Thursday, March 22, 2012

सौर्य ऊर्जाबाट ५० मेगावाट बिजुली उत्पादनका लागि पावर टेक कम्पनीलाई सर्वेक्षण लाइसेन्स


काठमाडौं, ९ चैत- ऊर्जा मन्त्रालयले पिपुल्स डेभलप्मेन्ट एन्ड पावर टेक कम्पनीलाई ठूलो स्केलमा सौर्य ऊर्जा सोलार पावर उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन गर्न लाइसेन्स दिएको छ । विद्युत् विकास विभागको प्रस्तावमा ऊर्जा मन्त्रालयस्तरीय निर्णयबाट तनहुँको मानुङडाँडामा सौर्य ऊर्जाबाट ५० मेगावाट विद्युत् उत्पादन गर्नका लागि सर्वेक्षण लाइसेन्स दिएको जानकारी स्रोतले दिएका छन् ।
ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार तनहुँको सदरमुकाम दमौली पारीको जामुने गाविसमा पर्ने अग्लो मानुङडाँडाको चुचुराको फराकिलो भागमा ठूल्ठूला सौर्य ऊर्जा प्यानल राखेर बिजुली उत्पादन गर्ने र त्यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना कम्पनीको छ ।
बिहानदेखि बेलुकासम्म घाम लागिरहने डाँडाको फराकिलो भागमा सोलार पावर स्टेसन स्थापना गरेर बाह्रै महिना ५० मेगावाट बिजुली गर्नका लागि सम्भाव्यता अध्ययन गर्न कम्पनीले लाइसेन्स लिएको हो ।
स्पेनिस लगानीकर्तासित संयुक्त लगानीमा सौंर्य ऊर्जा उत्पादन गर्ने योजना कम्पनीको छ । आवेदनमा कम्पनीले स्पेनिस लगानीकर्ता आउन तयार रहेको आवेदनमा उल्लेख गरेको छ । विद्युत् ऊर्जाभन्दा सौर्य ऊर्जा उत्पादन लागत दोब्बर पर्छ ।
एक मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न ३५ देखि ५० करोड रुपैयाँ लागत पर्छ जबकि जलविद्युत् उत्पादन गर्न प्रतिमेगावाट १५ देखि २० करोड रुपैयाँ लागत लाग्छ । ५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न १७ अर्ब ५० करोडदेखि २० अर्ब रुपैयाँसम्म लागत पर्न सक्ने अनुमान छ । सर्वेक्षणपछि लागत कति लाग्ने यकिन हुने जानकारी स्रोतले दिएको छ ।
हालसम्म वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सौर्य ऊर्जाबाट देशभर करिब ८ मेगावाट बिजुली उत्पादन गरिरहेको छ त्यसबाट देशभरका ४ लाख घरमा बिजुली बलेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक गोविन्द पोखरेलका अनुसार एक स्क्यायर मिटरको सोलार प्यानलबाट दैनिक ४ देखि ६ युनिट बिजुली निस्कन्छ ।

No comments:

Post a Comment