Tuesday, March 13, 2012

वैदेशिकबाट भट्टराई हटाइए नयाँ महानिर्देशकमा बीके

काठमाडौं, ३० फागुन- श्रम तथा यातायात मन्त्रालयले वैदेशिक रोजगार विभागमा रहेको भ्रष्टाचार नियन्त्रण गर्न महानिर्देशकको जिम्मेवारी दिई पठाइएका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई पाँच महिनामै मन्त्रालयमा फिर्ता गरेको छ ।
विभागमा भ्रष्टाचार अधिकमात्रामा हुने गरेको रिपोर्ट पाएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले त्यहाँको अनियमितता नियन्त्रण गर्न नेतृत्वमा स्वच्छ व्यक्ति पठाउन दबाब दिएपछि श्रम मन्त्रालयले तत्कालीन महानिर्देशक नरेन्द्र शर्मा जोशीलाई हटाई पूर्णचन्द्र भट्टराईलाई पठाएको हो ।
श्रम मन्त्री सरिता गिरीले मन्त्रालयस्तरीय निर्णय गरी विभागका महानिर्देशक भट्टराईलाई काजमा मन्त्रालयमा फिर्ता गरेकी हुन् । भट्टराई विभागमा तीन महिना काज र विधिवत सरुवा गरिएको डेढ महिनामात्र थियो ।
उनको पालामा विभागमा वैदेशिक रोजगारमा जाने गरीब नेपालीलाई दुःख दिएर हुने भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण भएको श्रम मन्त्रालयका अधिकारीहरु नै बताउँछन् । सरुवा हुनु केही समयअघिदेखि उनलाई मन्त्री गिरीको इशारामा विभागका निर्देशक र कर्मचारीहरुबाटै असहयोग हुन थालेको थियो ।
श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी मानबहादुर बीकेलाई दिएको छ । उनलाई श्रम विभागको महानिर्देशकबाट सरुवा गरी काजमा वैदेशिक रोजगार विभागमा पठाइएको हो ।

No comments:

Post a Comment