Tuesday, June 9, 2020

क्वारेन्टिनमा नै संक्रमणबाट बढी मृत्यु हुनु चिन्ताजनक ः मानव अधिकार आयोग

क्वारेन्टिनहरूलाई मापदण्ड अनुरूप रूप सञ्चालन गर्न निर्देशन
काठमाडौं, २६ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि देशभर सरकारद्वारा सञ्चालित क्वारेन्टिनहरूमा नै संक्रमणबाट बढी मृत्यु हुनु चिन्ताजनक भएको टिप्पणी गरेको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गरी मुलुकभर संक्रमणबाट मरेका १३ जनामध्ये क्वारेन्टिनभित्रै ९ जनाको मृत्यु भएको दुःखद् स्थितिप्रति संवेदनशील र गम्भीर हुन सरकारलाई निर्देशन दिएको छ । 
आयोगले मुलुकभरका अधिकांश क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेको र त्यहाँ आधारभूत मानव अधिकार संरक्षणमा समेत उदासिनता देखिएको जनाएको छ । अहिले १ लाख ६७ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा नै रहिरहेको गम्भीर स्थिति छ’ भन्दै आयोगले संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेकाले संकट झनै लम्बिन सक्ने देखिएको उल्लेख गरेको छ ।


आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि देशभर सञ्चालित क्वारेन्टिनहरू मापदण्ड अनुरूप व्यवस्थित रूपले सञ्चालन गर्न र क्वारेन्टिनमा रहेका सबैको पीसीआर परीक्षणलाई तीव्रता दिन सरकारलाई आग्रह गरेको छ ।
आयोगले कतिपय श्रमजीवी पत्रकारहरूले पारिश्रमिक प्राप्त गर्न नसकेको, पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति रहेको र कतिपय सञ्चार माध्यम बन्द हुने अवस्थामा रहेकोजस्ता कारणबाट संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकबाट वञ्चित हुनु पर्ने स्थिति उत्पन्न हुन लागेको टिप्पणी गरेको छ ।
आयोगले सञ्चारकर्मीहरूमाथिको आक्रमण, धम्की र दुव्र्यवहार रोक्न, श्रमजीवी पत्रकारहरूको पारिश्रमिक सुनिश्चित गरी सूचनाको पहुँचलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले पत्रकारको सुरक्षाका सम्बन्धमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम ल्याउन तथा संविधानबमोजिम मौलिक हक तथा मानव अधिकारको संरक्षण गर्ने राज्यको दायित्व प्रभावकारी रूपमा पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

No comments:

Post a Comment