Wednesday, September 18, 2013

जलस्रोतको धनी मुलुक बिजुली बाल्न भारतमा निर्भर

भारतबाट यस वर्ष थप ७४ मेगावाट बिजुली आयात गरिने
काठमाडौं, १ असोज– अथाह जलस्रोतको धनी मुलुक नेपालले बिजुली उत्पादन गरी भारतमा बेचेर धनी हुने सपना देखेको धेरै भइसकेको छ । तर, मुलुकभित्र वर्षौंदेखि जलविद्युत्मा लगानीको वातावरण बन्न नसक्दा नेपाल बिजुलीमा समेत भारतमा परनिर्भर हु“दै गएको छ । बिजुली बेचेर धनी हुने सपना था“ती राखेर नेपालले भारतबाट वर्षेनि बिजुली आयात बढाउ“दै लानुपर्ने बाध्यता सिर्जना भएको छ । बढी माग हुने समय हिउ“दयाममा त नेपालले यस वर्ष आफ्नो मुलुकमा उत्पादन हुने बिजुलीको हाराहारीमै भारतबाट आयात गर्नुपर्ने भएको छ ।
विद्युत् प्राधिकरणले आगामी हिउ“दमा अघिल्लो वर्षभन्दा लोडसेडिङको समस्या बढ्न नदिन भारतबाट थप ७४ मेगावाट बिजुली आयात गर्ने गृहकार्य सुरु गरेको छ । अघिल्लो वर्ष हिउ“दमा प्राधिकरणले भारतबाट बढीमा १ सय ८० मेगावाटसम्म विद्युत् आयात गरेकामा आगामी हिउ“दमा लोडसेडिङ दैनिक बढीमा १२ घन्टाबाट बढ्न नदिन २ सय ५४ मेगावाटसम्म बिजुली आयात गर्न लागेको हो ।
आगामी हिउ“दमा थप बिजुली आयात गर्न भारतबाट विद्युत् ल्याउने प्रमुख मार्ग (कटैया–कुसाहा प्रसारण लाइन) को स्तरोन्नति गर्ने कार्य धमाधम अघि बढाइएको जानकारी प्राधिकरणका अधिकारीले दिएका छन् । अघिल्लो वर्ष हिउ“दमा लोडसेडिङ दैनिक १२ घन्टासम्म पुगेको थियो ।
यसपटक भारतबाट थप बिजुली आयात गरी लोडसेडिङ १२ घन्टाबाट बढ्न नदिने तयारीमा कार्य भइरहेको जानकारी प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले दिए । मुलुकमा प्रत्येक वर्ष बिजुलीको माग ८० मेगावाटको हाराहारीमा बढ्दै जाने भएकाले लोडसेडिङ बढ्न नदिन भारतबाट थप ७४ मेगावाट बिजुली आयात गर्नुपरेको हो ।
प्राधिकरणका एक अधिकारीका अनुसार कटैया–कुसाहा प्रसारण लाइनबाट थप बढीमा ७० र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट थप १० मेगावाट आयात गर्ने तयारी भइरहेको छ । कटैया–कुसाहाबाट ८० मेगावाटमात्र आयात गर्दै आएकामा यस वर्ष प्रसारण लाइनको स्तरोन्नति गरी १ सय ५० मेगावाटसम्म बिजुली ल्याउने योजना प्राधिकरणको छ । बा“की बिजुली अघिल्लो वर्ष झैं नेपाल–भारतबीच विभिन्न नाकाका ३३ केभी प्रसारण लाइनबाट आयात गरिनेछ ।
प्राधिकरणले विराटनगरको कटैया–कुसाहा प्रसारण लाइनमा गुणस्तरीय कन्डक्टर फेरेर अपग्रेड गरी विद्युत् आयातको क्षमता दोब्बर पार्ने कार्य सुरु गरिसकेको छ । प्राधिकरणले उक्त प्रसारण लाइनको नेपालतर्फ पर्ने १२ किमी र भारततर्फ पर्ने ३ किमी खण्डमा आगामी दुई सातामा गुणस्तरीय कन्डक्टर फेरिसक्ने लक्ष्यसहित काम थालेको छ । भारततर्फको प्रसारण लाइन नेपालमा बिजुली ल्याउनका लागिमात्र प्रयोग हुन भएकाले त्यहा“ फेरिने गुणस्तरीय कन्डक्टरको खर्चसमेत प्राधिकरणले नै बेहोर्नेछ ।
‘कटैया–कुसाहाको प्रसारण लाइनलाई अपग्रेड गर्ने (गुणस्तरीय कन्डक्टर फेर्ने) काम सुरु भएको दुई दिन भइसकेको छ । कुनै समस्या नआए कटैया–कुसाहाको नेपालतर्फको १२÷१३ दिनमा र भारततर्फको प्रसारण लाइन अपग्रेड गर्ने कार्य ३÷४ दिनमा सकिन्छ’ क्षेत्रीले भने– ‘स्तरोन्नति गरेपछि कटैया–कुसाहा प्रसारण लाइनको विद्युत् आयात क्षमता दोब्बर हुनेछ ।’
क्षेत्रीका अनुसार प्रसारण लाइन अपग्रेड गरेपछि ८० मेगावाटमात्र बिजुली ल्याउन सकिने कटैया–कुसाहा प्रसारण लाइनबाट दोब्बर अर्थात् १ सय ६० मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ ।
प्राधिकरणले टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट समेत थप १० मेगावाट बिजुली आयात गर्ने प्रक्रिया अघि बढाएको छ । भारतीय ऊर्जा दलाल कम्पनी (पीटीसी) ले प्राधिकरणलाई भारतीय राज्य छत्तीसगढको पावरहाउसबाट उत्पादित ३० मेगावाट बिजुली टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट दिने प्रस्ताव गरेको छ । पीटीसीले उक्त प्रसारण लाइनबाट सस्तो मूल्य अर्थात् प्रतियुनिट ६ रुपैया“ (भारु ३.७५) मा विद्युत् दिने प्रस्ताव गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको हालै बसेको बैठकले टनकपुरबाट पीटीसीमार्फत् ३० मेगावाट बिजुली खरिद गर्ने निर्णय गरी व्यवस्थापनलाई प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिइसकेको जानकारी स्रोतले दिए ।
टनकपुर–महेन्द्रनगर प्रसारण लाइनमार्फत् भारतबाट टनकपुर विद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क बिजुली (७ करोड युनिट) बाहेक अघिल्लो वर्ष प्राधिकरणले २० मेगावाट विद्युत् आयात गरेको थियो । यस वर्ष उक्त प्रसारण लाइनमार्फत् प्राधिकरणले भारतबाट थप १० अर्थात् ३० मेगावाट बिजुली आयात गर्ने भएको छ ।
‘भारतबाट अघिल्लो वर्ष हामीले बढीमा १ सय ८० मेगावाटसम्म बिजुली आयात गरेका थियौं । कटैया–कुसाहा प्रसारण लाइनको स्तरोन्नति र टनकपुर–महेन्द्रनगरबाट थप १० मेगावाट गरी यस वर्षको हिउ“दमा भारतबाट २ सय ५४ मेगावाटसम्म बिजुली आयात गर्ने योजना प्राधिकरणको छ’ क्षेत्रीले भने ।
उनले भारतबाट २ सय ५४ मेगावाट बिजुली आयात गर्ने, कुलेखानी जलाशय भरिने र अघिल्लो वर्ष झैं हेटौंडा र विराटनगरका मल्टिफ्युल चलाउने योजनासहित प्राधिकरणले यस वर्ष हिउ“दमा दैनिक १२ घन्टाभन्दा बढी लोडसेडिङ नहुने प्रक्षेपण गरेको जानकारी दिए । क्षेत्रीले कुलेखानीको जलाशय भरिएन, भारतबाट भनेजति बिजुली ल्याउन सकिएन, र मल्टिफुयुल प्लान्ट पनि सञ्चालन गरिएन भने हिउ“दामा लोडसेडिङ बढ्ने, तर कति घन्टा पुग्ने भन्ने प्रक्षेपण गरिनसकिएको जानकारी दिए ।
प्राधिकरणले कटैया–कुसाहा र टनकपुर–महेन्द्रनगरबाहेक रामनगर, वीरगन्ज, इनरुवा, राजविराज, सिराहा, जलेश्वर, भैरहवा र नेपालगन्ज नाकाबाट ३३ केभीको प्रसारण लाइनबाट समेत थोरै परिमाणमा भए पनि बिजुली आयात गर्दै आएको छ ।

No comments:

Post a Comment