Thursday, September 12, 2013

सरकारले अब महासेनानी लामाको मुद्दामा खर्च नबेहोर्ने

‘लामाले बेलायतको पीआर लिइसकेकाले मन्त्रिपरिषदले खर्च नबेहोर्ने निर्णय गरेको हो’
काठमाडौं, २६ भदौ– सशस्त्र द्वन्द्वकालमा मानव अधिकार हनन गरेको अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका महासेनानी कुमार लामाको मुद्दाको प्रतिरक्षाका लागि सरकारले अब कानुनी उपचार खर्च नबेहोर्ने भएको छ ।
लामाले बेलायतको स्थायी बसोबास कार्ड (पीआर) लिइसकेको र त्यही कारण पक्राउ परेको हुनाले सरकारले उनको मुद्दाको प्रतिरक्षाका लागि अब उप्रान्त खर्च नबेहोर्ने निर्णय गरेको जानकारी परराष्ट्रमन्त्रालय स्रोतले दिएको छ । सरकारले निर्णयमा लामाको मुद्दामा खर्च नबेहोर्ने खास कारण भने उल्लेख गरेको छैन ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले परराष्ट्रमन्त्रालयको प्रस्तावमा लामाको मुद्दाको प्रतिरक्षाका लागि सरकारले थप आर्थिक दायित्व बेहोरिरहन कठिनाइ भएको भन्दै उनको मुद्दाको प्रतिरक्षाका लागि थप खर्च नगर्ने निर्णय गरेको जानारी एक मन्त्रीले दिए ।
‘लामाको भदौ २१ मा बेलायती अदालतमा भएको सुनुवाइसम्मको खर्च बेलायतस्थित नेपाली दुतावासबाट बेहोर्ने, त्यसपछि उनको मुद्दामा लाग्ने कुनै पनि खर्च सरकारले नबेहोर्ने निर्णय गरेको छ’ ती मन्त्रीले मन्त्रिपरिषदको निर्णय उल्लेख गर्दै भने ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लामाले मह“गो कानुन व्यवसायी राखेकाले उनको मुद्दामा करिब २ करोड रुपैया“ सरकारको खर्च भइसकेको छ, उक्त खर्च सरकारले बेलायतस्थित नेपाली दुताबासमार्फत् बेहोरेको थियो ।
अब बेलायती अदालतमा आफ्नो मुद्दाको प्रतिरक्षाका लागि लामा स्वयंले खर्च बेहोर्नुपर्ने भएको छ । ती मन्त्रीका अनुसार मन्त्रिपरिषदले भदौ २१ पछि लामा स्वयंलाई आफ्नो मुद्दाको प्रतिरक्षा खर्च बेहोर्न रक्षा मन्त्रालयमार्फत् निर्देशन दिएको छ ।
‘मन्त्रिपरिषदले लामाको मुद्दामा अब उप्रान्त लामा स्वयंले नै कानुनी सहायताको खोजी गरी मुद्दाको प्रतिरक्षा गर्न रक्षा मन्त्रालयमार्फत् उनलाई निर्देशन दिएको छ’ स्रोतले भने ।
यसअघि लामा पक्राउ पर्नेबित्तिकै मन्त्रिपरिषदले उनको मुद्दाको प्रतिरक्षाका लागि लाग्ने सम्पूर्ण उपचार खर्च बेहोर्ने र र रिहाइका लागि बेलायती सरकारसमक्ष पहल गर्ने निर्णय गरेको थियो ।
दुई महिना लामो हिरासतपछि लामा १० हजार पाउन्ड धरौटीमा बेलायत छाड्न नपाउने शर्तमा रिहा भएका थिए ।  लामा सशस्त्र द्वन्द्वकालमा हिरासतमा रहेका राउत थरका निहत्था व्यक्तिलाई यातना दिई मानव अधिकार हनन गरेको अभियोगमा गत पुस १९ मा लन्डनमा पक्राउ परेका थिए । सुडान मिसन प्रमुखका रूपमा कार्यरत लामा लन्डनस्थित आफ्नो घरमा रहेकी पत्नीलाई भेट्न पुगेका बेला बेलायती प्रहरीले पक्राउ गरेको हो ।
द्वन्द्वकालीन अपराधका घटनाविरुद्ध वकालत गरिरहेको एड्भोकेसी फोरमको पहलमा उनी पक्राउ परेका हुन् । पीडितले एड्भोकेसी फोरमको सहयोगमा लामाविरुद्ध बेलायती प्रहरीमा जाहेरी दिएका थिए । एड्भोकेसी फोरम र लन्डनस्थित हिकम्यान एण्ड रोजले लामाविरुद्धको कानुनी लडाइमा साथ दिएका छन् ।

No comments:

Post a Comment