Monday, March 26, 2012

प्रधानमन्त्रीको निर्देशनमा नाइटभिजन हेलिकप्टरले घाइतेको उद्धार गर्ने

काठमाडौं, १३ चैत- प्रधानमन्त्री बाबुराम भट्टराईले बझाङ जिल्लामा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्तिहरुलाई नाइटभिजन हेलिकप्टर पठाई तत्काल उद्धार गरी उपचारका लागि राजधानी ल्याउन सोमबार साँझ नेपाली सेनालाई निर्देशन दिएका छन् ।
बझाङमा गम्भीर घाइतेको उपचार हुन नसकेपछि प्रधानमन्त्रीले प्रधानसेनापति छत्रमानिसंह गुरुङलाई तत्काल सेनाको नाइटभिजन हेलिकप्टर पठाएर घाइतेहरुको उद्धार गरी ल्याउन निर्देशन दिएको जानकारी उनका प्रेस सल्लाहकार रामरिझन यादवले दिएका छन् ।
नेपाली सेनाका प्रवक्ता रमीन्द्र क्षेत्रीले सोमबार राति नै नाइटभिजन हेलिकप्टर जाने तर राति उद्धार गर्न सम्भव नभए नेपालगन्जमा बसेर बिहान घटनास्थलतर्फ गई घाइतेहरुलाई ल्याउने जानकारी दिए । 'नाइटभिजन हेलिकप्टर उद्धारका लागि सोमबार राति नै घटनास्थलतर्फ जान्छन् राति सम्भव नभए हेलिकप्टर नेपालगन्जमा बसेर बिहान गएर घाइतेहरुको उद्धार गर्नेछ' क्षेत्रीले भने ।
गम्भीर घाइतेको बझाङमा उपचार सम्भव नभएपछि स्थानीयबासीले हेलिकप्टरबाट उद्धार गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको जानकारी स्रोतले दिएका छन् । दुर्घटनामा १६ जना गम्भीर घाइते छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

No comments:

Post a Comment