Sunday, October 9, 2011

अहमद हत्या प्रकरणमा दुई सातासम्म छानबिनै सुरु भएन

काठमाडौं, २२ असोज- इस्लामी संघका महासचिव फैजान अहमदको हत्या भएको दुई साता भइसक्ता पनि घटनाको छानबिन गर्न मन्त्रिपरिषदद्वारा गठित समितिले काम सुरु नगरेको जानकारी स्रोतले दिएको छ ।
अहमदको गत असोज ९ मा राजधानीको रत्नपार्कमा दिनहाडै गोली हानी हत्या भएको भोलिपल्टै बसेको मन्त्रिपरिषद बैठकले सहन्यायाधिवक्ता विश्वबन्धु पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा प्रहरी वरिष्ठ उपरिक्षक मनोहर रिमाल र गृह मन्त्रालयका उपसचिव मुरारिराज शर्मा छन् ।
समिति गठन भए पनि त्यसमा रहने व्यक्ति तय हुन समय लागेको र यसबीचमा दसैं बिदा परेका कारण छानबिनको काम सुरु गर्न केही ढिलो भएको स्वीकारोक्ति गृह मन्त्रालयका एक अधिकारीले गरे ।
ती अधिकारीका अनुसार समितिलाई हत्याको छानबिन गरी दोषी पत्ता लगाएर कारबाहीको सिफारिस गर्न तथा महानगरीय प्रहरी कार्यालयको सामुन्ने राजधानीको मुटुमा दिनदहाडै हत्या हुँदा पनि हत्यारालाई पक्राउ गर्न नसक्नुमा कसकसको कमजोरी छ उनीहरुलाई केकस्तो नसहित दिनुपर्ने हो सुझाव दिनुपर्ने जिम्मा दिइएको छ ।
समितिका संयोजक र सदस्यहरुलाई आइतबारमात्र नियुक्तिपत्र दिइएको छ । कार्यालय व्यवस्था गरेर समितिले काम थाल्न अझै एक/दुई दिन लाग्ने गृह मन्त्रालय स्रोतले उल्लेख गरेको छ । समितिलाई काम थालेको एक महिनामा छानबिन प्रतिवेदन दिनुपर्ने म्याद दिएको छ ।

No comments:

Post a Comment