Thursday, March 15, 2012

जग्गाको किनबेच र नामसारीमा लेखनदासका दिन गए

काठमाडौं, २ चैत- भूमिसुधार मन्त्रालयले जग्गाको किनबेच तथा नामसारीको शुल्क र र मालपोत रकम तिर्ने क्रममा हुने आर्थिक अनियमितता नियन्त्रण गर्न काठमाडौं उपत्यकाका पाँचवटै मालपोत कार्यालयमा दस्तुर बैंंकबाट भुक्तानी लिने व्यवस्था लागू गरेको छ ।
भूमिसुधारमन्त्री भीमप्रसाद गौतमअनुसार सबभन्दा बढी जग्गाको कारोबार हुने राजधानीका दुई ठूला मालपोत कार्यालय चावहिल र डिल्लीबजारमा जग्गा रजिस्ट्रेसन नामसारीको दस्तुर र मालपोत रकम चैत १ देखि बैंकबाट लिन थालिएको छ ।
सरकारको सुशासन कार्यक्रमअन्तर्गत उपत्यकाका कलंकी, भक्तपुर र ललितपुर मालपोत कार्यालयमा समेत एक÷दुई दिनभित्रै जग्गा किनबेच र नामसारीको दस्तुर बैंकबाट लिन थालिने जानकारी उनले दिए ।
'चावहिल र मालपोत कार्यालयको राष्ट्रिय वाणिज्य बैंकबाट र कलंकी, ललितपुर र भक्तपुर मालपोत कार्यालयको नेपाल बैंकबाट जग्गा किनबेच र नामसारीको दस्तुर र मालपोत रकम लिने व्यवस्था गरिएको छ । दुवै बैंकसित त्यसबारेमा सम्झौता भएको छ । नेपाल बैंकले एक/दुई दिनभित्रै जग्गा किनबेच तथा नामसारीको दस्तुर र मालपोत रकम बुझ्न थाल्नेछ' गौतमले भने ।
जग्गा किनबेच नामसारी दस्तुर र मालपोत रकम बैंकमा बुझाएर भौचर मालपोत कार्यालयमा बुझाए हुने व्यवस्थापछि लेखनदास र कर्मचारीबाट दस्तुर तिर्ने क्रममा हुने भ्रष्टाचार नियन्त्रण हुने विश्वास गौतमले व्यक्त गरे । उनका अनुसार बैंकमा दस्तुर तिर्ने व्यवस्था लागू गरेपछि उपभोक्ता मालपोत कार्यालयमा लाइनमा बस्नुपर्ने बाध्यताको समेत अन्त्य हुनेछ ।
'लेखनदासको भर पर्नुपर्दा कर्मचारीलाई यति दिनुपर् यो मेरो पारिश्रमिक यति लाग्यो भनेर उपभोक्ता ठगिने गरेका थिए अब उपभोक्ताले त्यस्तो दुःख पाउने छैनन् थप पैसासमेत तिर्नुपर्ने छैन' मन्त्री गौतमले भने । लेखनदासहरुले बैंकमा दस्तुर तिर्ने व्यवस्थाको विरोध गरेको जानकारी उनले दिए । तर विरोधका बीच सरकारले यो व्यवस्थालाई कार्यान्वयन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । यी पाँच ठाउँको अनुभव हेरेर अरु ठूला सहर विराटनगर पोखरा भैरहवा नेपालगन्ज धनगढीलगायतका मालपोत कार्यालयमा पनि बैंकिङ च्यानलबाट दस्तुर लिन थालिने जानकारी गौतमले दिए । त्यसपछि क्रमशः सबै कार्यालयमा व्यवस्था लागू गरिनेछ ।

No comments:

Post a Comment