Monday, June 1, 2020

बढी जोखिमयुक्त क्षेत्रमा कोरोना कोषको रकम खर्च गर्न सुरु

पहिलोपटक सवा ५ करोड निकासा
काठमाडौं, १९ जेठ– सरकारले ‘कोराना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा भएको रकम जोखिम बढी भएको क्षेत्रमा खर्च गर्न थालेको छ । 
योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल संयोजक रहेको सञ्चालक समितिको निर्णयअनुसार सरकारले कोषबाट कोरोनाको जोखिमयुक्त क्षेत्रका अस्पताल र जिल्ला प्रशासन कार्यालयलाई ५ करोड १७ लाख ७९ हजार रुपैयाँ रकम निकासा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार कोरोना कोषबाट रकम पाउनेमा ८ वटा अस्पताल र स्वास्थ्य संस्था तथा १७ वटा जिल्ला प्रशासन कार्यालय छन् । कोषबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद काठमाडौंलाई १ करोड ३९ लाख ७९ हजार, कोसी अस्पताल विराटनगरलाई १ करोड, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताललाई ६८ करोड, डडेल्धुरा अस्पताललाई ६० लाख, जीपी कोइराला राष्ट्रिय स्वास प्रश्वास केन्द्र तनहुँलाई ३५ लाख र भरतपुर अस्पताललाई २० लाख, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, मकवानपुरलाई ५ लाख रुपैयाँ निकासा गरिएको छ ।

इलाम, झापा, मोरङ, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला जिल्ला प्रशासन कार्यालयलाई ५ लाख रुपैयाँका दरले रकम पठाइएको जानकारीसमेत मन्त्रिपरिषद कार्यालयका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार पहिलो चरणमा बढी जोखिम र बजेट भएका अत्यावश्यक क्षेत्रमा रकम पठाइएको हो । दोस्रो चरणमा बजेट माग भएका क्षेत्रको जोखिम अध्ययन गरी आवश्यकताअनुसार रकम पठाइने छ । 
लकडाउनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतका स्थापना गरिएको कोरोना कोषमा दाताहरूबाट झन्डै साढे दुई महिनाको २ अवधिमा करिब २ अर्ब ३१ करोड रुपैयाँ जम्मा भइसकेको छ । कोषमा रकम जम्मा हुने क्रम जारी छ ।

No comments:

Post a Comment