Tuesday, March 6, 2012

लेखा समितिद्वारा द्रुत मार्गको काम सुचारु गर्न निर्देशन

काठमाडौं, २३ फागुन- संसदको सार्वजनिक लेखा समितिले काठमाडौं-तराई जोड्ने द्रुत मार्गको स्थगित निर्माणको काम सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले मंगलबार मुख्यसचिव माधव घिमिरे रक्षा सचिव माधव रेग्मी र भौतिक योजना तथा निर्माण सचिव तुलसी सिटौलालाई पत्र पठाई द्रुत मार्गको काम सुचारु गर्न निर्देशन दिएको हो ।
समितिले द्रुत मार्गमा अनियमितता भएको सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको तर आफ्नो मनसाय काम रोक्नु भन्ने नभएको उल्लेख गर्दै सरकारलाई निर्माण सुचारु गर्न आग्रह गरेको जानकारी समितिका सचिव सोमबहादुर थापाले दिए ।
संसदको सार्वजनिक लेखा समितिले फास्ट ट्र्याकमा भ्रष्टाचार भएको आशंकामा छानबिन गर्न अध्ययन उपसमिति गठन गरेपछि नेपाली सेना असन्तुष्ट भई निर्माणको जिम्मा लिएको नेपाली सेनाले काम रोकेको थियो ।
सरकारले द्रुत मार्गलाई राष्ट्रिय गौरवका परियोजनाका रुपमा अघि सारेको छ ।सेनाले आफूले जुन प्रकि्रयाबाट निर्माण गरेको हो त्यसैमा प्रश्न उठाएर संसदीय समितिले छानबिन थालेपछि त्यसको निरुपण नभइन्जेलसम्मका लागि काम रोकेको जानकारी भौतिक योजना तथा निर्माण मन्त्रालयलाई गराएको छ ।

No comments:

Post a Comment