Thursday, June 4, 2020

संकटका बेला पनि राज्यको ढुकुटीमा रजाइँ


  • अनुत्पादक क्षेत्रमा खर्च नगर्ने नीतिविपरीत के केमा कति कति खर्च गरिंदै ?
  • राष्ट्रपति भवनको सजावटमा पौने दुई करोड
  • राष्ट्रपति कार्यालयको बगैंचा हेरचाह गर्न ४२ लाख
  • मन्त्रीहरूलाई ८३ लाखको जिमखाना
  • मन्त्री निवासको मर्मतसम्भारमा २८ लाख 
  • एक जना सहसचिवलाई डेढ करोड र अर्कालाई ५० लाखको गाडी

काठमाडौं, २१ जेठ– सरकारले कोभिड–१९ विरुद्ध लड्नका लागि अत्यावश्यकबाहेक बाँकी सबै क्षेत्रको खर्च कटौती गर्ने आफ्नै निर्णयको खिल्ली उडाउँदै विलाशी भौतिक संरचना निर्माण र महँगा गाडी तथा फर्निचर खरिदमा करोडौं रुपैयाँ खरिद गरिरहेको पाइएको छ ।

सरकारले संक्रमणको रोकथाम र उपचारका लागि बजेट जुटाउन गत चैत २० मा गाडी र फर्निचर खरिदसहित १४ शीर्षकको खर्च रोक्न सबै मन्त्रालय र निकायलाई सर्कुलर गरेको थियो । सर्कुलरको मसी सुक्न नपाउँदै लकडाउनकै बीचमा सरकारले राष्ट्रपति, मन्त्री र उच्च प्रशासनिक अधिकारीको विलाशी र महँगा सौख पूरा गर्न फजुल खर्च गर्दै आइरहेको छ ।

सरकारले लकडाउनकै क्रममा राष्ट्रपति भवनको सजावटमा मात्र पौने दुई करोडं रुपैयाँ खर्च गर्दै छ । राष्ट्रपति भवनलाई सजाएर भव्य बनाउन महँगा र विलाशी नयाँ गलैंचा राख्न लागिएको छ । 
कोरोना प्रकोपसँगै राष्ट्रपति विद्या भण्डारीले आफ्ना लागि सुविधा सम्पन्न विद्युतीय गाडी खरिद गर्न विनियोजिम रकम सरकारलाई फिर्ता गरेकी थिइन् । सरकारले त्यसलाई बिर्साउने गरी राष्ट्रपति भवनलाई करौडौं खर्च गरेर सजाउन लागेको हो ।
राष्ट्रिपतिका लागि करिब साढे तीन वर्षअघि ६८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको नयाँ भवनमा राखिएका गलैंचा हटाएर नयाँ फेर्न लागिएको हो । नयाँ भवनमा गलैचा राखेको तीन वर्ष पनि पुगेको छैन । ‘भएका गलैंचा पुराना र काम नलाग्ने भएर फेर्न लागिएको होइन, ती गलैंचा अझै धेरै वर्ष काम लाग्ने खालका छन्’ स्रोतले भन्यो– ‘महँगा र आकर्षक गलैंचा राख्न लागिएको हो ।’ 
राष्ट्रपति कार्यालयको नयाँ भवनका दुइटा ठूला हलमा गलैंचा फेर्न लागिएको हो । नेपाल आउने विदेशी राष्ट्राध्यक्ष र सरकार प्रमुखलगायतका विशिष्ट अतिथि र विदेशी राजदूतलाई राष्ट्रपतिले शिष्टाचार भेट गर्ने ती हललाई आकर्षक र भव्य बनाउन नेपालको संस्कृति र मौलिकता झल्काउने गलैंचा राख्न लागिएको हो । भवनमा स्वदेशमै उत्पादित उनी गलैँचा राखिंदै छ । 
सहरी विकास विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जेठ १७ मा नयाँ भवनमा गलैँचा फेर्ने ठेक्का ‘हिमालयन डेकोर रग्स प्रालि’ लाई दिएको छ । उक्त प्रालि सत्तारूढ नेकपाका गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङको हो । असारभित्रै राष्ट्रपति कार्यालयको नयाँ भवनमा नयाँ गलैंचा फेर्ने काम भइसक्ने जानकारी स्रोतले दिएका छन् ।
गलैँचा्मात्र होइन, राष्ट्रपति भवनको भित्री सजावटको कामसमेत लकडाउनकै क्रममा हुन लागेको छ । लकडाउनकै क्रममा कार्यालयले जेठ १३ मा राष्ट्रपति भवनको भित्री सजावट र शौचालय भव्य बनाउन एक करोड ५७ लाखमा ठेक्का दिएको छ । राष्ट्रपति भवनको भित्री सजावटको जिम्मा श्री विकोई÷इन्द्रेणी÷सुप्रिम जेभीलाई पाएको छ । संकटका वेला अत्यावश्यकबाहेक अरू शीर्षकमा खर्च नगर्ने आफ्नै निर्णय र नीतिविपरीत सरकारले राष्ट्रपति भवनमा भित्री सजावट र गलैंचा फेर्ने काम गर्न लागेको हो । 
सरकारले राष्ट्रपति कार्यालयको बगैँचा स्याहारसुसार गर्नमात्र वार्षिक ४२ लाख रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । यस वर्ष राष्ट्रपति कार्यालय परिसरको बगैंचा सजाउन प्रितम बगैँचा निर्माण प्रालि, कागेश्वरी मनहरालाई ४२ लाख ८ हजार रुपैयाँमा ठेक्का दिइएको छ । बगैंचाको ठेक्का भने लकडाउन अगाडि नै दिइएको दाबी राष्ट्रपति कार्यालय स्रोतले गरेको छ । 
राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले राष्ट्रपति भवनको सजावट र गलैंचा फेर्ने काम भइरहेकोबारेमा आफूलाई कुनै जानकारी नभएको दाबी गरे । ‘राष्ट्रपति भवनको सजावट र रेखदेखको काम हामीले होइन सहरी विकास विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्ने हो । उसले के गरिररहेको छ, मलाई कुनै जानकारी छैन’ उनले कान्तिपुरसित भने ।
सरकारले लकडाउनका क्रममा राष्ट्रपति कार्यालयमा मात्र नभएर मन्त्रीहरूको विलाशी सौख पूरा गर्न विलाशी संरचना निर्माण गर्दै छ । सरकारले ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा अत्याधुनिक र सुविधा सम्पन्न जिमखाना र ब्याडमिन्टन कोर्ट निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ । 
लकडाउनकै बीचमा सहरी विकास विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जेठ १७ मा मन्त्री निवासमा हेल्थ क्ल्ब (स्पोर्ट्स र जिम मेसिनहरू जडानसहित) र ब्याडमिन्टन कोर्ट (कभर्ड हल) निर्माण गर्न श्री न्यू केपी कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएको छ । 
प्रालिले ८२ लाख ८७ हजार रुपैयाँमा जिमखाना निर्माण गर्नेछ । ‘कोरोना संक्रमितको उपचार गर्न र क्वारेन्टाइनमा रहेकाहरूको खान र बस्नको व्यवस्था गर्नका लागिसमेत सरकारलाई रकमको अभाव भइरहेका बेला मन्त्रीहरूलाई किन जिमखाना चाहियो ?’ निर्माणको जिम्मा दिने कार्यालयका अधिकारीहरू नै अनुत्तरित छन् ।
मन्त्रीहरूका लागि जिमखानामात्र बन्दै छैन, उनीहरू बस्ने सरकारी भवनसमेत रंगरोगन र मर्मतसम्भार गरी आकर्षक बनाइने भएको छ । कार्यालयले मन्त्री निवासका सबै १९ वटा भवनको रंगरोगन र मर्मतसम्भार गर्न श्री देवीस्थान निर्माण सेवा एन्ड सप्लायर्स कम्पनीलाई २८ लाख ५५ हजार ९ सय रुपैयाँमा ठेक्का दिएको छ । लकडाउनका क्रममा टेन्डर आह्वान गरी जेठ १७ मा रंगरोगन र मर्मतसम्भारको ठेक्का दिइएको हो । स्रोत भन्छ– ‘मन्त्री निवासमा रहेका भवन मर्मतसम्भार गर्नु अत्यावश्यक थिएन । मन्त्रीहरूको दबाबमा काम सुरु गर्न लागिएको हो ।’
सरकारले लकडाउनका क्रममा राष्ट्रपति र मन्त्रीको मात्र होइन उच्च प्रशासनिक अधिकारीको विलाशी सौख पूरा गर्नसमेत पछि परेको छैन । उसले आफ्नै सर्कुलरविपरीत दुई सहसचिवका लागि महँगा र विलाशी गाडी खरिद गरिदिएको छ । 
लकडाउनकै क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको पानी जहाज कार्यालय प्रमुखका लागि १ करोड ४४ लाख र महालेखा नियन्त्रकको कार्यालयका सहसचिवका लागि ५० लाख रुपैयाँमा विलाशी गाडी खरिद गरिएको छ । दुवै निकायमा चालु हालतका गाडी हुँदाहुँदै दुई सहसचिवका लागि नयाँ खरिद गरिएको हो ।

No comments:

Post a Comment