Wednesday, March 28, 2012

घोषितलाई प्रदान नगरी पुनः विभूषण दिन नाम सिफारिस गर्ने तयारी

काठमाडौं, १५ चैत- सरकारले दुई वर्षअघि घोषित विभिन्न व्यक्तिहरुलाई विभूषण मानपद्वी, पदक र अलंकर प्रदान नगरीकन पुनः नयाँ व्यक्तिहरुलाई दिन प्रकि्रया सुरु गरेको छ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा हालै बसेको विभूषण समितिको बैठकले निर्णयअनुसार गृह मन्त्रालयले सबै मन्त्रालय केन्द्रीय कार्यालय संवैधानिक निकाय क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुलाई मानपदवी पदक र अलंकारका लागि सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर् याएका व्यक्तिहरुको नाम सिफारिस गर्न आग्रह गरेको छ ।
सबै केन्द्रीय कार्यालयलाई मानपद्वी, पदक र अलंकार दिनका लागि विशिष्ट योगदान पुर् याएका व्यक्तिका नाम चैत मसान्तभित्र विभूषण समितिलाई सिफारिस गरिसक्न आग्रह गरिएको जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिए । गणतन्त्र दिवसका दिन मानपद्वी पदक र अलंकार पाउने व्यक्तिहरुको नाम राष्ट्रपति रामवरण यादवबाट घोषणा गराउने तयारी विभूषण समितिको छ । विभूषण समितिको सिफारिसमा मन्त्रिपरिषदले मानपद्वी, पदक र अलंकार पाउने व्यक्तिको नाम तय गर्छ र राष्ट्रपतिले गणतन्त्र दिवसका दिन मन्त्रिपरिषदको सिफारिसमा विभूषण पाउने व्यक्तिहरुको नाम घोषणा गर्ने कानुनी व्यवस्था छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति यादवले २०६७ जेठ १५ मा मानपद्वी पदक र अलंकार पाउने २ सय ६९ जना व्यक्तिको नाम घोषणा गरेका थिए । तर दुई वर्षको अवधिमा २०६७ मा घोषित व्यक्तिका लागि मानपद्वीको निर्माण कार्यमात्र सुरु भएको छ । मानपद्वीको निर्माण गर्न अझै दुई महिना लाग्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार २०६७ मा घोषित व्यक्तिका लागि प्रदान गरिने पदक र अलंकार निर्माण कार्य अझै सुरु नै भएको छैन ।
विभूषण समितिले अघिल्लो वर्ष सबै मन्त्रालय केन्द्रीय कार्यालय संवैधानिक निकाय क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुसित सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा विशिष्ट व्यक्तिहरुलाई नाम सिफारिस लिएर मानपदवी, पदक र अलंकार प्रदान गर्नका लागि ३० जनाको नाम मन्त्रिपरिषदसमक्ष प्रस्ताव गरेको थियो । तर तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषदले त्यतिबेला २०६७ मा घोषित व्यक्तिहरुलाई नै मानपद्वी पदक र अलंकार प्रदान गर्न बाँकी रहेकाले नयाँ नाम सिफारिस नगर्ने निर्णय गरेको थियो ।
विभूषण समितिले दुई वर्षअघि घोषित व्यक्तिहरुलाई प्रदान नगरी पुनः यस वर्ष मानपद्वी पदक र अलंकारका लागि नयाँ नाम सिफारिस माग्नु नै गलत भएको गृहकै अधिकारी बताउँछन् । गणतन्त्र आउनुअघि तत्कालीन राजाबाट हरेक वर्ष मानपद्वी पदक र अलंकार प्रदान गरिन्थ्यो । तर २०६३ मा लोकतन्त्र बहाली भएपछि विभूषण ऐन २०६३ र २०६५ मा विभूषण नियमावली बनाइए पनि २०६७ जेठमा मात्र पहिलोपटक २ सय ६९ जनालाई मानपद्वी पदक र अलंकार प्रदान गर्ने घोषणा गरिएको थियो तर २ वर्ष भइसक्ता पनि घोषित व्यक्तिहरुले विभूषण पाउन सकेका छैनन् ।

No comments:

Post a Comment