Monday, June 1, 2020

राष्ट्रपति भवनलाई सजाउन करोडका गलैंचा

काठमाडौं, १९ जेठ– कोरोना महामारीका कारण मुलुक गम्भीर आर्थिक संकटमा परेका बेला राष्ट्रपति कार्यालय भवनमा करोड खर्चेर महँगा र विलाशी नयाँ गलैंचा राख्न लागिएको छ ।
कोरोना प्रकोपसँगै राष्ट्रपति विद्या भण्डारीले सुविधा सम्पन्न विद्युतीय गाडी खरिद गर्न विनियोजिम रकम सरकारलाई फिर्ता गरेकी थिइन् । सरकारले त्यसलाई बिर्साउने गरी राष्ट्रपति भवनलाई महँगो गलैंचाले सजाउन लागेको हो ।
राष्ट्रिपति कार्यालय परिसरमा करिब साढे तीन वर्षअघि निर्माण गरिएको नयाँ भवनमा राखिएका गलैंचा हटाएर एक करोड रुपैयाँमा नयाँ किनेर फेर्न लागिएको जानकारी स्रोतले दिएका छन् । 

नयाँ भवनमा गलैचा राखेको तीन वर्ष पनि पुगेको छैन । ‘भएका गलैंचा पुराना र काम नलाग्ने भएर फेर्न लागिएको होइन, ती गलैंचा अझै धेरै वर्ष काम लाग्ने खालका छन्’ स्रोतले भन्यो– ‘महँगा र आकर्षक गलैंचा राख्न लागिएको हो ।’ 

स्रोतका अनुसार राष्ट्रपति कार्यालयको नयाँ भवनका दुइटा ठूला हलका लागि ३०÷३० लाख रुपैयाँ मूल्यका दुइटा गलैैँचा राखिंदै छ भने अरू कोठाका लागि ४० लाख रुपैयाँ मूल्यका गलैंचा हालिंदै छ ।
दुइटा ठूला हलमा राख्नका लागि विशेष खालका आकर्षक गलैँचा बुन्ने काम भइरहेको जानकारी राष्ट्रपति कार्यालयका अधिकारीले दिएका छन् । 
विदेशबाट नेपाल आउने विदेशी राष्ट्राध्यक्ष र सरकार प्रमुखलगायतका विशिष्ट अतिथि र विदेशी राजदूतलाई राष्ट्रपतिले शिष्टाचार भेट गर्ने ती हललाई आकर्षक र भव्य बनाउन नेपालको संस्कृति र मौलिकता झल्काउने गलैंचा राख्न लागिएको दाबी ती अधिकारीले गरे । 
राष्ट्रपति कार्यालयले विदेशी अतिथिहरू आउँदा भेटघाट गर्ने हललाई सरकारले मुलुकको प्रतिष्ठा बढाउने गरी मौलिक प्रकृतिका गलैँचा राखेर सजाउन लागिएको दाबी गरेको छ ।
विदेशी विशिष्ट पाहुनाले नेपालको मौलिकता र संस्कृतिको झलक पाउन सकून् भनेर विशेष खालका आकर्षक गलैंचा फेर्न लागिएको हो’ ती अधिकारीले भने– ‘विशेष प्रकृतिका गलैँचा राख्न खोज्दा मूल्य केही बढी परेको हो । मुलुकको प्रतिष्ठा बढ्ने कुरामा एक करोड खर्च हुनु सामान्य हो । यसलाई बढाइचढाइँ गरेर प्रचार नगर्नु होला ।’ 
ती अधिकारीले स्वदेशी उत्पादनको प्रवद्र्धन हुने गरी राष्ट्रपति कार्यालय भवनमा गलैंचा राख्न लागिएको दाबीसमेत गरे । आगामी असार मसान्तभित्रै राष्ट्रपति भवनमा पुराना झिकेर नयाँ गलैंचा सजाइसकिने जानकारी स्रोतले दिए । 
 ती अधिकारीका अनुसार सरकारले नयाँ भवनमा गलैँचा फेर्ने ठेक्का सत्तारूढ नेकपाका गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङको ‘हिमालयन डेकोर’ लाई दिएको छ । उनी तनहुँ–१ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । हिमालयन डेकोरले लकडाउनका क्रममा समेत धमाधम गलैँचा बुन्ने काम अगाडि बढाइरहेको स्रोतको दाबी छ । अबको एक÷डेढ महिनामै उसले बुन्ने काम सकेर भवनमा सजाउने काम गरिसक्ने छ ।
सरकारले राष्ट्रपति कार्यालय र निवास भवनका लागि कानुन मिचेर गलैंचा खरिदको प्रक्रिया अघि बढाएको हो । सार्वजनिक खरिद ऐनमा १० लाख रुपैयाँभन्दा बढीको सामान खरिद गर्न टेन्डर आह्वान गर्नु पर्ने व्यवस्था सार्वजनिक खरिद ऐनमा छ । सरकारले बिनाप्रतिस्पर्धा सोझै हिमालयन डेकोरसित गलैंचा खरिद गर्न लागेको हो ।
कोरोना संक्रमणसँग लड्नका लागि रकम जुटाउन मितव्ययी बन्ने घोषणा गरेको सरकारले राष्ट्राध्यक्षको कार्यालय भवन सजाउन भने मन फुकाएर खर्च गरेको स्रोतले उल्लेख गरेको छ ।
‘रद्द गर्न नमिलेका कारण गलैंचा फेर्ने काम जारी’
राष्ट्रपति कार्यालयका अधिकारीले लकडाउनअघि नै सुरु भएको प्रक्रिया कानुनी रूपमा रद्द गर्न नमिलेकाले गलैंचा फर्ने काम नरोकिएको दाबी गरे ।
राष्ट्रपति भण्डारीको व्यक्तिगत रुचि र स्वार्थमा नभई सहरी विकास विभाग र कार्यालयको कर्मचारी प्रशासनले राष्ट्राध्यक्षको भवनलाई आकर्षक बनाउन गर्लैचा फेर्ने काम अघि बढाएको दाबी ती अधिकारीको छ । ‘गलैंचा फेर्ने कुरामा राष्ट्रपतिको व्यक्तिगत रुचि र दबाब केही छैन, राष्ट्रपति निवासको सजावटको काम हेर्ने सहरी विकास विभाग मातहतको भवन निर्माण सम्भार डिभिजन कार्यालय र हामी.(राष्ट्रपति कार्यालय प्रशासन) ले नै आवश्यकता महसुस गरेर फेर्ने काम अघि बढाएका हौं्’ ती अधिकारीले कान्तिपुरसित भने ।
पहिला परराष्ट्र मन्त्रालय रहेको शीतल निवासमा हाल राष्ट्रपति कार्यालय र निवास छ । त्यहाँ रहेका भवन पुराना भएकाले साँढे तीन वर्षअघि एउटा भव्य नयाँ भवन बनाइएको छ । राष्ट्रपति भण्डारी ०७३ माघमा मात्र नयाँ भवनमा सरेकी हुन् । सरेको तीन वर्षमै नयाँ भवनमा गलैँचा फेर्न लागिएको हो । 
राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले गर्लैचा फेर्ने काम भइरहेकोबारेमा आफूलाई कुनै जानकारी नभएको दाबी गरे । ‘राष्ट्रपति भवनको सजावट र रेखदेखको काम हामीले होइन सहरी विकास विभागअन्तर्गतको भवन निर्माण सम्भार डिभिजन कार्यालयले गर्ने हो । उसले के गरिररहेको छ, मलाई कुनै जानकारी छैन’ उनले कान्तिपुरसित भने ।
कार्यालय परिसर विस्तार गर्न प्रहरी कार्यालय हटाउन ताकेता
राष्ट्रपति कार्यालयले राष्ट्रपति भवन परिसरलाई फराकिलो बनाई त्यसभित्र हेलिप्याड, सलामी र परेड स्थल तथा बगैंचा बनाउनका लागि नजिकै रहेको प्रहरी एकेडेमी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालय हटाउन ताकेता गरिरहेको छ ।
प्रहरी एकेडेमी र सीआईबी रहेको क्षेत्रसमेत ओगटी राष्ट्रपति कार्यालय परिसरलाई विस्तार गरी त्यसभित्र हेलिप्याड, सलामी र परेड स्थल तथा बगैंचा बनाउने योजना छ ।
राष्ट्रपति कार्यालयले एकेडेमी र सीआईबीलाई साउनभित्रै अन्यत्र सारेर ठाउँ खाली गरिदिन सरकारलाई पत्र पठाई बारम्बार ताकेता गर्दै आएको जानकारी स्रोतले दिएका छन् ।
तर, एकेडेमी र सीआईबीलाई कहाँ सार्ने भन्ने टुंगो लागिसकेको छैन । सरकारले एकेडेमीलाई काभ्रेको पनौतीमा सार्ने भने पनि त्यहाँ अहिलेसम्म कुनै संरचना बनेको छैन । अझ सीआईबीको कार्यालय कहाँ राख्ने भन्नेबारेमा ठाउँको खोजीसमेत भएको छैन ।


No comments:

Post a Comment