Thursday, March 29, 2012

सामान्य प्रशासनले प्रहरी राखेर सरुवाको पत्र बाँड्ने थाल्यो

काठमाडौं, १६ चैत- सामान्य प्रशासन मन्त्रालयले आफ्नो परिसरमा व्यापक प्रहरी तैनाथ गरी माघ महिनामा आफूले गरेको करिब २ हजार विवादित सरुवाको पत्र सम्बन्धित कर्मचारीलाई दिन थालेको छ ।
सामान्य प्रशासनले उपसचिवदेखि कार्यालय सहयोगीसम्म १ हजार ८ सय ९ जना कर्मचारीलाई विभिन्न मन्त्रालयमा सरुवा गरेको थियो । तर कर्मचारी संगठनहरुको विरोध र दादागिरीका कारण सरुवापत्र सम्बन्धित व्यक्तिलाई दिन नसकेपछि स्थानान्तरण स्थगित भएको थियो ।
मन्त्रिपरिषदले हालै निजामती नियमावली संशोधन गरी सामान्य प्रशासनले चैतमा सरुवा गर्न सक्ने कानुनी व्यवस्था गरेको छ । त्यही व्यवस्थालाई टेकेर सामान्यले प्रहरी राखेर दुई मूल गेटमध्ये एउटा मन्त्रालय प्रवेश गर्ने दुइटा ढोकामध्ये एउटा बन्द गरी सरुवा भएका व्यक्तिलाई पत्र थमाउन थालेको हो । मन्त्रालयमा प्रवेश गर्दा पनि प्रहरीले परिचयपत्र हेरी काम सोधेरमात्र भित्र प्रवेश दिने गरेको छ । मन्त्रालयमा बिहीबार ५० भन्दा बढी प्रहरी तैनाथ थिए ।
सामान्य प्रशासनले सरुवा भएकामध्ये उपसचिवहरुलाई बुधबार र शाखा अधिकृतहरुलाई बिहीबार सरुवाको पत्र बाँडेको हो । शुक्रबार नायव सुब्बा र त्यसपछि क्रमशः तल्लो तहका कर्मचारीलाई सरुवाको पत्र दिइने जानकारी सामान्यका एक अधिकारीले दिए ।
माघमा सरुवा भएका उपसचिव र शाखा अधिकृतमध्ये ५ प्रतिशतले मात्र सरुवाको पत्र पाएका छैनन् । मापदण्डविपरीतको सरुवा सच्याउने क्रममा उनीहरुले पत्र नपाएको जानकारी स्रोतले दिए ।

No comments:

Post a Comment