Monday, September 2, 2013

अख्तियारद्वारा १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

मुद्दा दायर भएकाहरू
  • नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख सिंहसहित चार जना
  • सडक डिभिजन कार्यालय चितवनका प्रमुख महासेठसहित ६ जना
काठमाडौं, १६ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुखसहित चार जना र सडक डिभिजन कार्यालय, भरतपुरका सिनियर डिभिजनल इन्जिनियरसहित ६ जना विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डा. अखिलेशप्रसाद सिंह, अस्पताल विकास समितिका अध्यक्ष बाबुलालप्रसाद यादव तथा सदस्यद्वय रेखा घिमिरे र राधेश्याम साह सोनारविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले अस्पताल विकास समितिमा दरबन्दी नै नभएको ठाउ“मा अख्तियारको दुरुपयोग गरी आफू अनुकूलका २४ जना कर्मचारी गैरकानुनी तबरबाट नियुक्ति गरी तलबभत्तासमेत खुवाएर भ्रष्टाचार गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले मुद्दामा उनीहरूलाई गैरकानुनी रूपमा कर्मचारी नियुक्ति गरी खुवाएको तलबभत्तालाई बिगो कायम गरी रकम तिराउन तथा बिगोबराबरको जरिवाना र डेढ वर्षसम्मको कैद सजाय गर्न मागदाबी गरेको छ ।
त्यसैगरी अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख वीरेन्द्र महासेठ, नायव सुब्बा रघुनाथ सुवेदी, लेखापाल विष्णु पौडेल, खरिदार राजकुमार कटुवाल, आकाशवाणी अपरेटर खगेश्वर ढकाल, मेकानिकल रामकरण महतोविरुद्ध मुद्दा दायर गरेको हो ।
सडक बोर्ड नेपालले दिएको अख्तियारीमा सडक डिभिजन कार्यालय भरतपुरबाट सञ्चालित मुग्लिन–नौबीसे सडक खण्डअन्तर्गत धादिङ जिल्लाको मझिमटार र धार्केमा संकलन गरिएको सडक दस्तुर (राजस्व) बैंकमा दाखिला नगरी हिनामिना गरेकामा महासेठसहितका छ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरूलाई भ्रष्टाचार ऐनअनुसार राजस्व हिनामिना गरेको सवा २४ हजार रुपैया“ बिगो, बिगोबराबरको थप जरिवानालगायतका सजाय गर्न अख्तियारले मुद्दामा मागदाबी गरेको छ ।


No comments:

Post a Comment