Saturday, June 20, 2020

‘हेल्थ प्रोटोकल’ कागजमै सीमित

 सेवाग्राही कार्यालयबाटै संक्रमण फैलने त्रास
काठमाडौं, ५ असार– ‘हेल्थ प्रोटोकल’ मा सरकारी कार्यालयहरूमा फ्रन्ट डेस्कका कर्मचारीले पीपीई गाउन र पञ्जा लगाएर सेवा दिनु पर्ने व्यवस्था छ । तर, कुनै पनि सरकारी कार्यालयमा यो व्यवस्था लागू भएको छैन । बढी जनसम्पर्क हुने सेवाग्राही कार्यालयहरूमा जाँदासमेत कहीँ पनि पीपीई लगाएका कर्मचारी नै देखिंदैनन् ।
मन्त्रालयहरूद्वारा कोरोनाको संक्रमण फैलिन नदिन आइतबार जारी हेल्थ प्रोटोकलमा कार्यालय, कर्मचारी र सेवाग्राहीले पालना गर्नु पर्ने छुट्टाछुट्टै मापदण्ड तोकिएको छ । प्रोटोकलमा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड न त सरकारी कार्यालयहरूले नै पालना गरेका छन्, न त कर्मचारी र सेवाग्राहीले नै । 

सरकारले उपलब्ध नगराएका कारण फ्रन्ट डेस्कका कर्मचारीले पीपीई र पञ्जा लगाएर सेवा दिने व्यवस्था लागू नभएको दाबी सरकारी कार्यालयहरूको छ । फ्रन्ट डेस्कमा कार्यरत कर्मचारीहरू नै भन्छन्– ‘सरकारले पीपीई नै दिएको छैन, हामी आफैंले ४÷५ हजार रुपैयाँ खर्च गरेर कसरी लगाउने ?’ 

८३ दिन बन्द रहेका सरकारी, संस्था र गैरसरकारी कार्यालय असार १ देखि खोल्ने मन्त्रिपरिषदको निर्णयसँगै मन्त्रालयहरूले सार्वजनिक गरेका प्रोटोकल कागजमा मात्र सीमित छ, त्यसमा तोकिएका धेरैजसो मापदण्ड सरकारी कार्यालयहरूमा लागू भएका छैनन् ।
प्रोटोकलमा सरकारी कार्यालयमा कर्मचारी र सेवाग्राही दुवैले सामाजिक दुरी पालना गर्नु पर्ने नियम छ, तर धेरैजसो ठाउँमा दुवैथरीले पालना गरिरहेका छैनन् । सोमबारदेखि नै सबैजसो सेवाग्राही कार्यालयमा भीडभाड छ, न त कार्यालयहरूले नै प्रोटोकलअनुसार सामाजिक दुरी पालना गराउन डोरी बाँध्ने, चिह्न अंकित गर्ने काम गरेका छन्, न त सेवाग्राहीले नै पालना गरेका छन् ।
राजधानीको सानो भ¥याङस्थित यातायात कार्यालयमा शुक्रबार दिउँसो करिब ३ सय जना सेवाग्राहीको भीड थियो । सामाजिक दुरीको पालना नगरी सेवाग्राही लाममा बसेका थिए । भीडमा झन्डै एक तिहाइले मास्कसमेत लगाएका थिएनन् । यस्तो भीड जिल्ला प्रशासन, मालपोत, यातायात, वाणिज्य विभाग, राजस्वजस्ता प्रायः सबैजसो सेवाग्राही कार्यालयमा दिनहुँ लाग्ने गरेको छ ।
सेवाग्राही कार्यालयमा मात्र होइन सिंहदरबारभित्रै समेत सामाजिक दुरीको नियम राम्ररी पालना भएको छैन । १० फिट लब्बाइ र १० फिट चौडाइका कोठामा समेत ५÷६ जनासम्म कर्मचारीहरू बसेर काम गरिरहेका भेटिन्छन् । ठाउँको अभावमा सामाजिक दुरीको नियम पालना हुने गरी एउटा कुर्चीदेखि अर्कोबीचको फासला कायम गरिएको छैन । 
मन्त्रालयहरूमा सचिव, सहसचिव, उपसचिव तथा सेवाग्राही कार्यालयमा प्रमुखको कार्यकक्षमा मात्र सामाजिक दुरीको नियम पालना भइरहेको छ, किनकि उनीहरूको कार्यकक्ष फराकिलो छ । बाँकी शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीबीचमा अफिसभित्र पनि सामाजिक दुरीको पालना गर्न सम्भव नरहेको सरकारी अधिकारी नै बताउँछन् ।
कार्यालयहरूमा मात्र होइन राजधानीकै सरकारी अस्पतालहरूमा समेत प्रोटोकलको खिल्ली उडाइएको छ । सबभन्दा ठूलो सरकारी अस्पताल वीर र सँगैको ट्रमा सेन्टरमा समेत औषधि किन्ने र डाक्टरसित जचाउन लाइन बस्ने ठाउँमा सामाजिक दुरीको पालना गर्ने गराउने गरिएको छैन, स्यानिटाइजरसमेत राखिएको छैन । 
सरकारी अस्पतालहरूमा सर्वसाधारणको सहज पहुँच हुने गरी स्यानिटाइजरसमेत राखिएको पाइएन । ठूला अस्पतालमा बिल काट्नका लागि लाममा बस्ने ठाउँमा मात्र सामाजिक दुरीको पालना भइरहेको छ ।
प्रोटोकलमा सेवाग्राहीले अनलाइन भुक्तानीको व्यवस्था मिलाउने भनिएको छ । तर, सेवाग्राहीले बैंकमा रकम बुझाएर त्यसको भौचर ल्याई कार्यालयमा बुझाउनु परिरहेको छ । अझ अस्पतालमा त सेवाग्राहीले पैसा तिरेरै बिल काट्नु परिरहेको छ ।
धेरैजसो सेवाग्राही कार्यालयमा न त प्रवेशद्वारको नै व्यवस्था छ, न ज्वरो नाप्ने उपकरण थर्मल गन नै छन् । सेवाग्राहीहरू कार्यालयमा त्यत्तिकै प्रवेश गर्ने गरेका छन् । प्रवेशद्वारमा ज्वरो नाप्ने व्यवस्था भएका सेवाग्राही कार्यालय एकाधमात्र छन् ।
धेरैजसो कार्यालयमा न त स्यानिटाइजरको व्यवस्था छ, न त हात धुने व्यवस्था नै । व्यवस्थित प्रवेशद्वार भएका मन्त्रालय, केन्द्रीय कार्यालय र विभागहरूमा मात्र ज्वरो नापेर भित्र छिर्न दिने व्यवस्था छ । जबकि नीतिगत काममात्र हुने त्यस्ता कार्यालयमा सेवाग्राही खासै आउँदैनन् ।
कतिपय सेवाग्राही मास्कसमेत नलगाई कार्यालयमा आउने र सामाजिक दुरी पालना गराउन अंकित चिह्नको समेत मतलब नगर्ने समस्या रहेको कर्मचारी बताउँछन् ।
कार्यालय, कर्मचारी र सेवाग्राही तीनैथरी हेल्थ प्रोटोकलअनुसारको मापदण्ड राम्ररी पालना नगरेका कारण सरकारी कार्यालयबाटै कोरोना संक्रमण फैलने त्रास बढेको छ । बढी जनसम्पर्क हुने कार्यालयबाट संक्रमण फैलियो भने स्थिति भयावह हुन सक्ने चिन्ता सेवाग्राही र कर्मचारीले व्यक्त गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारी सिंहदरबारसहित अधिकांश सरकारी कार्यालयमा हेल्थ प्रोटोकलको पालना भइरहेको दाबी गरे । प्रोटोकल लागू गराउने क्रममा कमीकमजोरी गरेका कार्यालयहरूलाई समेत सरकारले सतर्कता अपनाउन ताकेता गरिरहेको जानकारी उनले दिए ।
उनले सबै सरकारी कार्यालयमा थर्मल गन, पीपीई, स्यानिटाइजर, पञ्जा र मास्कको व्यवस्था गर्न सरकारले आवश्यक बजेट दिने बताए । ‘सबै कार्यालयले हेल्थ प्रोटोकलमा तोकिएका मापदण्ड लागू गर्न आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न सक्छन्, आ–आफ्नो मन्त्रालयमा खरिदको बिल पेस गरेपछि सरकारले आवश्यक बजेट दिन्छ ।’

No comments:

Post a Comment