Tuesday, September 10, 2013

राष्ट्रपतिद्वारा अध्यक्ष रेग्मी र अर्थमन्त्रीसमक्ष आपत्ति प्रकट

रेग्मी र कोइरालाद्वारा थापाको फर्ममा छापा मार्दा गल्ती भएको स्वीकार
काठमाडौं, २४ भदौ– राष्ट्रपति रामवरण यादवले संविधानसभा चुनावको मुखमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितको फर्ममा नियोजित ढंगले छापा मारिएकामा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र अर्थमन्त्री शंकर कोइरालासित आपत्ति प्रकट गरेका छन् ।
यादवले आइतबार रेग्मी र कोइरालालाई आफ्नो कार्यालयमा छुट्टाछुट्टै बोलाई चुनाव भा“ड्ने खोज्ने तत्वको षड्यन्त्रमा नियोजित ढंगमा थापासहितको फर्ममा छापा मारिएको हुन सक्ने उल्लेख गर्दै सरकारी निकायबाट त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत गराएको जानकारी स्रोतले दिएका छन् ।
थापाले विवादास्पद छविका लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्तिविरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । कार्कीकै निर्देशनमा राजस्व अनुसन्धान विभागले थापाको फर्ममा छापा मारेको सरकारी अधिकारी नै बताउ“छन् । सर्वोच्च अदालतले नै थापाको फर्मले नियमित कर तिर्दै आएको जनाएको छ । उनकै फर्ममाथि कर छलेको आशंकामा छापा मारिनुलाई धेरैले षड्यन्त्रको संज्ञा दिएका छन् ।
‘चुनावको मुखमा वरिष्ठ अधिवक्ता थापालगायतको फर्ममा राजस्व अनुसन्धान विभागको नाममा जुन कारबाही भयो, त्यसबाट ठीक सन्देश गएको छैन । चुनावको मुखमा बार एसोसिएसनजस्ता संगठित संस्थामाथि नियोजित ढंगले कारबाही गर्दा निर्वाचत बिथोलिन सक्छ । यो कारबाही चुनाव बिथोल्न खोज्ने तत्वको षड्यन्त्र हुन सक्छ । तसर्थ चुनाव सम्पन्न नभएसम्म यस्ता गतिविधि नगर्नुहोला’ राष्ट्रपतिले अध्यक्ष र अर्थमन्त्रीलाई भनेको भनाइ भनाइ उद्धृत गर्दै स्रोतले भने ।
प्रत्युत्तरमा अध्यक्ष रेग्मी र अर्थमन्त्री कोइरालाले वरिष्ठ अधिवक्ता थापाको ल फर्ममा छापा मारी उनको व्यावसाय नै अवरुद्ध हुने गरी विभागले उनका कम्प्युटरलगायतका सबै सामग्री र कागजात लैजानु गल्ती भएको स्वीकारेको जानकारी राष्ट्रपति निकट स्रोतले दिएका छन् ।
रेग्मीले राजस्व अनुसन्धान विभाग कानुनअनुसार काम गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उसले विभिन्न व्यक्तिका व्यावसायिक फर्ममा आफैं छापा मारेको र त्यसमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएका थिए ।
स्रोतका अनुसार राष्ट्रपति यादवले सरकार प्रमुख (मन्त्रिपरिषदका अध्यक्ष) को पूर्व स्वीकृतिबिना सरकारी कार्यालयबाट यस्ता कारबाही हुन नसक्ने उल्लेख गर्दै रेग्मीलाई ‘विभागले गरेको कारबाही तपाईंलाई थाहा हुन्न भने के सरकार र मातहतका निकाय तपाईंको नियन्त्रणमा छैनन् र ?’ भन्ने प्रश्नसमेत गरेका थिए ।
अर्थमन्त्री कोइरालाले पनि विभागले करको दायरा बढाउन व्यावसायिक फर्महरूमा छापा मार्न थालेको उल्लेख गर्दै यो कुनै व्यक्ति विशेषविरुद्ध लक्ष्यित नरहेको स्पष्टीकरण दिएका थिए ।

No comments:

Post a Comment