Monday, October 10, 2011

ऊर्जा क्षेत्रको विकासका लागि लगानीकर्ताहरुको सम्मेलन

काठमाडौं, २३ असोज- मुलुकमा ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउन राजधानीमा 'इन्भेस्टस्र फोरम' लगानीकर्ताहरुको सम्मेलन गरिने भएको छ । मुलुकको प्रमुख दातृ निकाय एसियाली विकास बैंक एडीबी को संयोजनमा ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक लगानी जुटाउन अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको सम्मेलन गर्न लागिएको जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार एडीबी अर्थ र ऊर्जा मन्त्रालयले छलफल गरी यही असोज २६ र २७ गते इन्भेस्टस्र फोरम गर्ने कार्यक्रम तय गरिएको छ । ऊर्जाको चरम संकट भोगिरहेको मुलुकमा यस क्षेत्रको विकासका लागि पहिलोचोटि अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन बृहतस्तरको इन्भेस्टस्र फोरम गर्न लागिएको हो ।
फोरममा अमेरिका, दक्षिण कोरिया, चीन, क्यानाडा, भारत, लाओस, भूटान, बेलायत, प्रुान्स, नेदरल्यान्ड र नर्बेसहित युरोपियन विभिन्न मुलुकका ठूला बहुराष्ट्रिय कम्पनी उद्योगपति तथा व्यापारी गरी एक सयभन्दा लगानीकर्ताको सहभागिता रहनेछ । अमेरिकाका तर्फबाट भारतमा लगानी गरिरहेका उद्योगपति र व्यापारीहरु सहभागी हुने स्रोतले उल्लेख गरेको छ । अर्थ र ऊर्जा मन्त्रालयले औपचारिक निर्णय गरी आग्रहपछि एडीबीले इन्भेस्टस्र फोरमको संयोजन गरेको हो ।
फोरममा सहभागी हुने लगानीकर्ताहरुलाई मुलुकमा ऊर्जा विकासको सम्भावना देखाउन असोज २८ गते राजधानीबाट नजिकको भोटेकोसी नदीको स्थलगत भ्रमण गराउने कार्यक्रमसमेत रहेको जानकारी ऊर्जा सचिव बालानन्द पौडेलले दिए ।
सम्मेलनमा सरकारका तर्फबाट प्रधानमन्त्री डा। बाबुराम भट्टराई अर्थमन्त्री वर्षमान पुन ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीसहितले मुलुकमा जलस्रोत विकासको अपार सम्भावना रहेको र नेपाललाई बढी हुने बिजुली बेच्न भारत ऊर्जाको ठूलो बजार रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरिने जानकारी स्रोतले दिए । सम्मेलनमा सत्तारुढ र विपक्ष दलका नेता र नेपाली उद्योगपति र व्यापारीलाई समेत सहभागी गराइनेछ ।
सम्मेलन चरम लोडसेडिङको समस्या भोगिरहेको मुलुकका लागि ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउने एउटा राम्रो अवसर हुने विश्वास ऊर्जाका एक अधिकारीले व्यक्त गरे । तर विभिन्न विद्युत आयोजनामा लगानी गर्न आएका भारतीय कम्पनीहरुमाथि सत्तारुढ माओवादीको अवरोध स्वदेशी तथा विदेशी लगानीका उद्योगहरु मजदुर हडतालका कारण एकपछि अर्को बन्द हुँदै गइरहेका बेला सरकारले सम्मेलनमा आएका अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी सुरक्षित छ भनेर विश्वस्त पार्न सक्नेमा प्रश्नसमेत उब्जिएको छ ।
सम्मेलनमा प्रधानमन्त्री र मन्त्रीहरुले लगानीकर्ताहरुको विश्वास जित्न ऊर्जामा क्षेत्रमा आउने लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले विभिन्न कदम चाल्ने घोषणा गर्ने तयारी भइरहेको जानकारी स्रोतले दिए । ऊर्जा क्षेत्रको विकासका लागि सत्तारुढ विपक्षी दल नेपाली उद्योगपति÷व्यापारी एकजुट छन् र लागनीका लागि उपयुक्त वातावरण छ भन्ने देखाउन राज्यका तर्फबाट कुनै कसरत बाँकी नराखिने जानकारी अर्थमन्त्रालयका एक अधिकारीले उल्लेख गरे ।

No comments:

Post a Comment