Wednesday, February 6, 2013

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार : नागरिक समाज

तीनवटा नागरिक संगठन दबाबका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रने
काठमाडौं, २४ माघ– नागरिक समाजका तीनवटा अगुवा संगठनले राजनीतिक गतिरोध अन्त्य गरी संविधानसभाको चुनावको सुनिश्चितताका लागि सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष चुनावी सरकार गठन गर्न आह्वान गरेका छन् ।
नेपाल नागरिक मञ्चका अध्यक्ष हिमालयसमसेर राणा, नेपाल नागरिक समाजका अध्यक्ष खेमराज रेग्मी र मधेसी नागरिक समाजका संयोजक गणेशकुमार मण्डलले बुधबार संयुक्त विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न माग गरेका हुन् ।
ती संगठनले राजनीतिक दलहरूबीच सहमति नभएमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा दलहरूको सहभागितासहितको स्वतन्त्र र निष्पक्ष चुनावी सरकार गठन गरी आगामी जेठभित्र संविधानसभाको चुनाव हुने सुनिश्चितता गर्न दलहरूलाई आग्रह गरेका छन् ।
‘सरकारको नेतृत्व गर्ने स्वतन्त्र व्यक्तिका बारेमा पनि दलहरूबीच मतैक्यता हुन सक्ने सम्भावना अत्यन्त क्षिण देखिएकाले सबैलाई स्वीकार्य हुन सक्ने सर्वोच्चका बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन आह्वान गर्छौं’ ती संगठनले संयुक्त विज्ञप्तिमा भनेका छन् ।
ती संगठनले तुरुन्त प्रधानन्यायाधीशको नेतृत्वमा निष्पक्ष चुनाव सरकार गठन गर्नुपर्ने र आगामी जेठभित्र संविधानसभाको चुनाव सम्पन्न गर्नुपर्ने दुईबु“दे माग राखी नागरिक समाजका प्रतिनिधिहरू चरणबद्ध कार्यक्रमका साथ दबाबमूलक शान्तिपूर्ण आन्दोलनमा उत्रने उल्लेख गर्दै सहयोग र समर्थनका लागि आमजनतालाई अपिलसमेत गरेका छन् ।
‘मुलुक अहिले राजनीतिक अन्यौल, संवैधानिक संकट र अराजकताले अस्तव्यस्ता छ’ भन्दै ती संगठनले संसदको अभावमा सरकार स्वेच्छाचारी बन्दै गएको टिप्पणीसमेत गरेका छन् ।
ती संगठनले सहमतिको नाममा आठ महिनाको समय व्यर्थमा खेर जानु, सत्तापक्ष र प्रतिपक्ष सरकारको नेतृत्वको मुद्दालाई लिएर सडक संघर्षमा उत्रिनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै विज्ञप्तिमा चुनावी सरकार गठन गर्न राष्ट्रपतिले पटकपटक गरेका प्रयास असफल हुनु र जनप्रतिनिधिविहनी राज्य व्यवस्था सञ्चालन भइरहनु लोकतन्त्रप्रतिको उपहासमात्र नभई जनताप्रतिको ठूलो बेइमानी र अपमानसमेत भएको टिप्पणी गरेका छन् ।


No comments:

Post a Comment