गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले दिए ।
श्रेष्ठका अनुसार सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र भण्डारीको अध्यक्षतामा गठित आयोगमा नायव महान्यायाधिवक्ता प्रेमराज कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक नरेश गुरुङ सदस्य छन् । आयोगलाई छानबिन गरी कारबाहीको सिफारिस गर्न एक महिनाको म्याद दिइएको छ ।
राजधानीको रत्नपार्कमा महानगरीय प्रहरी आयुक्तको कार्यालयको सामुन्ने अहमदको गत असोज ९ गते गोली हानी हत्या गरिएको थियो । प्रहरीले घटना भएको १८ दिन भइसक्ता पनि हत्याराको सुइँकोसम्म पाउन सकेको छैन ।
छानबिन गर्न असोज १० मा सहन्यायाधिवक्ता विश्वबन्धु पोखरेलको अध्यक्षतामा गठित समितिमा एसएसपी मनोहर रिमाल र गृह मन्त्रालयका उपसचिव मुरारीराज शर्मा थिए । छानबिनको काम राम्ररी सुरु गर्न नपाउँदै समिति विघटन गरिएको हो ।
सरकारले अहमदको पीडित परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । इस्लामी संघका प्रतिनिधि र मुस्लिम अगुवाहरुले गृह मन्त्री विजयकुमार गच्छदारसित गरेको आग्रहबमोजिम मन्त्रिपरिषदले अहमदको परिवारलाई विशेष राहत प्रदान गरेको हो ।

No comments:

Post a Comment