Monday, March 12, 2012

महिला आयोगमा तीन सदस्य नियुक्त

काठमाडौं, २९ फागुन- सरकारले महिला आयोगमा रिक्त तीन सदस्यमा उर्मिलादेवी विश्वकर्मा, मनु हुमागाईं केसी र धनेश्वरीकुमारी चौधरीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले महिला मन्त्रालयको सिफारिसमा आयोगमा चार वर्षका लागि तीन सदस्य नियुक्त गरेको जानकारी भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले दिए ।
मन्त्रिपरिषदले तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारको पालामा समाजकल्याण परिषदमा नियुक्त उपाध्यक्ष दाताराम खनाल, कोषाध्यक्ष रत्नबहादुर गाह मगर र सदस्यसचिव डा. सेवान नामग्याल लामासहित तीन जनालाई हटाएर नयाँ नियुक्ति गरेको छ । परिषदको उपाध्यक्षमा प्रमोद मेहता, कोषाध्यक्षमा कुाजबिहारी चौधरी र सदस्यसचिवमा रवीन्द्र कुमारलाई नियुक्त गरिएको छ ।
यसैबीच सरकारले झापाका चार पाखामारी, अर्जुनधारा चारपाने, चाङगलुगा,  कुमारखोला खोला गाविस र सुनसरीको नरिसंह टापु गाविसका निश्चित क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा बर्ड फ्लु नियन्त्रण गर्न स्वास्थ्य र कृषि मन्त्रालयलाई प्रभावकारी कदम चाल्न मन्त्रिपरिषदले निर्देशन दिएको छ ।
छानबिन समिति गठन
मन्त्रिपरिषदले सिराहा लक्ष्मीनियाँ-४ का एमाले कार्यकर्ता छेदी यादवको हत्या भएको सम्बन्धमा जाँचबुझ गर्न पुनरावेदनका पूर्व मुख्य न्यायाधीश यामनारायण धितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । यादवको हत्यासम्बन्धमा एमालेले छानबिन आयोग गठनको माग गर्दै आएको थियो ।

No comments:

Post a Comment