Wednesday, March 14, 2012

प्रधानमन्त्रीले राज्यको ढुकुटीबाट जथाभावी पैसा बाँड्न थाले

काठमाडौं, १ चैत- प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना पूर्ववर्ती प्रधानमन्त्रीहरुले जस्तै आफ्ना पार्टी माओवादीका नेताको सिफारिसमा कार्यकर्ता र आफन्तलाई आर्थिक सहायता वितरण गर्न थालेका छन् । एक महिनामा भट्टराईले प्रधानमन्त्री सहायता कोषबाट ७ लाख रुपैयाँभन्दा बढी बाँडिसकेका छन् ।
प्रधानमन्त्री हुनासाथ मन्त्रिपरिषद र प्रधानमन्त्री सहायता कोषबाट आर्थिक सहायता वितरणमा रोक लगाएका भट्टराईले एक महिनादेखि रकम बाँड्न थालेको जानकारी उनी निकट स्रोतले दिएका छन् । भट्टराईले प्रधानमन्त्री सहायता कोषबाट आफन्त र कार्यकर्तालाई रकम बाँड्न थालेका हुन् । भट्टराईले प्रधानमन्त्री सहायता कोषमा अर्थमन्त्रालयबाट मागी १५ लाख रुपैयाँ राखेका थिए ।
'एक महिनामा कोषमा रहेको १५ लाख रुपैयाँमध्ये आधाभन्दा बढी प्रधानमन्त्रीले आफ्ना प्रमुख स्वकीयसचिवमार्फत् आफ्ना पार्टीका कार्यकर्तालाई बाँडिसकेका छन् । पछिल्लो समयमा प्रधानमन्त्री सहायता कोषबाट रकम बाँड्ने क्रमलाई तीव्र बनाइएको छ । बाँकी रकम एक महिनालाई पनि नपुग्ने स्थिति छ' भट्टराई निकट स्रोतले भने ।
स्रोतका अनुसार प्रधानमन्त्रीले आफ्नो पार्टी कार्यकर्तालाई घटीमा १० र बढीमा २५ हजार रुपैयाँका दरले रकम बाँड्दै आएका छन् । कोषमा रकम सकिनासाथ प्रधानमन्त्री कार्यालयले पुनः अर्थमन्त्रालयसित रकम माग्न तयारी गरेको छ ।
भट्टराईका पूर्ववर्तीहरु पुष्पकमल दाहाल नौ महिनामा १ करोड र माधवकुमार नेपालले डेढ वर्षमा प्रधानमन्त्री सहायता कोषबाट आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई डेढ करोड रुपैयाँभन्दा बढी बाँडेका थिए । सात महिनामात्र प्रधानमन्त्री भएका झलनाथ खनालले पनि ५० लाख रुपैयाँभन्दा बढी रकम बाँडेका थिए ।

No comments:

Post a Comment