Monday, June 1, 2020

गृह मन्त्रालयलाई आयोगको २४ घन्टे स्पष्टीकरण

काठमाडौं, १९ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ का चक्रबहादुर खत्रीलाई सर्वोच्च अदालतको आदेशविपरीत पटकपटक गिरफ्तार गरेकामा गृह मन्त्रालयसित २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गरी खत्रीलाई अपमानपूर्वक पक्राउ गरेर अज्ञात अवस्थामा राखिएको सम्बन्धमा गृह मन्त्रालयलाई २४ घन्टाभित्र जवाफ पेस गर्न स्पस्टीकरण सोधिएको जनाएको छ ।

‘खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निजउपर अपमानजनक व्यवहार गरिएको तथा सर्वोच्चबाट पटकपटक जारी भएका आदेशको बेवास्ता गरिएको सम्बन्धमा चौबीस घण्टाभित्र जवाफ पठाउन आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ’ विज्ञप्तिमा छ ।

आयोगले खत्रीलाई २०७६ वैशाख २ मा पहिलोपटक पक्राउ गरी जिल्ला कारागार खोटाङमा राखिएकामा सर्वोच्चबाट भएका आदेशविपरीत २०७६ चैत २८, २०७७ वैशाख १३, वैशाख २८, जेठ २ र जेठ १५ गते छैटौँपटक गिरफ्तार गरी लकडाउनको अवस्थामा खोटाङ, उदयपुर, सोलुखुम्बु हुँदै जेठ १६ गते सिरहा पु¥याइएको पाइएको विज्ञप्तिमा जनाएको छ ।.
आयोगले विज्ञप्तिमा प्रहरी प्रशासनबाट योजनाबद्ध रूपमा भएका यस किसिमका स्वेच्छाचारितापूर्ण गिरफ्तारीबाट संविधानले प्रत्याभूत गरेको मौलिक हक र मुलुकी फौजदारी अपराध संहिताको ठाडो उल्लंघन भएको टिप्पणी गरेको छ ।
आयोगले स्वेच्छाचारी रूपमा व्यक्तिलाई पटकपटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरी व्यक्तिको मानव अधिकारको सम्मान र संरक्षण तथा कानुनी शासनको प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

No comments:

Post a Comment