Friday, September 27, 2013

परराष्ट्र सचिव थापालाई सार्क महासचिवमा सिफारिस

फागुन १८ मा थापा पदमा बहाल हुने
काठमाडौं, १० असोज– सरकारले परराष्ट्रमन्त्रालयका सचिव अर्जुनबहादुर थापालाई दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) को महासचिव नियुक्त गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले थापालाई सार्कको महासचिवमा सिफारिस गरिएको जानकारी सरकारका प्रवक्ता माधव पौडेलले जानकारी दिए ।
सार्क सचिवालयको नेतृत्व गर्ने महत्वपूर्ण पद महासचिव आठ सदस्य राष्ट्रबाट पालैपालो हुने व्यवस्था छ । सार्कको वर्तमान अध्यक्ष राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले अनुमोदन गरेपछि थापा महासचिव हुनेछन् । उक्त व्यवस्थाअनुसार नेपालबाट प्रस्तावित थापा आगामी फागुन १८ देखि सार्क महासचिव हुनेछन् । हालका महासचिव अहमद सलिमको आगामी फेब्रुअरी २८ मा पदावधि सकिंदैछ । सलिम माल्दिभ्सका हुन् ।
गत असारमा परराष्ट्र सचिवमा बढुवा भएका थापाले ५८ वर्ष उमेर पूरा गरी आगामी कात्तिक ५ मा अनिवार्य अवकास पाउ“दै थिए । अवकास पाउनु तीन साताअघि थापा महासचिवका लागि सिफारिस भएका हुन् । महासचिवमा सिफारिस भए पनि उनले बा“की झन्डै एक महिना अवधिसम्म परराष्ट्र सचिवमै बहाल रहनेछन् ।
थापा सार्कमा नेपालबाट महासचिव हुने दोस्रो व्यक्ति हुनेछन् । यसअघि नेपालको पालोमा यादवकान्त सिलवाल महासचिव थिए । 
थापाले अवकास पाएपछि परराष्ट्र मन्त्रालयमा लामो समयसम्म परराष्ट्रका अधिकारी सचिव हुने सम्भावना नरहेको जानकारी सरकारी अधिकारीले दिए । ती अधिकारीका अनुसार निजामती ऐनअनुसार आगामी पुस र असारमा सचिव बढुवाका लागि परराष्ट्र समूहका सहसचिवहरू अरू समूहका भन्दा कनिष्ठ भएकाले सिफारिसमा पर्ने सम्भावना नै छैन ।
तसर्थ अब परराष्ट्र मन्त्रालयमा अरू समूहबाट बढुवा हुने व्यक्तिलाई सचिव बनाउने या परराष्ट्रकै सहसचिवलाई कामु सचिव बनाउनुबाहेक अरू विकल्प नरहेको जानकारी ती सरकारी अधिकारीले दिए । थापापछि परराष्ट्र सेवामा स्वीटजरल्यान्डका लागि नेपाली राजदूत शंकर बैरागी सबभन्दा वरिष्ठ सहसचिव हुन् ।

No comments:

Post a Comment