Monday, March 19, 2012

प्रधानमन्त्रीद्वारा विवादास्पद तीन मन्त्रीसित स्पष्टीकरण माग

काठमाडौं, ६ चैत- प्रधानमन्त्री बाबुराम भट्टराईले विवादास्पद निर्णय र अमर्यादित कि्रयाकलाप गरेका आफ्नै मन्त्रिपरिषदका एक मन्त्री र दुई राज्यमन्त्रीसित स्पष्टीकरण मागेका छन् । प्रधानमन्त्रीले श्रम तथा यातायातमन्त्री सरिता गिरी, स्वास्थ्य राज्यमन्त्री सरोज यादव र भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहसित मौखिक स्पष्टीकरण मागेको जानकारी उनका प्रेस सल्लाहकार रामरिझन यादवले दिएका छन् ।
यादवका अनुसार प्रधानमन्त्रीले दुई राज्यमन्त्रीलाई बालुवाटारस्थित आफ्नो निवासमा सोमबार बिहान बोलाई स्पष्टीकरण लिएका थिए । श्रममन्त्री गिरी आइतबार आफ्नो पार्टीको बैठक भएका कारण आइतबार स्पष्टीकरण दिन प्रधानमन्त्री कहाँ नगएको जानकारी स्रोतले दिएको छ । प्रधानमन्त्रीले गिरीसित सोमबार स्पष्टीकरण लिनेछन् ।
प्रधानमन्त्रीले स्वास्थ्य राज्यमन्त्री यादवलाई मादक पदार्थ सेवन गरी वीर अस्पतालमा गएर चिकित्सक कर्मचारी र पत्रकारलाई दुव्र्यवहार र अमर्यादित भाषामा किन गालीगलौज गरेको भनेर स्पष्टीकरण मागेको जानकारी प्रेस सल्लाहकार यादवले दिए । प्रधानमन्त्रीले त्यस्तो अमर्यादित व्यवहारले राज्यमन्त्री पदकै गरिमा घटाएको र सरकारको बद्नाम गराएको भन्दै अब आइन्दा त्यस्ता कि्रयाकलाप नगर्न चेतावनीसमेत दिएको स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीले भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहलाई आफ्नै मन्त्री भीमप्रसाद गौतमलाई भूमाफियासित मिलेर लाखौं भ्रष्टाचार गरी कर्मचारीहरुको सरुवा गरेको भनेर गैरजिम्मेवार अभिव्यक्ति किन दिएको भनेर स्पष्टीकरण लिएका थिए । उनले साहलाई आफ्नै मन्त्रीका विरुद्ध जथाभावी अभिव्यक्ति नदिन चेतावनी िदंदै मन्त्रालयका काममा कुनै कमीकमजोरी भएका छन् भने आफूलाई जानकारी गराउन र मन्त्रीसित समन्वय गरी कार्य गर्न निर्देशनसमेत दिएका थिए ।
प्रधानमन्त्रीले श्रममन्त्री गिरीसित वैदेशिक रोजगार विभागमा भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई किन मन्त्रालयमा काज सरुवा गरेको भनेर स्पष्टीकरण लिन लागेका हुन् । वैदेशिक रोजगारमा जान लागेका गरीब नेपालीलाई दुःख दिएर विभागमा हुने गरेको भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीकै निर्देशनमा भट्टराईलाई पाँच महिनाअघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो । उनी महानिर्देशक हुँदा विभागको भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण भएको र सुधारका कार्यक्रमसमेत कार्यान्वयन भइरहेका थिए ।
विभागमा भ्रष्टाचार नियन्त्रणका कामकारबाही र सुधारका कार्यक्रम प्रभावित हुने गरी किन भट्टराईलाई सरुवा गरेको भनेर प्रधानमन्त्रीले गिरीसित स्पष्टीकरण माग्ने जानकारी प्रेस सल्लाहकार यादवले दिए ।
यसैबीच श्रममन्त्री गिरीले भट्टराईको सरुवालाई लिएर आफूविरुद्ध प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्न मंगलबार पत्रकार सम्मेलन बोलाएकी छन् । गिरीले भट्टराईलाई आफूले सरुवा गर्नुपर्नाका कारण प्रस्ट पार्ने जानकारी स्रोतले दिएका छन् । मन्त्रालयका अधिकारीहरुले भने त्यसबारेमा श्रममन्त्रीलाई पत्रकार सम्मेलन नगर्न सुझाव दिएका थिए ।
स्वास्थ्य राज्यमन्त्रीलाई बर्खास्त गर्न माग
नेकपा एमालेले आइतबार साँझ मादक पदार्थ सेवन गरी वीर अस्पतालमा गएर चिकित्सक कर्मचारी र साचारकर्मीलाई अभद्र व्यवहार र अशिष्ट बोली वचनका सात ताण्डव नृत्य र दानवीय व्यवहार गर्ने स्वास्थ्य राज्यमन्त्री यादवलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसत माग गरेका छ । एमालेका तर्फबाट पार्टीको केन्द्रीय स्वास्थ्य जनसंख्या तथा वातावरण विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरी स्वास्थ्य राज्यमन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाटै चिकित्सक र कर्मचारीले अपमानित र असुरक्षित हुनुपरेको उल्लेख गर्दै त्यस्ता राज्यमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

No comments:

Post a Comment