Thursday, June 18, 2020

घूस प्रकरणमा मालपोत प्रमुख अधिकारी हटाइए

६ कर्मचारी घूससहित पक्राउ
काठमाडौं, ३ असार– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घूस प्रकरणमा संलग्न रहेको आशंकामा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख (उपसचिव) गोविन्द अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयका ६ कर्मचारीलाई मंगलबार घूससहित पक्राउ गरेको भोलिपल्टै मन्त्रालयले प्रमुख अधिकारीलाई समेत उक्त प्रकरणमा कारबाही गर्न जिम्मेवारीबाट हटाएको हो ।

अधिकारीलाई बुधबार नै भूमि व्यवस्था विभागमा तानिएको छ । मन्त्रालयले कार्यालयका वरिष्ठ अधिकृतलाई कायममुकायम प्रमुखको जिम्मेवारी तोकेको छ । ‘अधिकारीलाई मालपोत कार्यालयबाट तानी विभागमा हाजिर गराइएको छ’ मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भने ।
मन्त्रालयले घूस प्रकरणमा अधिकारी प्रत्यक्ष नजोडिए पनि अप्रत्यग्क्ष रूपमा संलग्न रहेको पाइएकाले मन्त्रालय आफैंले छानबिन गरी कारबाही गर्न लागेको हो । अख्तियारले मंगलबार अपराह्न मालपोत कार्यालयका छ कर्मचारीलाई ८ लाख ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको थियो ।
पक्राउ परेकामा मालपोल अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा र गोपाल खड्का, खरिदार दीपक खनाल, नवराज घिमिरे र नारायणप्रसाद पोखरेल छन् । उनीहरूलाई अख्तियारको हिरासतमा राखिएको छ । लकडाउनका कारण लामो समय बन्द रहेका मालपोत कार्यालयहरू सोमबारदेखि खुलेका थिए ।


No comments:

Post a Comment