Wednesday, April 3, 2013

ऊर्जामन्त्री नै प्राधिकरणको अध्यक्ष

काठमाडौं, २१ चैत– ऊर्जामन्त्री उमाकान्त झाले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पद सम्हालेका छन् । मुख्यसचिव लीलामणि पौडेलले प्राधिकरणका अध्यक्षबाट राजिनामा दिएपछि उक्त पद विद्युत् प्राधिकरण ऐनअनुसार ऊर्जामन्त्री झाले सम्हालेका हुन् ।
विद्युत् प्राधिकरण ऐनमा ऊर्जामन्त्री या राज्यमन्त्री या मन्त्रिपरिषदले तोकेको व्यक्ति प्राधिकरणको अध्यक्ष हुने कानुनी व्यवस्था छ । राज्यमन्त्री नभएको, अध्यक्षले राजिनामा दिएको र मन्त्रिपरिषदले अर्को व्यक्ति नतोकेकाले ऊर्जामन्त्री झा कानुनी रूपमा स्वतः अध्यक्ष भएका हुन् ।
मन्त्री झाले सोमबार प्राधिकरण केन्द्रीय कार्यालयको स्थलगत निरीक्षण गरेका थिए । प्राधिकरणका अधिकारीहरूले झालाई ऊर्जामन्त्री एवं सञ्चालक समितिको अध्यक्षका रूपमा प्रस्तुत गरेका थिए । झाले प्राधिकरणका अधिकारीको भनाइको प्रतिवाद नगरी अध्यक्ष पद आफूले सम्हालेको संकेत दिएका थिए ।
‘ऊर्जामन्त्री झाले मन्त्रालयका अधिकारीहरूसित मन्त्रिपरिषदले नियुक्त गरेका अध्यक्षले राजिनामा दिएको, कानुनमा ऊर्जामन्त्री या राज्यमन्त्री वा मन्त्रिपरिषदले तोकेको व्यक्ति प्राधिकरणको अध्यक्ष हुने व्यवस्था रहेकाले राज्यमन्त्री पनि नभएको र मन्त्रिपरिषदले अर्को व्यक्ति नतोकेकाले आफू नै अध्यक्ष भएको बताएको’ जानकारीसमेत ऊर्जामन्त्रालयका एक सहसचिवले दिए ।
झाले समेत कानुनअनुसार आफू स्वतः प्राधिकरणको अध्यक्ष भएको बताए । ‘कानुनले नै ऊर्जामन्त्री अध्यक्ष हुने व्यवस्था गरेकाले म नै प्राधिकरणको अध्यक्ष हो’ उनले भने ।
तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टको पालामा मन्त्रीले अध्यक्ष पद त्यागी ऊर्जा सचिवलाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्न थालिएको थियो । तर, ऊर्जामन्त्रालयको समेत कार्यभार सम्हालेका निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा मन्त्रिरिषदले मुख्यसचिव पौडेललाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । पौडेलले पदबाट दिएको राजिनामा दिएपछि पुनः ऊर्जामन्त्री प्राधिकरणको अध्यक्ष भएको स्रोतले उल्लेख गरेको छ ।


No comments:

Post a Comment