Tuesday, June 9, 2020

तीन जनाको सचिवमा बढुवा, एक जनाको सरुवा

काठमाडौं, २७ जेठ– सरकारले न्याय सेवा समूहका वरिष्ठ सहसचिवद्वय उदयराज सापकोटा र धनराज ज्ञवालीलाई सचिवमा बढुवा गरेको छ । सामान्य प्रशासन समूहतर्फको रिक्त सचिवमा सहसचिव  विष्णु नेपाललाई बढुवा गरिएको छ ।
मन्त्रिपरिषद बैठकले न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवातर्फको रिक्त दुई सचिवमा सापकोटा र ज्ञवालीलाई बढुवा गरेको हो । 

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा रहेको बढुवा समितिले सामान्य प्रशासन समूहको रिक्त सचिवमा पदोन्नति गर्न गोकर्णमणि दुवाडी, मानबहादुर बिके र विष्णु नेपालको सिफारिस गरेको थियो । मन्त्रिपरिषदले तेस्रो नम्बरमा सिफारिस भएका नेपाललाई सचिवमा बढुवा गरेको हो ।

सरकारले सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोग, ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र नेपाललाई अतिरिक्त समूहमा पदस्थापन गरेको छ । सापकोटा अर्थमन्त्रालय र ज्ञवाली कानुन मन्त्रालय र नेपाल पर्यटन मन्त्रालयमा सहसचिव थिए ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव ऋषिराज भण्डारीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र कानुन मन्त्रालयमा न्याय सेवातर्फका दुई सचिव पद रिक्त थिए । सामान्य प्रशासन समूहतर्फ शिक्षा, श्रम र सञ्चार मन्त्रालयमा गरी तीन सचिव पद रिक्त भएकामा नेपालको मात्र बढुवा भएको हो । 
निजामती सेवा ऐनमा सामान्य प्रशासन समूहतर्फ फरक फरक मितिमा रिक्त भएका पदमा फरक फरक मितिमा नै बढुवा गर्ने व्यवस्था भएकाले पहिलो चरणमा एक जनाको मात्र पदोन्नति गरिएको जानकारी सामान्य प्रशासन मन्त्रालय स्रोतले दिएको छ । स्रोतका अनुसार बाँकी दुई पदमा समेत भिन्नभिन्नै मितिमा बढुवा गरिने छ ।

No comments:

Post a Comment