Friday, February 1, 2013

सरकारी निकायमा स्वदेशी वस्तु उपयोग अनिवार्य गर्ने तयारी

काठमाडौं, १९ माघ– सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सम्पूर्ण सरकारी निकायमा उपलब्ध भएसम्म स्वदेशी वस्तुको अनिवार्य उपयोग गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिकामा छलफल गर्नुपर्ने भएकोले आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको जानकारी सञ्चारमन्त्री राजकिशोर यादवले दिए ।
एडीबीले सवा अर्ब सहयोग गर्ने
एसियाली विकास बैंक (एडीबी) ले नेपालको व्यापार सहजीकरण कार्यक्रम कार्यान्वयन गर्न एक अर्ब २६ करोड ३० लाख रुपैया“ ऋण सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले एडीबीको सहयोग स्वीकार गर्ने निर्णय गरेको जानकारी यादवले दिए ।
हात्ती पीडित परिवारलाई तीन लाख
सरकारले सुनसरी जिल्लामा हात्तीको आक्रमणबाट मृत्यु भएकी महिलाको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । सरकारले वन्य जन्तुजन्य क्षति भएकालाई क्षतिपूर्तिसम्बन्धी निर्देशिका संशोधन गरी राहत रकम वृद्धि गरेको छ । वन्य जन्तुको आक्रमणबाट कुनै व्यक्ति मारिएमा पीडित परिवारलाई तीन लाख, सख्त घाइतेलाई ५० हजार, घाइतेलाई १० हजार, घरगोठ, बाली, भण्डारण गरिएको खाद्यान्न नष्ट भएमा १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था निर्देशिकामा गरिएको छ ।
मन्त्री यादवले वन्यजन्तुबाट मानवीय क्षति कम गर्न तार बार गर्नका लागि कोशीटप्पु वन्य जन्तु आरक्षणलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।
महोत्तरीमा सेवा केन्द्र
सरकारले गृह मन्त्रालयअन्तर्गत महोत्तरीको गौशालामा एकीकृत सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । केन्द्रलाई १२ कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ ।
रूख काट्न सहमति
सरकारले मकवानपुरको कमाने–लक्ष्मीपुर ३३ केभी प्रशारण लाइन निर्माण आयोजनाका लागि र रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको मूल र फिडर नहर निर्माण गर्न वन क्षेत्रको जग्गा उपलब्ध गराउने निर्णय गरी रूख हटाउन सहमति दिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रको जिम्मा कोषलाई
सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दुई वर्षका लागि अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापनको जिम्मा दिएको छ ।

No comments:

Post a Comment