Wednesday, October 12, 2011

दर्जनौं व्यक्तिद्वारा चारवटा पदमा र् याल काड्दै

चार संवैधानिक निकायका लागि डेढ सयको आवेदन
काठमाडौं, २५ असोज- चार संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिका लागि डेढ सयभन्दा बढीले आवेदन दिएका छन् । संवैधानिक निकायमा नियुक्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संवैधानिक परिषदको निर्णयअनुसार सूचना जारी आह्वान गरेको १५ दिने म्यादभित्र योग्यता पुगेका इच्छुक डेढ सय बढीले आवेदन दिएको जानकारी स्रोतले दिएको छ ।
उनीहरुले कुन संवैधानिक निकायको कुन पदका लागि नियुक्त हुन खोजेको हो त्यस पदका लागि आ-आफ्नो अनुभव र नियुक्त भएपछि आफूले गर्ने कामको फेहरिस्तसहित प्रधानमन्त्री कार्यालयको संवैधानिक निकाय हेर्ने महाशाखामा आवेदन दिएका हुन् । संवैधानिक परिषदको अब बस्ने बैठकले आवेदकहरुको सूचीलाई रोस्टर मानी त्यसैमध्येबाट संवैधानिक निकायका रिक्त पदमा नियुक्त गर्नेछ । परिषदले आवश्यक र योग्य ठानेमा आवेदन नदिएको व्यक्तिलाई समेत रोस्टरमा राखी संवैधानिक निकायमा नियुक्त गर्न सक्ने व्यवस्थासमेत छ ।
संवैधानिक निकायमा नियुक्त हुन योग्यता पुगेका प्रशासन प्राध्यापन वकालतसहित विभिन्न विधाका इच्छुकहरुले आवेदन दिएका छन् । तर आवेदकमा प्रशासकहरुको बाहुल्य छ । आवेदन दिनेमा तीन चौथाइभन्दा बढी जना पूर्व र बहालवाला प्रशासकहरु छन् । एउटै व्यक्तिले चारवटा भिन्दाभिन्दै पदमा नियुक्त हुन चाहेको उल्लेख गर्दै आवेदन दिनेको संख्या पनि ठूलै छ ।
आवेदन परेको दृष्टिमा भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबभन्दा आकर्षक संवैधानिक निकाय बन्न पुगेको छ । अख्तियारको प्रमुख आयुक्त र आयुक्तमा सबभन्दा बढी आवेदन परेका छन् । स्रोतका अनुसार अख्तियार प्रमुखमा २० जनाभन्दा बढीको आवेदन परेको छ ।अख्तियारका चार आयुक्तका लागिसमेत २० जनाभन्दा बढीको आवेदन परेको छ ।
अख्तियारको प्रमुख हुन चाहनेमा पूर्व सचिवहरु रामकुमार श्रेष्ठ बाबुराम आचार्य माधव पौडेल युवराज पाण्डे उमेश मैनाली दीपेन्द्रविक्रम थापा अख्तिायरका बहालवाला सचिव भगवती काफ्लेलगायत छन् ।
कतिपयले व्यक्तिले तीनवटा संवैधानिक निकाय अख्तियार लोकसेवा र निर्वाचन आयोगका तीन प्रमुख या सदस्यमध्ये कुनै एउटा कसैले दुइटामध्ये एउटामा नियुक्त गरे हुने आवेदनमा उल्लेख गरेका छन् । पूर्व सचिवहरु उमेश मैनाली युवराज पाण्डे र दीपेन्द्रविक्रम थापाले अख्तियार लोकसेवा र निर्वाचन आयोगमध्ये कुनै एउटाको प्रमुखमा नियुक्त हुन चाहेको उल्लेख गरेका छन् । मैनालीले पहिलो प्राथमिकता अख्तियार दोस्रो लोकसेवा र तेस्रो निर्वाचन आयोगको प्रमुख र चौथो लोकसेवाको सदस्य तथा पाण्डेले पनि पहिलो प्राथमिकता लोकसेवा दोस्रो अख्तियार र तेस्रो निर्वाचन आयोग र चौथो लोकसेवाको सदस्य पदलाई दिएका छन् ।
मैनाली र पाण्डेले प्रमुख पद नदिने हो भने लोकसेवाको सदस्य नियुक्त गरे पनि हुने तर अख्तियार र निर्वाचन आयोगमा भने आयुक्त हुन भने अरुचि प्रकट गरेका छन् । पूर्व कानुन सचिवद्वय उदयनेपाली श्रेष्ठ र माधव पौडेलले भने आफूलाई अख्तियार र निर्वाचन आयोगमध्ये कुनै एउटाको प्रमुखमा नियुक्त गर्न आवेदन दिएका छन् ।
लोकसेवा आयोगमको अध्यक्षमा उमेश मैनाली युवराज पाण्डे थापाका अतिरिक्त पूर्व सचिवहरु जनकराज जोशी उदयनेपाली श्रेष्ठ रामस्वरुप सिन्हा बज्रकिशोर साह कार्यवाहक अध्यक्ष कयोंदेवी यमी र आयोगका वर्तमान सचिव श्याम मैनालीले आवेदन दिएका छन् छन् । महालेखा परिक्षकमा भने पूर्व अर्थसचिव भानु आचार्य पूर्व कार्यवाहक महालेखा परिक्षकद्वय बद्रीबहादुर कार्की र रमेश कार्की र बहालवाला कार्यवाहक महालेखा परिक्षक खेम दाहाल पूर्व सचिव नारायण सिलवाल सार्वजनिक लेखा समितिका सचिव सोमबहादुर थापा छन् । स्रोतका अनुसार सिलवालले भने लोकसेवा र अख्तियारको प्रमुखमा समेत नियुक्त हुन चाहेको आवेदनमा उल्लेख गरेका छन् ।
लेखा समितिका थापाले भने अख्तियारको आयुक्तमा समेत नियुक्त हुन चाहेको आवेदनमा उल्लेख छ । अख्तियारको आयुक्तमा प्रो पब्लिकका केदार खड्का पूर्व सहसचिव माधव ढकाल पूर्व एआईजी अशोक श्रेष्ठ र पूर्व डीआईजी हिम गुरुङ अख्यितारकै प्रवक्ता ईश्वरी पौडेलले समेत आवेदन दिएको स्रोतले उल्लेख गरेको छ ।
निर्वाचन आयोगको प्रमुख आयुक्तमा पूर्व सचिवहरु उमेश मैनाली युवराज पाण्डे दीपेन्द्रविक्रम थापा नारायण सिलवाल रामस्वरुप सिन्हा बज्रकिशोर साहका अतिरिक्त कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले आवेदन दिएका छन् । साहले कुनै संवैधानिक निकायको आयुक्त या सदस्यमा नियुक्त गरे पनि हुने उल्लेख गरेका छन् ।
महत्वपूर्ण संवैधानिक निकायहरु अख्तियारमा २०६३ कात्तिक १६ महालेखा परिक्षक २०६३ पुसको पहिलो साता लोकसेवा आयोगमा २०६५ चैत र निर्वाचन आयोगमा प्रमुख आयुक्त पद २०६५ देखि रिक्त छ । सरकारलाई सुशासनको बाटामा हिडाउने संवैधानिक निकायहरुमा प्रमुख र सदस्यहरु नभएकाले ती निकायको कामकारबाहीमा नकारात्मक असर परिरहेको छ ।





No comments:

Post a Comment