Thursday, March 29, 2012

बोक्सीको आरोपमा आँखा फुटाइकी पुडासैनीलाई २ लाख

काठमाडौं, १६ चैत- सरकारले राजधानीको जोरपाटीमा बोक्सीको आरोपमा आफन्तले नै आक्रमण गरी दुइटै आँखा फुटाइएकी सुनिता पुडासैनीलाई राहतस्वरुप २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार अपराह्न बसेको बैठकले पुडासैनीलाई राहत दिने तथा आक्रमणमा उनी र सँगै घाइते भएका अरु व्यक्तिको उपचार खर्चसमेत सरकारले बेहोर्ने निर्णय गरेको जानकारी अर्थमन्त्री वर्षमान पुनले दिए ।
पुनका अनुसार कथित बोक्सीको आरोपमा हत्या आक्रमण हेय गर्नेजस्ता निकृष्ट कार्यलाई निरुत्साहित गर्न मन्त्रिपरिषदले कडा कानुन बनाउन विधेयक निर्माण गर्ने र छिट्टै संसदमा लाने सैद्धान्तिक निर्णय गरेको छ । उनले जोरपाटीमा बोक्सीमा आरोपमा संगीन आक्रमणमा संलग्न दोषी व्यक्तिहरुलाई कानुनी कारबाही गर्ने निर्णय मन्त्रिपरिषदले गरेको जानकारीसमेत दिए ।
उनले वैसाख ६ देखि ८ सम्म हुने वातावरणसम्बन्धी विश्व शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा जाने प्रमण्डलसमेत स्वीकृत गरेको छ । मन्त्रिपरिषदले विश्व प्रसिद्ध साइकलयात्री एवंं इटालियन पत्रकार भिक्टोरियालाई सगरमाथा आरोहणमा लाग्ने सलामी दस्तुर ५० प्रतिशत मिनाहा गर्ने निर्णयसमेत गरेको छ ।
सरकारले सेना समायोजन विशेष समिति मातहतको सचिवालयमा कार्यरत अस्थायी कर्मचारीहरुको म्याद वैसाख मसान्तसम्मका लागि थप गरेको छ । अर्थमन्त्री एवं विशेष समिति सदस्य पुनले म्याद वैसाख मसान्तसम्म म्याद थप्ने निर्णय गरेर सरकारले सेना समायोजन कार्य ढिलोमा वैसाख मसान्तमा सक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारीसमेत दिए ।

No comments:

Post a Comment