Saturday, September 14, 2013

टनकपुर र शारदाबाट पानी दिन प्रक्रिया सुरु गर्ने समझदारी

नेपाल–भारत जलस्रोत बैठक सम्पन्न
धेरैजसो बु“दामा सकारात्मक छलफल : नेपाली अधिकारी
काठमाडौं, २८ भदौ– महाकाली सन्धिअनुसार टनकपुर र शारदा ब्यारेजबाट नेपाललाई सिंचाइका लागि पानी दिन प्रक्रिया अघि बढाउने र महाकालीको बाढीको खतराबाट दुवै देशलाई सुरक्षित गर्न आपसमा सूचना आदानप्रदान गर्नेलगायतका बु“दामा समझदारी गरी गरी संयुक्त प्राविधिक जलस्रोत समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।
नेपाल–भारतबीचको सहसचिवस्तरीय जलस्रोत बैठकमा दुई पक्षबीच महाकाली सन्धिका महत्वपूर्ण बु“दा कार्यान्वयन सुरु गर्ने, नदी नियन्त्रण, डुबान समस्या, कोसी उच्च बा“ध, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका सवालमा सकारात्मक छलफल भएको र नया“ दिल्लीमा छिट्टै हुने अर्को बैठकमा थप समझदारी हुने जानकारी बैठकमा सहभागी एक नेपाली अधिकारीले दिए । अर्को नियमित बैठक फेब्रुअरीमा हुने भए पनि त्यसअघि नै गरी समझदारीलाई कार्यान्वयन ल्याउन दुवै पक्ष सकारात्मक रहेकोसमेत स्रोतले उल्लेख गरेको छ ।
बैठक सिंचाइ विभागका महानिर्देशक शिवकुमार शर्मा र भारतको ‘सेन्ट्रल वाटर कमिसन’ का अध्यक्ष एवं भारतीय सरकारका सहसचिव विभास कुमारको नेतृत्वमा भएको थियो । बैठकमा सहभागी एक नेपाली अधिकारीका अनुसार महाकाली सन्धिअनुसार टनकपुर र शारदा ब्यारेजबाट कञ्चनपुर जिल्लामा सिंचाइका लागि पानी उपलब्ध गराउन भारत सकारात्मक भएको छ ।
बैठकमा नेपालले महाकाली सन्धिअनुसार भारतसमक्ष टनकपुर ब्यारेजबाट कञ्चनपुर जिल्लामा सिंचाइका लागि २८.३५ क्युमेक तथा शारदा ब्यारेजबाट महाकाली पारीका दुई गाविस चा“दनी र दोधाराका लागि १० क्युमेक पानी दिन डिजाइनसहित प्रस्ताव गरेको थियो ।
यसपटकको बैठकमा नेपालले टनकपुर ब्यारेजबाट समुदी सतहबाट २४१.५ मिटर लेभलबाट पानी दिनुपर्ने पुरानो अडान पुनरावलोकन गरी २४४.२५ मिटरको लेभलबाट पानी दिन डिजाइनसहित नया“ प्रस्ताव गरेको थियो । भारतीय पक्षले उक्त लेभलबाट नेपाललाई पानी दिन आफ्नो भूमिमा निर्माण गर्नुपर्ने हेड रेगुलेटर र नहर निर्माणका लागि छिट्टै डिजाइन तयार पार्ने र अर्को बैठकमा त्यसबारेमा समझदारी गर्ने आश्वासन दिएको स्रोतले उल्लेख गरेको छ । टनकपुरबाट प्राप्त हुने २८.३५ क्युमेक पानीबाट कञ्चनपुरको ३१ हजार भूभागमा सिंचाइ गर्ने योजना नेपालको छ ।
महाकाली सन्धिअनुसार शारदा ब्यारेजबाट चा“दनी र दोधारामा सिंचाइका लागि शारदा नहरबाट १० क्युमेक पानी उपलब्ध गराउनसमेत डिजाइनसहितको प्रस्ताव गरेको छ । यसमा समेत भारतीय पक्षले शारदा ब्यारेजबाट आफ्नो भूमिमा हेड रेगुलेटर र नहर बनाई पानी दिनका लागि डिजाइन तयार गरी अर्को बैठकमा प्रस्ताव गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । १० क्युमेक पानीले चा“दनी र दोधारा दुवै गाविसमा सिंचाइ गर्न पुग्छ ।
यसपटक दुई देशबीच टनकपुरको पानी लिने÷दिने लेभलमा सहमति हुनु र पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना निर्माण भएपछिमात्र शारदा ब्यारेजबाट पानी दिने अडान लिइरहेको भारतले उक्त ब्यारेजबाट पानी दिन डिजाइन तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नु उपलब्धिमूलक भएको बैठकमा सहभागी सिंचाइका एक अधिकारीले बताए ।
बैठकमा महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना निर्माणका लागि अध्ययन कार्य अघि बढाउन महाकाली नदीमा दुइटा झोलुंगे पुल बनाउने प्रक्रिया अघि बढाउने समझदारी भएको छ । समझदारीअनुसार नेपालले रुपालीगाढ र पञ्चेश्वरमा पुल बनाउने ठाउ“ र स्पेसिफिकेसन प्रस्ताव गर्ने र त्यसको अध्ययन गरी भारतले निर्माण कार्य अघि बढाउनेछ ।
भारतबाट नेपालतर्फ भारतीय अधिकारी आएर अध्ययन कार्य अघि बढाउन दुइटा पुल बनाउनु अनिवार्य छ । नेपाल र भारतबीचको सहमतिमा पञ्चेश्वर प्राधिकरणको कार्यालय कञ्चनपुरमा राख्न स्थापना गर्नेसम्बन्धी कार्यादेश तयार भइसकेको छ । त्यसलाई नेपालले अनुमोदन गरिसके पनि भारत सरकारले अनुमोदन गर्न बा“की छ । नेपाली पक्षले नेपाल–भारत जलस्रोत सचिवस्तरीय बैठकअघि त्यसलाई अनुमोदन गराउन भारतीय पक्षलाई आग्रह गरेको र सकारात्मक आश्वासन पाएको जानकारीसमेत स्रोतले दिए ।
बैठकमा भारतीय पक्षले कोसी उच्च बा“ध निर्माणका लागि संयुक्त रूपमा भइरहेको अध्ययन कार्यमा स्थानीयबासीबाट भइरहेको अवरोध भइरहेको र त्यहा“ काम गर्न प्राविधिकहरूलाई सुरक्षा खतरा रहेको र पर्साबाट आफ्नो देशतर्फ बग्ने सिर्सिया नदीको प्रदूषणबाट आफ्नो भूभागमा समस्यातर्फ नेपालको ध्यानाकर्षण गराएको थियो ।
नेपालले गृह मन्त्रालयलाई अनुरोध गरी प्राविधिकहरूलाई सुरक्षा प्रदान गरेर कोसी उच्च बा“ध निर्माणका लागि अध्ययन कार्य निर्वाध रूपमा अघि बढाउन सक्ने वातावरण बनाउने र सिर्सियालाई प्रदूषणमुक्त बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता भारतीय पक्षसित व्यक्त गरेको छ ।
नेपालले गण्डक सम्झौताबमोजिम नहर मर्मत गरी शर्तअनुसारको परिमाणमा नेपाललाई सिंचाइका लागि पानी उपलब्ध गराउन भारतीय पक्षलाई आग्रह गरेको थियो । गण्डक सम्झौताअनुसार नवलपरासीतर्फ पानी लैजान समस्या नभए पनि पूर्वतर्फ बारा र पर्साको सिंचाइका लागि नहर मर्मतको अभावले नेपालले आवश्यकताअनुसार पानी पाउन सकेको छैन । नेपालले भारतसमक्ष नहर मर्मत गरी गण्डक सम्झौताअनुसार बारा र पर्साका लागि ८ सय ५० क्युसेक पानी छाड्न आग्रह गरेको र त्यसमा भारतीय पक्षले सकारात्मक आश्वासन दिएको स्रोतले उल्लेख गरेको छ ।
बैठकमा नेपाल–भारतबीच निर्माणाधीन ४ सय केभीको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माणलाई तीव्रता दिई निर्धारित मितिमा सम्पन्न गर्ने र रूपन्देही–गोरखपुरबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि अध्ययन अघि बढाउनेबारेमा समेत छलफल भएको छ ।
बैठकमा राप्ती नदीमा पा“च किमी लामो तटबन्ध र नौमुरे जलाशययुक्त आयोजना निर्माण, महलीसागरलगायतका भारतीय बा“ध र तटबन्धका कारण नेपाली भूमिमा परेको समस्या समाधानलगायतका विषयमा समेत छलफल भएको थियो । यी एजेन्डामा पुनः नेपाल–भारतबीच सहसचिव र सचिवस्तरीय बैठकमा छलफल हुने जानकारी सहभागी एक अधिकारीले दिए ।






No comments:

Post a Comment