Monday, September 23, 2013

इजाजतप्राप्त सबै हतियार प्रहरीलाई बुझाउन उर्दी जारी

काठमाडौं, ६ असोज– सरकारले आगामी संविधानसभा चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरका इजाजत प्राप्त सम्पूर्ण हतियार अनिवार्य रूपमा प्रहरीलाई बुझाउन उर्दी जारी गरेको छ ।
चुनावी सुरक्षा कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको तालुकावाला मन्त्रालय गृहले राजपत्रमा सूचना प्रकाशित गरी देशभर विभिन्न व्यक्तिस“ग रहेका इजाजतपत्र प्राप्त सम्पूर्ण हतियार र त्यसमा प्रयोग हुने गोलीगठ्ठा आफ्नो नजिकको प्रहरी चौकीमा अनिवार्य रूपमा बुझाउन उर्दी जारी गरेको हो ।
राजपत्रमा यो सूचना जारी भएपछि देशभर निश्चित अवधिका लागि इजाजत प्राप्त हतियार राख्नसमेत प्रतिबन्ध लागेको छ । संविधानसभा चुनाव सम्पन्न भई सरकारले राजपत्रमा अर्को सूचना जारी गरेपछि ती हतियार सम्बन्धित इजाजत प्राप्त व्यक्तिलाई फर्काइने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।
ती अधिकारीले चुनावमा इजाजत प्राप्त हतियारहरूको दुरुपयोग हुन नपाओस् र आममतदाताले भयरहित वातावरणमा मतदान गर्न पाऊन् भनेर हतियार अनिवार्य रूपमा प्रहरीलाई बुझाउन सूचना जारी गरिएको बताए । ती अधिकारीका अनुसार हतियार बुझाउन डेढ साताको समय दिइएको छ ।
प्रहरी चौकीलाई अनिवार्य रूपमा बुझाउनुपर्ने सूचनालाई कुनै व्यक्तिले बेवास्ता गरेमा सरकारले त्यस्ता व्यक्तिको इजाजतपत्र प्राप्त हतियार सबै जफत गर्ने जानकारी गृहका अधिकारीले दिए । हातहतियार तथा खरखजाना ऐनको दफा ८ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी इजाजत प्राप्त हतियार निश्चित समयका लागि राख्न प्रतिबन्ध लगाउन या प्रहरी चौकीमा बुझाउन लग्न सक्ने व्यवस्था छ ।
इजाजत प्राप्त हतियार सरकारको नियन्त्रणमा आएपछि मधेसमा कार्यरत विभिन्न सशस्त्र समूहका र द्वन्द्व छाडेर माओवादी राजनीतिक मूलधारमा आएपछि लुकाइएका हातहतियार चुनाव भा“ड्ने प्रयोजन या कुनै दल विशेषको पक्षमा दुरुपयोग हुन सक्ने सम्भावित खतरालाई रोक्न सजिलो हुने जानकारीसमेत गृहका अधिकारीले दिए ।
गृह मन्त्रालयका अनुसार मुलुकभर इजाजत लिई ३४ हजार व्यक्तिले हातहतियार राखेका छन् । काठमाडौं जिल्लामा मात्र इजाजत प्राप्त हतियार ११ हजारको संख्यामा छन् । प्रहरी चौकीमा बुझाइने ती हतियार चुनाव सम्पन्न भएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जानकारीसमेत गृहका अधिकारीले दिए ।







–  



No comments:

Post a Comment