Wednesday, April 3, 2013

विद्युत् प्राधिकरणद्वारा विदेशी लगानी निरुत्साहित पार्ने विवादास्पद निर्णय

ऊर्जा मन्त्रालयले आयोजनाको लाइसेन्स दिंदा प्राधिकरणको पूर्व स्वीकृति लिनुपर्ने
काठमाडौं, २१ चैत– विद्युत् प्राधिकरणको सञ्चालक समितिको तत्कालीन अध्यक्ष एवं मुख्यसचिव लीलामणि पौडेलको अध्यक्षतामा बसेको अन्तिम बैठकले ऊर्जा क्षेत्रको विकासमा विदेशी लगानीलाई निरुत्साहित पार्ने झन्डै आधा दर्जन विवादास्पद निर्णय गरेको छ ।
स्रोतका अनुसार बैठकले प्राधिकरणले विद्युत् खरिद गर्ने सरकारी तथा निजी क्षेत्रका जलविद्युत् आयोजनामा हुने विदेशी लगानीको फरेन एक्सचेन्ज रिस्क (विदेशी विनियम दरको जोखिम) प्राधिकरणले नलिने निर्णय गरेको छ । प्राधिकरणको निर्णयअनुसार सरकारी तथा निजी क्षेत्रको जलविद्युत् आयोजनामा हुने विदेशी लगानीको विदेशी विनिमयदरको जोखिम सबै सरकारले लिनुपर्नेछ ।
प्राधिकरणको विदेशी विनिमयको जोखिम नलिने निर्णयले चरम लोडसेडिङको समस्या भोगिरहेको मुलुकमा ऊर्जा क्षेत्रको विकासमा विदेशी लगानी प्रत्यक्ष निरुत्साहित हुने चिन्ता सरकारी अधिकारीले बताए ।
भोटेकोसी र खिम्तीलगायतका विदेशी लगानीका आयोजनामा विदेशी विनिमय दरको जोखिम लिनुपर्दा प्राधिकरण चरम घाटामा गएको उल्लेख गर्दै सञ्चालक समितिले अब आइन्दा पूरै, आधाभन्दा बढी या आंशिक विदेशी लगानी भएका निजी आयोजनाको विदेशी विनिमयको जोखिमसमेत नलिने निर्णय गरेको जानकारी एक अधिकारीले दिए । विदेशी लगानीका आयोजनाको अनुमति दिने हो भने तिनमा हुने विदेशी विनिमयको जोखिम सरकारले नै लिनुपर्ने निर्णयसमेत प्राधिकरणको छ । नया“ निर्णयअनुसार विदेशी लगानीबाट कुनै आयोजना बनेर प्राधिकरणले त्यसबाट उत्पादित बिजुली अमेरिकी डलर खरिद गर्नुपर्दा विदेशी विनिमय दरको जोखिम सरकारले बेहोर्नुपर्नेछ । विद्युत् खरिद सम्झौता गर्दा भन्दा पछि डलरको भाउ बढेमा बढेको जति रकमको जोखिम सरकारले बेहोर्नुपर्ने प्राधिकरणको निर्णय हो ।
मन्त्रिपरिषदले डेढ महिनाअघि सरकारी वा कम्पनी स्थापना गरी विद्युत् आयोजना निर्माण गर्दा विदेशी विनिमय दरको जोखिम प्राधिकरणले लिनुपर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार सरकारले जाइका, एडीबीलगायतका दाताबाट प्राप्त ऋण सहयोग विदेशी विनिमय दरको जोखिम प्राधिकरणले लिने गरी सोझै माथिल्लो सेती जलविद्युत् आयोजनालाई उपलब्ध गराएको छ । जोखिम प्राधिकरणले लिने शर्तमा सरकारले कुल सहयोगको एक प्रतिशतमात्र सेवा शुल्क लिई आफूले छुट्टै ब्याज नलिई सहुलियतपूर्ण ऋण सोझै माथिल्लो सेतीलाई उपलब्ध गराउने भएको छ । माथिल्लो सेतीले एडीबी र जाइकाबाट क्रमशः एक र डेढ प्रतिशत ब्याजमा ऋण सहयोग पाउनेछ ।
सरकारले यसअघि दाताबाट प्राप्त सहुलियतपूर्ण ऋण सहयोग ८ प्रतिशत ब्याज लिएर प्राधिकरणलाई ऋण दिने र विदेशी विनिमय दरको जोखिम आफैं लिने गथ्र्यो । सरकारले विदेशी विनिमय दर प्राधिकरणले लिने शर्तमा सहुलियतपूर्ण ऋण सहयोग सोझै आयोजनालाई उपलब्ध गराउने क्रम माथिल्लो सेतीबाट सुरु गर्न लागेको हो ।
तर, प्राधिकरण सञ्चालक समितिले मन्त्रिपरिषदको नीतिगत निर्णयविपरीत विदेशी विनिमय दरको जोखिम आफूले नलिई सरकारले लिनुपर्ने निर्णय गरेको हो । ‘विदेशी विनिमयको जोखिम प्राधिकरणले नलिने सञ्चालक समितिको निर्णयले मन्त्रिपरिषदले नीतिगत निर्णय ठूलो कि सरकारकै मातहतको प्राधिकरण ठूलो भन्ने प्रश्नसमेत उठेको छ, मन्त्रिपरिषदको निर्णय उल्ट्याउने अधिकार प्राधिकरणलाई छैन’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने ।
यो निर्णयबाट प्राधिकरणले विद्युत् खरिद गर्ने स्वदेशी र विदेशी लगानीकर्ताका संयुक्त लगानी या विदेशी लगानीमा निर्माण हुने आयोजनाको विदेशी विनिमयको जोखिम नलिने निर्णयले ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रत्यक्ष रूपमा प्रभावित हुने सरकारी अधिकारी बताउ“छन् ।
सञ्चालक समितिको चैत ६ को निर्णयपछि विदेशी विनिमयको जोखिम सरकार या प्राधिकरण कसले लिने भन्ने अन्यौल उत्पन्न हुने र त्यही कारण मुलुकको ऊर्जा क्षेत्रमा आउन लागेको विदेशी लगानीकर्ता फर्कने र नया“ लगानीसमेत नआउने चिन्ता ती अधिकारीको छ । सुपर सिक्सका रूपमा चिनिने ६ मध्ये लोअर सोलुमा विदेशीको लगानी ल्याउने तयारी छ, लोअर सोलु प्राधिकरणको पछिल्लो निर्णयले प्रभावित हुने पहिलो संयुक्त लगानीको आयोजना हुनेछ । लोअर सोलुमा ४९ प्रतिशत विदेशी लगानी भित्र्याउने तयारी प्रवद्र्धकको छ ।
सुपर सिक्समा सरकारले ४९ प्रतिशत विदेशी लगानी ल्याउन पाउने शर्तमा प्रतिस्पर्धा गराई ४५ करोड राजस्व उठाएर प्रवद्र्धक छनौट गरेको हो । सरकारकै नीतिविपरीत प्राधिकरणले विद्युत् खरिद सम्झौताको तयारी गरिरहेका सुपरसिक्सलाई प्रत्यक्ष प्रभावित हुने गरी विदेशी विनिमयको जोखिन नलिने निर्णय गरेको प्राधिकरणका अधिकारी बताउ“छन् ।
सञ्चालक समितिले भारतमा निर्यात गर्ने उद्धेश्य राखी विदेशी लगानीमा निर्माण हुन लागेका ठूला आयोजनाबाट उत्पादन हुने सुख्खायामको बिजुली मुलुकको आवश्यकताअनुसार खरिद गर्न पाउने निर्णयसमेत गरेको छ । सरकारले विश्वव्यापी माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा प्रवद्र्धक छनौट गरेको छ । ती प्रवद्र्धकले आयोजनाबाट उत्पादित नेपाललाई निःशुल्क उपलब्ध गराउनेबाहेक बा“की पूरै बिजुली निर्यात गर्न पाउने शर्तमा छनौट भएका हुन् । मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला भएको सञ्चालक समितिको यो निर्णय सस्तो लोकप्रियताका लागि भएको र यसले विदेशी लगानीकर्ता निरुत्साहित हुने चिन्ता सरकारी अधिकारी नै प्रकट गर्छन् ।
‘सुख्खायाममा नेपालको मागलाई पूरा गरेर बचेको बिजुलीमात्र भारतमा निर्यात गर्न पाउने हो भने ती आयोजनाको वर्षायामको बिजुलीमात्र कसरी बिक्री हुन सक्छन्, बिक्री भएछ भने पनि वर्षायामको बिजुलीको उचित मूल्य कसरी पाउन सक्तैनन् र आयोजनाबाट उचित प्रतिफल पाउन सक्तैनन् । यो निर्णयले निर्यातमुखी आयोजना निर्माणमा विदेशी लगानीकर्तालाई हतोत्साहित बनाउनेछ’ ती अधिकारीले भने । सञ्चालक समितिले भारतीय कम्पनीबाट निर्माण हुन लागेका माथिल्लो कर्णाली र अरुण तेस्रोलगायतका आयोजनाबाट उत्पादन हुने हिउ“दयामको बिजुली नेपाललाई माग भएको जतिको परिमाणमा खरिद गर्ने उद्धेश्यले यो निर्णय गरेको स्रोतले उल्लेख गरेको छ ।
समितिको बैठकले ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिंदा अनिवार्य रूपमा प्राधिकरणको सहमति लिनुपर्ने निर्णय गरेको छ । प्राधिकरणले ऊर्जा मन्त्रालयलाई पत्र पठाई विद्युत् आयोजनाको लाइसेन्स दिंदा प्राधिकरणको सहमति लिनुपर्ने व्यवस्थालाई कार्यान्वयन ल्याउन आग्रह गरेको छ ।
विद्युत् विकास ऐनअनुसार ऊर्जामन्त्रालयलाई जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिने पूर्णाधिकार दिएको छ । कानुनको यो व्यवस्थाविपरीत सञ्चालक समितिले ऊर्जालाई लाइसेन्स दिंदा प्राधिकरणको सहमति लिनुपर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रसारण लाइन नभएका ठाउ“मा जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिंदा प्रवद्र्धकहरूको लगानी डुब्ने र विद्युत् खरिद सम्झौता गर्नसमेत अप्ठ्यारो पर्ने तर्क गर्दै प्राधिकरणसित पूर्व सहमति लिनुपर्ने निर्णय गरेको जानकारी मन्त्रालयका अधिकारीले दिए । सञ्चालक समितिका सदस्य डम्बरबहादुर नेपालीले ऊर्जामन्त्रालयले प्रसारण लाइनको सम्भाव्यता भए÷नभएको हेरी भटाभट विद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिने र प्राधिकरणलाई विद्युत् खरिद सम्झौताका लागि दबाब दिंदा प्राधिकरणले धान्न नसक्ने स्थिति उत्पन्न भएको उल्लेख गर्दै ऊर्जा मन्त्रालयल लाइसेन्स दिंदा प्राधिकरणसित अनिवार्य रूपमा परामर्श लिनुपर्ने निर्णय गरिएको दाबी गरे ।
सञ्चालक समितिले सरकारले प्राधिकरणलाई भारतलाई बिजुली बेच्ने पावर ट्रेडिङ कम्पनीको समेत काम गर्न दिनुपर्ने निर्णय गरेको छ । निर्यातमुखी उद्धेश्यले निर्माणाधीन र भविष्यमा निर्माण हुने मझौला आयोजनाले भारतमा बिजुली निर्यात गर्न आफैं प्रसारण लाइन निर्माण गर्न नसक्ने उल्लेख गर्दै सञ्चालक समितिले भारतसित पावर ट्रेडिङको जिम्मा आफूलाई दिनुपर्ने निर्णय गरेको हो । सञ्चालक समितिले त्यस्ता आयोजनालाई लगानीको उचित प्रतिफलसहितको विद्युत्को मूल्य दिएर प्राधिकरणले खरिद गर्ने र ट्रेडिङ कम्पनीका रूपमा आफूले भारतमा बेच्न पाउनुपर्ने निर्णय गरी त्यसका लागि अनुमति दिन सरकारसमक्ष आग्रह गरेको जानकारी स्रोतले दिए ।




No comments:

Post a Comment