Monday, June 15, 2020

यसरी खुल्दैछन् सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय


  • फ्रन्ट डेस्कका कर्मचारीले पीपीई लगाउनु पर्ने 
  • कार्यालय, कर्मचारी र सेवाग्राहीले पालना गर्नु पर्ने प्रोटोकल जारी
  • भीड र कामको चापलाई व्यवस्थापन गर्न कार्यालय समय सातामा ४० को सट्टा ६० घन्टा

काठमाडौं, ३१ जेठ– झन्डै तीन महिना बन्द रहेका सम्पूर्ण सरकारी, अर्धसरकारी र गैरसरकारी कार्यालयले असार १ (सोमबार) देखि लकडाउन अगाडिजस्तै पूर्ववत रूपमा सेवा दिन थाल्ने भएका छन् ।
कोरोना संक्रमण नियन्त्रण गर्न घोषित लकडाउन खुकुलो बनाएको सरकारले ८३ दिनपछि सम्पूर्ण कार्यालय खोली लामो समयदेखि अवरुद्ध सेवालाई सुचारु गर्दै छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारीले संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी सोमबारदेखि खुल्ने कार्यालयहरूमा लकडाउनअगाडि जस्तै सबै खाले सेवा सुचारु हुने जानकारी दिए ।

सम्पूर्ण सरकारी, संस्थान र गैरसरकारी कार्यालय सोमबारदेखि दुई सिफ्टमा १० घन्टा खुल्नेछन् । पहिलो सिफ्ट बिहान ८ देखि १ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ देखि बेलुका ६ बजेसम्म सञ्चालन हुने छ । 
कार्यालयमा एक सिफ्टमा ५० प्रतिशत र अर्को सिफ्टमा बाँकी ५० प्रतिशत कर्मचारी उपस्थित भई सेवाग्राहीका काम गर्ने छन् । कार्यालय प्रमुखहरूले कर्मचारीहरूको पालो मिलाई अफिस दुई सिफ्टमा सञ्चालन गर्ने छन् । 
लामो समयदेखि अवरुद्ध सर्वसाधारणका काम छिट्टै र सहज ढंगले गरिदिन सरकारले कार्यालय समय साताको ४० घन्टाबाट बढाएर ६० घन्टा पु¥याएको छ । शुक्रबारसमेत कार्यालय बिहान ८ देखि बेलुका ६ बजेसम्म सञ्चालन हुने छ । 
कामको चापअनुसार अफिस समय तोकिएभन्दा बढी कायम गर्न या घटाउन सक्ने अख्तियारी कार्यालय प्रमुखलाई दिइएको छ ।
सरकारी कार्यालयमा सोमबारदेखि नागरिकता प्रमाणपत्र, राहदानी, लाइसेन्स बनाउने, कम्पनी, गाडी दर्ता, नवीकरण, जग्गा किनबेच, रोक्का, उद्योग, कम्पनी दर्ता, मालपोत, कर, राजस्व तिर्नेसहित सबै काम गर्न सुरु हुने छन् ।
अधिकारीका अनुसार सबै मन्त्रालयले शनिबार आ–आफ्ना मातहतका कार्यालय सञ्चालनसम्बन्धी छुट्टाछुट्टै प्रोटोकल जारी गरेका छन् । प्रोटोकलमा कर्मचारी, सेवाग्राही र कार्यालयले अनिवार्य रूपमा पालना गर्नु पर्ने छुट्टाछुट्टै मापदण्ड तोकिएका छन् ।
प्रोटोकलमा सबै कार्यालयहरूले प्रवेशद्वारमा नै कर्मचारी र सेवाग्राहीको ज्वरो नापेरमात्र भित्र प्रवेश गर्न दिन थर्मल गनसहित सुरक्षाकर्मी राख्नु पर्ने, अनिवार्य रूपमा स्यानिटाइजर या हात धुने ठाउँको व्यवस्था गर्नु पर्ने छ । मापदण्डअनुसार १००.४ डिग्रीभन्दा बढी ज्वरो भएका व्यक्ति सरकारी कार्यालयमा प्रवेश गर्न पाउने छैनन् । 
बढी भीडभाड हुने सेवाग्राही कार्यालयहरूले सर्वसाधारणलाई सेवा दिन छुट्टै काउन्टरको व्यवस्था गर्नु पर्ने छ । पहिल्यै काउन्टर भएका कार्यालयमा समेत तिनलाई स्वास्थ्य मापदण्डअनुसार अझ व्यवस्थित बनाउने छन् ।
कार्यालयहरूले आफ्ना कर्मचारी या सेवाग्राहीमध्ये कोही बिरामी परेमा तत्काल उपचार गर्न अस्पतालमा लान स्थानीय प्रशासन, पालिका र सुरक्षा निकायसित नियमित सम्पर्क र समन्वयमा रहनु पर्ने व्यवस्थासमेत प्रोटोकलमा गरिएको छ ।
कार्यालयमा एक कर्मचारी र अर्कोबीचको दुरीसमेत कम्तीमा एक मिटर हुने गरी टेबुल र कुर्ची राखिएको छ छ । सेवाग्राहीसित प्रत्यक्ष सम्पर्कमा आउने फ्रन्ट डेस्कका कर्मचारीले अनिवार्य रूपमा पीपीई गाउन लगाउनु पर्ने व्यवस्था प्रोटोकलमा गरिएको छ । 
सबै कर्मचारीले अनिवार्य रूपमा मास्क र हातमा पञ्जा लगाउनु पर्ने छ । कार्यालयले नै कर्मचारीलाई मास्क र पञ्जा उपलब्ध गराउनु पर्ने छ । प्रोटोकलमा सेवाग्राहीले समेत अनिवार्य रूपमा मास्क लगाउनु पर्ने र भौतिक दुरी कायम गर्न लाइनमा बस्नु पर्ने, भीडभाड गर्न नहुनेलगायतका नियम पालना गर्नु पर्ने छ ।
आर्थिक वर्षको अन्त्यमा सर्वसाधारण, व्यवसायी र कम्पनीले वर्षभरिको कर फछ्र्यौट गर्ने र सरकारी निकायबाट सम्पन्न भएका कामको भुक्तानी लिइसक्नु भएकाले कार्यालय खोल्नासाथ सेवाग्राहीको बढी भीड हुने विश्लेषण सरकारी अधिकारीको छ ।
सामाजिक दुरी कायम गर्नका लागि काउन्टर अगाडि डोरी बाँध्नु पर्ने र सेवाग्राहीको लाइनमा समेत एक मिटर दुरी कायम गर्न चिह्न अंकित गर्नु पर्ने छ । मन्त्रालय र विभागमा अब सेवाग्राही सोझै कार्यालय कोठामा जान पाउने छैनन् । मन्त्रालय र विभागमा समेत सेवाग्राहीका लागि भवनको प्रवेशद्वारमा नै छुट्टै काउन्टर राखिने छ, त्यहीँबाट कर्मचारीले आवश्यक सेवा उपलब्ध गराउने छन् ।
मापदण्डअनुसार कार्यालयहरूले सेवाग्राहीको भीड र कामको चापलाई व्यवस्थित गर्न एक दिनमा कति जनालाई सेवा दिन सकिन्छ, त्यही आधारमा कोटा प्रणाली लागू गरी कार्यान्वयनमा ल्याउन सक्ने जानकारी सहसचिव अधिकारीले दिएका छन् ।
‘बढी भीडभाड भयो भने संक्रमण फैलिने डर हुन्छ, त्यही कारण भीडभाड हुन नदिन कार्यालयहरूले सेवाग्राहीको संख्या तोकेर कोटा प्रणाली लागू गरी सेवा दिन सक्छन् । तोकिएको कोटाभन्दा बढी आएका सेवाग्राहीले अर्को दिन सवेरै आएर आफ्नो पालामा सेवा लिन सक्छन्’ उनले भने । 
उनले मन्त्रिपरिषदको निर्णयअनुसार निजी (गैरसरकारी) क्षेत्रका कम्पनी, वित्तीय संस्था तथा उद्योगहरूले समेत आ–आफ्ना कार्यालय सञ्चालन र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड बनाई लागू गर्नु पर्ने जानकारी दिए ।
अधिकारीले कार्यालयमा बढी भीड हुन नदिन सेवाग्राहीलाई सम्भव भएसम्म सोमबारदेखि अनलाइनबाटै सेवा दिन प्रयास गरिने जानकारी दिए । ‘बैंकमा रकम भुक्तानीको गरेको भौचर लिएर सरकारी कार्यालयमा धाउनु पर्ने अवस्थाको अन्त्य गरिने छ, अनलाइन बैंकिङ भुक्तानीको व्यवस्था गरिने छ, अरू सरकारी सेवा पनि अनलाइनबाट दिने हरसम्भव प्रयास गरिनेछ’ अधिकारीले भने ।
कर्मचारीलाई आउजाउ गर्न समस्या हुने
लकडाउन खुकुलो गरिए पनि सार्वजनिक यातायात नखुलेको र मोटरसाइकलमा एक जनामात्र चढ्न पाइने अव्यावहारिक नियमका कारण अफिस आउजाउ गर्न सरकारी, संस्थान र अर्धसरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई समस्या पर्ने भएको छ ।
सहसचिव अधिकारी सरकारी कार्यालयहरूले उपलब्ध भएसम्मका आफ्ना सबै गाडी परिचालन गरी कर्मचारीहरूलाई आउजाउ गर्न सुविधा दिने बताउँछन् । गाडी सुविधा उपलब्ध हुन नसक्ने कर्मचारी भने हिडेरै कार्यालय आउजाउ गर्नु पर्ने छ ।
पहिलो सिफ्टमा बिहान ८ बजे कार्यालय पुग्नु पर्ने र दोस्रो सिफ्टमा बेलुका ६ बजे छुट्नु पर्ने भएकाले कर्मचारीहरूलाई घर आउजाउ गर्न पहिलाभन्दा बढी समस्या हुने छ ।
अव्यावहारिक हुने
दुई सिफ्टमा अफिस चलाउने मन्त्रिपरिषदको निर्णय सेवाग्राही कार्यालयहरूका लागि व्यावहारिक र उपयुक्त भए पनि नीतिगत काममात्र गर्ने मन्त्रालय र विभागका लागि अव्यावहारिक हुने सरकारी अधिकारी नै बताउँछन् ।
‘परेका बेला बिहानदेखि बेलुकासम्म बसेर काम गरिएकै हुन्छ, काम नभएका बेला मन्त्रालय या विभागमा बिहानै आएर या बेलुकासम्म बसेर के गर्ने ? बिहान ८ देखि बेलुका ६ बजेसम्म दुई सिफ्टमा अफिस सञ्चालन गर्ने निर्णय नीतिगत काममात्र गर्ने निकायका लागि अव्यावहारिक छ’ एक सरकारी अधिकारीले कान्तिपुरसित भने ।

No comments:

Post a Comment