Friday, June 5, 2020

महानिर्देशक श्रेष्ठसहित ६ उच्च अधिकारीको सरुवा

काठमाडौं, २२ जेठ– कोरोनाको उपचार सामग्री खरिदमा विवादमा पर्दै आएको स्वास्थ्य मन्त्रालयले लकडाउनकै क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठसहित ६ उच्च अधिकारीको सरुवा गरेको छ ।
स्वास्थ्य सामग्री खरिदका बीच स्वास्थ्य सचिव यादव कोइराला सरुवा भएको एक सातामै विभागका महानिर्देशक श्रेष्ठसहित ६ जनासमेत हेरफेरमा परेका हुन् । श्रेष्ठसमेत महानिर्देशक भएको तीन महिनामै सरुवामा परेका हुन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्णयबाट विभागका महानिर्देशक श्रेष्ठलाई रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिमा काजमा पठाइएको छ । 

स्वास्थ्य मन्त्रालयका १२ औं तहका डाक्टर दीपेन्द्ररमण सिंहलाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानिएको छ । 
स्वास्थ्य सामग्री खरिद विवादमा परेका कारण विभागका महानिर्देशक श्रेष्ठ र आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डोटेललाई एकैचोटि सरुवा गरिएको दाबी मन्त्रालय स्रोतको छ ।
मन्त्रालयले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका प्रमुख डा. रमेश खरेललाई विभागको आपूर्ति व्यावस्थापन महाशाखाको निर्देशकमा सरुवा गरेको छ । 
मन्त्रालयले परोपकार प्रसूति गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई समेत मन्त्रालयमा तानेको छ । प्रसूति गृहको निर्देशकको जिम्मेवारी डा. संगीता कौशललाई दिइएको जानकारी मन्त्रालयले दिएको छ ।

No comments:

Post a Comment