Thursday, June 11, 2020

बर्खास्त गर्ने चेतावनीपछि रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्वारा राजीनामा

काठमाडौ, २८ जेठ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसितको अन्तर्वार्ताका कारण सरकारको निरन्तर दबाब र पेलाइमा परेका रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । 
उनले आफ्नो पदावधि ७ महिना बाँकी छँदै राजीनामा दिएका हुन् । कार्कीले सञ्चार मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई मंगलबार राजीनामापत्र बुझाएको जानकारी स्रोतले दिएको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले कार्कीको राजीनामा स्वीकृत गर्ने छ । 
सञ्चार मन्त्रालयबाट तत्काल पद त्याग नगरे मन्त्रिपरिषदले बर्खास्त गर्ने चेतावनी आएपछि उनले राजीनामा दिएको जानकारी स्रोतले दिएको छ । तर, उनले पत्रमा स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । उनी पहिलोपटक २०६९ मंसिरमा चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएका थिए । पहिलो कार्यकार्ल पूरा गरेपछि उनी २०७३ माघमा पुुनः ४ वर्षका लागि नियुुक्त भएका हुन् ।


गत वैशाख १५ गते रेडियो नेपालमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अन्तर्वार्ता प्रसारण भएकामा आपत्ति प्रकट गर्दै मन्त्रिपरिषद र मन्त्रालयले कार्कीसँग स्पष्टीकरण सोधेका थिए ।
पूर्वप्रधानमन्त्री भट्टराईले रेडियो नेपालसितको अन्तर्वार्तामा प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका थिए । सरकारी सञ्चार माध्यम रेडियो नेपालबाट प्रसारित अन्तर्वार्तामा 
प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको आरोप लगाउँदै मन्त्रिपरिषद र मन्त्रालयले कार्यकारी निर्देशक कार्कीलाई पदबाट हटाउन स्पष्टीकरण सोधेका हुन् । अन्तर्वार्ता रेडियो नेपालकै पत्रकार नवराज लम्सालले लिएका थिए । मन्त्रालयले लम्सालसित समेत स्पष्टीकरण सोधेको थियो ।
मन्त्रिपरिषद र मन्त्रालयको स्पष्टीकरणपत्र पाउनासाथ कार्कीले विज्ञप्ति जारी भट्टराईसित लिएको अन्तर्वार्ताका लागि सार्वजनिक रूपमा माफी माग्नुका साथै अबदेखि अन्तर्वार्ताको अतिथि चयन गर्दा ध्यान दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । उनकै निर्देशनमा रेडियो नेपालको अनलाइनबाट उक्त अन्तर्वार्ता हटाइएको थियो । कार्कीले मन्त्रिपरिषद र मन्त्रालयलाई स्पष्टीकरणको लिखित जवाफसमेत पठाइसकेको जानकारी स्रोतले दिएको छ ।


No comments:

Post a Comment